+
+
जनयुद्धका घाइतेको चित्कार :

हामीलाई थप घाइते नबनाऊ

'बैसाखी थमाउनु बाहेक पार्टीले मलाई के दियो र !'

अंगद सिंह अंगद सिंह
२०७८ पुष १३ गते २१:०७

१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको सरगर्मी बढिरहेको छ । कुनै बेला साम्यवादको रुमानी सपना बोकेर होमिएका नेता-कार्यकर्ता महाधिवेशनमा भाग लिन काठमाडौं कमलादीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हाजिर छन् ।

महाधिवेशन प्रतिनिधिको भीडमा जनयुद्ध लडेका र नलडेका दुवैथरी नेता-कार्यकर्ता मिसिएका छन् । माओवादी प्रतिनिधिको यो मेलामा दौडधूप गर्नेहरूको भीडमा भेटिइन्- रुकुम पश्चिमकी वृक्षा उखेरा ।

युद्धले उनको खुट्टा खोसेर लग्यो । उनी बैसाखीको सहारामा सुस्त-सुस्त यताउता गरिरहेकी हुन्छिन् । जाडो छ, न्यानोको खोजीमा घाम तापिरहेकी छिन् । घामको रापले सेलाएको तनलाई त तताउँछ, तर चिसिएको मनलाई केले तताउला ?

जनताको शासन ल्याउने सपना बोकेर युद्धमा सहभागी उखेरा महाधिवेशन प्रतिनिधि भने होइनन् । पार्टीले उनलाई प्रतिनिधि बनाउन योग्य नदेखे पनि शरीरका अंगहरू र बैंसालु उमेर समर्पित गरेको पार्टीको महाधिवेशनमा नआइरहन उनको मनले मानेन ।

शरीरलाई गति दिन बैसाखीको सहारा लिन्छिन् उखेरा तर मनलाई गति दिने केही विचार, केही ऊर्जाको खोजी गर्दै उनी महाधिवेशन स्थलसम्म आइपुगेकी हुन् ।

रुकुम पश्चिमबाट अधिवेशनमा सहभागी हुन काठमाडौं आउन सजिलो त थिएन । युद्धले घाइते बनाएको शरीरको उपचार गर्न उनी विगत दुई महीनादेखि काठमाडौंमै छिन् । यही मौकामा उनी बिथोलिएको मनको उपचार खोज्न प्रज्ञा भवन आइपुगेकी हुन् ।

घाम गतिमा छ, छायाँले छोपिहाल्छ । उनी ताप खोज्दै ठाउँ सरिरहन्छिन् । किनकि युद्धले चिथोरेको शरीरको दुःखाइ घामको तापले अलि कम हुन्छ ।

त्यसो त, मनलाई तताउने उनको जीवनको घाम कैयौं वर्षअघि नै अस्ताइसक्यो । अब त यही सूर्यका किरण मात्रै बाँकी छन्, जो खुशी लिएर आउँछन्, अनि पीडा दिएर अस्ताउँछन् ।

‘घाइतेलाई थप घाइते नबनाऊ’

चप्पल लगाएर काठमाडौं छिरेका नेता प्राडो अनि पजेरोमा भेटिन्छन्, तर जनयुद्धका घाइतेले एक थान बैसाखी पाउन पनि मुश्किल छ, कस्तो विडम्बना !

महाधिवेशनमा आउनुका पछाडि केही कारण छन् । आफू र आफू जस्तै हजारौं घाइते अपाङ्गको पक्षमा महाधिवेशनले बोलोस्, बुझोस् र सुनोस् भन्ने चाहन्छिन् उखेरा ।

‘खुशी लुटिएको त वर्षौं भइसक्यो, अब बाँच्ने आधार खोज्दैछु’ मलिन स्वरमा उखेरा भन्छिन्, ‘देश, जनता र परिवर्तनका लागि भन्दै ज्यानको ख्यालै नगरी युद्ध मैदानमा हाम फाल्यौं तर अहिले घर न घाटका भयौं ।’ यस्तो लाग्छ, माओवादीले युद्धका घाइतेलाई थप घाइते बनाइरहेछ । मल्हम होइन, पीडा थपिरहेछ ।

उखेरा एकप्रकारको अप्ठेरोमा छिन्, खुशी हुने कि दुःखी हुने भनेर । आफूहरूकै योगदानले देशमा गणतन्त्र आएको छ, विभिन्न राजनीतिक परिवर्तन भएको छ । अलिकति खुशी हुने बहाना पनि छ । तर, आफ्नै जीवन जस्तै क्रान्तिकारी पार्टी र आन्दोलन नै बैसाखीमा उभिएको छ ।

‘परिवर्तनका लागि लड्ने योद्धा जहाँ थिए, त्यहीं छन् । उनीहरूको हालत झन् खराब भएको छ, तर नेताहरू बंगला अनि चिल्ला गाडीमा छन्’, उनले गुनासाका पोका फुकाइन् ।

राहतको आशा, हात लाग्यो निराशा

२०६२ सालमा युद्धका क्रममा ढाड र खुट्टामा गोली लागेकी उनले १५ वर्ष बित्दा पनि राहत पाएकी छैनन् । बन्दूक बोकाउने नेताहरू सत्तामा उक्लिए तर वृक्षाले राहतका लागि जति संघर्ष गरे पनि कुनै नतिजा हात पार्न सकिनन् ।

‘हामीलाई हिंड्न खुट्टा समेत छैन, नेताहरू घर, बंगला, गाडीका साथै करोडौंका मालिक भए, घाइतेले राहतसम्म पाएका छैनन्’, उनले मन अमिलो पार्दै भनिन् । चप्पल लगाएर काठमाडौं छिरेका नेता प्राडो पजेरोमा भेटिन्छन्, तर जनयुद्धका घाइतेले एक थान बैसाखी पाउन पनि मुश्किल छ, कस्तो विडम्बना !

उनी भन्छिन्, ‘समाज, आफन्त घरपरिवारका लागि घृणाका पात्र त भयौं, भयौं पार्टीले समेत घृणाका पात्र नबनाओस् । हाम्रो सहनशीलताको परीक्षा नलेओस्, धैर्यको बाँध नफुटोस् !’

युद्धको बेला समाज रूपान्तरणको अभियानमा वृक्षाले केसम्म गरिनन् । एक सातासम्म्ा खाना नपाउँदा जंगलका हरिया पात निमोठेर चपाइन्, तिर्खा मेट्न आफ्नै पिसाब समेत पिइन् ।

‘खाना नपाउँदा हरिया पात खाएर युद्ध गरें, पानी नपाउँदा आफ्नै पिसाब पिएर लडें, महीनावारी हुँदा प्याड नपाएर स्याउलाका पातले काम चलाएँ, सुनाऊँ भने पीडाका पहाड, दुःखका भारी छन्’, उनले पीडादायी यादहरूको एउटा पाप्रो उप्काइन् ।

पार्टीका लागि घर-परिवार, जीउ-ज्यान भनिनन् उनले । यो नेताहरूले दस्तावेजमा थोपर्ने दाबी र भाषणमा गर्ने जिकिर जस्तो होइन । प्रमाणस्वरुप उनको घाइते शरीर नै हाजिर छ । गोलीले प्वाल पारेको ढाड रहे पनि गोलीले उडाएको दायाँ खुट्टा भने छैन ।

बाध्यात्मक विद्रोह

२०४० सालमा पश्चिम रुकुम साबिकको बाफिकोट गाउँपालिका-२ मा जन्मिएकी हुन्, वृक्षा । तत्कालीन माओवादीले सशस्त्र युद्ध शुरु गर्दा उनी १० कक्षामा पढिरहेकी थिइन् । उनको तातो रगतले परिवर्तन र बदलाव खोजिरहेको थियो ।

माओवादीले युद्धको घोषणा गरेपछि रुकुम पश्चिमले निकै दुःख पायो । किनकि रुकुम माओवादीको आधार क्षेत्र र जन्मथलो दुवै थियो ।

युद्धको घोषणा भएपछि रुकुमवासीका दुःखका दिन शुरू भए । एकातिर रुकुम माओवादीको गढ भएकाले सरकारी पक्षले दुःख दिन थाल्यो भने अर्कातिर माओवादीले परिवर्तनका लागि लड्नुपर्छ भन्दै आन्दोलनमा लैजाने र नगए तर्साउने गर्न थाले ।

छिङ माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्दै गर्दा एक दिन सरकारी पक्षले तीन जना शिक्षकलाई माओवादी करार गर्दै गोली ठोक्यो । सरकारी पक्षले शिक्षकलाई मात्रै मारेन, विद्यार्थीलाई समेत निशाना बनायो ।

ढाड र खुट्टामा गोली लागेर घाइते भएको रुकुम पश्चिमकी वृक्षा उखेरा ।

सरकारी पक्षको आतंक र अत्याचार सहन नसकेपछि उनले युद्धको बाटो रोजिन् । मनमा उनलाई समाज, राष्ट्र र विधि पद्धति बदल्दै दिगो शान्ति र अमनचयनका लागि माओवादीको शासन आउनुपर्छ भन्ने लागिरहेको थियो ।

‘सशस्त्र विद्रोहको बेला सरकारले रुकुमको ढुङ्गा माटोलाई समेत विद्रोही करार गर्‍यो, जसका कारण त्यहाँ कसैलाई पनि सुख्ाले बस्ने वातावरण भएन’ उनी भन्छिन्, ‘बच्ने उपाय केही नभएपछि मैले प्रतिक्रान्तिका लागि माओवादी रोजें ।’

राज्य पक्षले निकै दुःख दिन थालेपछि वृक्षाको परिवारको बसाइ घरमा कम र जंगलमा बढी हुन थाल्यो । सरकारले दिएको दुःखले उनलाई विद्रोह गर्न झन् उक्साइरहृयो ।

सरकारी पक्षले वृक्षाको पूरै घरपरिवारलाई माओवादी करार गर्दै घरमा आगो लगाइदियो र उनीहरूलाई जङ्गल पस्न बाध्य बनाइदियो ।

‘जानी जानी प्राणको बाजी लगाउन त कसलाई रहर हुन्छ र’ उनले बैसाखी मुसार्दै भनिन्, ‘यसै मर्नु त्यसै मर्नु भएपछि विद्रोहलाई माया गरी प्राणको मोह त्यागेकी हुँ ।’

२०५५ सालमा नेकपा माओवादीको भ्रातृ संंगठन अखिल क्रान्तिकारीमा आवद्ध भएकी उखेरा २०५७ मा जनमुक्ति सेनाको सैन्य मोर्चामा सहभागी भइन् । त्यही वर्ष उनी २८ नं. प्लाटुनको सहायक कमाण्डर बनिन् ।

रुकुमको जर्जर अवस्थाले वृक्षाको मनमा सरकारप्रति रोष मात्रै पलाएन उसले दिएको दुःख र व्यवहारले विद्रोह गर्नेसम्म ल्याइपुर्‍यायो । दमनको प्रतिरोध गर्ने लडाकू अवतारमा उनी क्रियाशील रहिन् ।

युद्धका क्रममा उनले लामो समय भूमिगत जीवन बिताइन् र जीवन-मरणको युद्धमा सहभागी भइन् । २०५८ सालमा उनले दाङको घोराही, जुम्ला, अर्घाखाँची, म्याग्दी लगायत जिल्लाका विभिन्न लडाईंका मोर्चामा सहभागी बनिन् ।

पार्टीको लापरबाही

‘जेलमा हुँदा आँखा बाँधेर कति कुटे कुटे, बेहोश नहुँदासम्म छाड्दैनथे’ उनी भन्छन्, ‘आँखामा पट्टी, बाँसका लट्ठी र घाइते शरीर नै उपहार भयो मेरो जिन्दगीमा !’

२०६२ सालमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीतिक प्रत्याक्रमणको योजना अन्तर्गत वृक्षाले नेतृत्व गरेको ‘एसल्ट’ टोली तानसेन पाल्पा आक्रमणका लागि छुट्यो । तानसेनमा नेपाली सेनामाथि आक्रमणको क्रममा सेनाले ब्याक फायर गर्‍यो । उखेराको ढाड र दायाँ खुट्टामा गोली लाग्यो । गोली लागेपछि उनलाई साथीहरूले सुरक्षित स्थानमा लगे । घाइते उखेरालाई पार्टीले आर्थिक सहयोग संकलन गरेर उपचारका लागि भारत पठायो ।

भारतको लखनऊस्थित सामरा अस्पतालमा पाँच वर्ष उपचार गरेपछि उनी नेपाल फर्किइन् । उनी फर्किंदासम्म सरकार र माओवादी बीच शान्ति सम्झौता भइसकेको थियो ।

त्यतिबेला बेपत्ता तथा घाइतेहरूको पहिचान गरी राहत उपलब्ध गराउनका लागि तथ्यांक संकलन भएको रहेछ । तर उनी भारतमा भएकाले उनको नाम छुट्यो । साथीभाइको लापरबाही र पार्टीले ध्यान नदिएका कारण राहतका लागि नाम प्रमाणीकरण नभएको उनको गुनासो छ ।

युद्धमा घाइते भएपछि उनको शरीरले काम गर्न छाड्यो । राहत पाइने आशमा उनले चिनेजानेका सबै नेतालाई भेटिन् तर नतिजा आएन । राहतका लागि उनले हालका उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई भेटेर हारगुहार गरिन् । पुनले भने, ‘प्रमाण भएपछि प्रमाणीकरण चाहिंदैन ।’ उपराष्ट्रपतिको बोली पनि केवल आश्वासनमा सीमित भयो ।

‘शोषित पीडित जनताका लागि जीवनको बलि चढाउन तयार भएँ, युद्ध गरी नेतालाई यहाँसम्म ल्याइपुर्‍यायौं’ उनले भावुक हुँदै भनिन्, ‘अहिले म र मेरो बाहेक केही देख्दैनन्, दुःखीका आवाज सुन्दैनन् ।’

माओवादीले आफूलाई सर्वहारा गरीब किसानको पार्टी भने पनि नीति सिद्धान्त एकातिर, व्यवहार अर्कोतिर भइरहेको उनको गुनासो छ ।

सामान्य किसान परिवारमा जन्मेकी वृक्षाका तीन भाइ र तीन बहिनी थिए । ६ भाइबहिनी मध्ये तीन जना विद्रोहमा लागे भने तीन जनाले घरजम गरे ।

वृक्षाका जेठा र माइला दाइ पनि माओवादी जनयुद्धमै सहभागी भए । युद्धका क्रममा २०५९ मा जेठा दाइ शहीद भए भने माइला दाइ घाइते ।

माओवादीका लागि जिन्दगी कुर्बान गरे पनि अहिले पार्टीले आफूले गरेको कामको कुनै मूल्याङ्कन र कदर नगरेकोमा उनको दुःखेसो छ । द्वन्द्वपीडित तथा घाइतेहरूका लागि पार्टी तथा सरकारले स्वास्थ्य उपचार तथा गाँस-बासको व्यवस्था गरी छिटोभन्दा छिटो राहत उपलब्ध गराउनुपर्ने वृक्षाको माग छ ।

वृक्षा उखेरा अहिले दैनिक औषधि सेवन गर्छिन् । उनी वीर अस्पतालमा उपचार गराइरहेकी छिन् । पार्टीका लागि दिलोज्यान दिन तयार उनी भन्छिन्, ‘मैले त पार्टीलाई जिन्दगी नै दिएकी छु, तर पार्टीले मलाई बैसाखी थमाउनु बाहेक के दियो र !’

स्वयम्सेवामा घाइते ज्यान

उनलाई आफू घाइते भएकोमा कुनै पछुतो छैन बरु बेपत्ता भाइ अहिलेसम्म पत्ता नलाग्दा निराश भएका छन् । ‘न भाइ फर्केर आउँछ भनेर खुशी हुन पाउनुछ’ उनी भन्छन्, ‘न भाइ गुमाएको पीडामा धीत मरुन्जेल रुन पाउनुछ !’

महाधिवेशनको दौडधूपले ढाड निकै दुखाएको छ कालीकोट रास्कोट नगरपालिका-१ का रत्नकुमार दर्जीको ।

घाइते शरीर लिएर उनले कालीकोटबाट काठमाडौंसम्मको यात्रा तय गरे । घाइते शरीरलाई आराम नदिई उनी महाधिवेशनमा स्वयम्सेवकको जिम्मेवारी सम्हालिरहेका छन् ।

२०५८ सालमा रुकुमको खारामा माओवादीले असफल आक्रमण गरेको थियो । सोही युद्धमा नेपाली सेनाको गोली खाएका उनको शरीर जर्जर छ । देब्रे कोखामा गोली लागेर दायाँबाट निस्कियो ।

जातीय छुवाछूत र अत्याचारका विरुद्ध उनले विद्रोहको बाटो रोजे । दर्जीको श्रम चल्थ्यो तर उनले छोएको पानी चल्दैनथ्यो । गाउँमा माथिल्लो जातका भनाउँदाहरूले दिएको दुःख र गरेको अवहेलनाले उनलाई विद्रोहमा लामबद्ध हुन उत्प्रेरित गर्‍यो ।

जातीय भेदभावको कुप्रथाले उनको मनमा उम्लिएको विद्रोहमा घिउ थप्यो । यसबाट मुक्ति चाहन्थे दर्जी । माओवादीले पनि यस्तै कुरा गरिरहेको थियो । उनी कुनै अलमल नगरी माओवादी विद्रोहमा लामबद्ध भए ।

‘जातीय र वर्गीय उत्पीडनका लागि विद्रोह गरेर समाज परिवर्तनका लागि लड्दा आज यो हालत भयो’ घाइते रत्नकुमार भन्छन्, ‘आफूलाई हेरेर दुःख मनाऊँ भने समाज परिवर्तन भएको छ, खुशी होऊँ भने ज्यान नै सद्दे रहेन ।’

२०३८ सालमा जन्मिएका दर्जी २०५७ सालबाट माओवादीसँग जोडिए । बाउबाजेेले फलाम पिटेर गुजारा गर्ने परिवारका उनी मुक्ति र सामाजिक रूपान्तरणको लागि जनयुद्धमा सहभागी भएको बताउँछन् ।

कालीकोटका रत्नकुमार दर्जी ।

उनको परिवारका चार दाजुभाइ सबै विद्रोहमा सामेल भए । उनको परिवारमा चार-चार जना घाइते छन् । भाइ पदम, बुहारी राई शोभा र श्रीमती इच्छा बुढा दर्जी समेत घाइते छन् । परिवर्तनका लागि भन्दै सिङ्गो परिवार नै युद्धमा होमिए पनि आफ्ना कुनै पनि माग सम्बोधन नभएको उनको दुःखेसो छ ।

स्वयम्सेवकको भूमिकामा देखिएका उनी भन्छन्, ‘शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा म तन्दुरुस्त छु, त्यसैले काठमाडौं आएँ ।’

उनी युद्धका बेला नेपालका ४५ भन्दा बढी जिल्ला पुगे । जीवनमा १४ वटा लडाईं लडेका उनी रुकुम खारामा भने बच्न सकेनन् । घाइते भएपछि उनलाई पार्टीले उपचारका लागि भारतको बरेली पठायो । दुई महीनाको अस्पताल बसाइपछि नेपाल फकिर्ंदा उनलाई दाङमा नेपाली सेनाले गिरफ्तार गर्‍यो । उनी दुई वर्ष जेल परे ।

घाइते शरीरमा सेनाको यातना

दर्जीका लागि दुई वर्ष जेलको बसाइ निकै कष्टपूर्ण रहृयो । मुक्तिको सपना बोकेर स्वतन्त्र आकाशमा उडेका उनको एकातिर शरीर घाइते भयो भने अर्कोतिर उनले सेनाको कष्टडीमा निर्मम यातना भोगे । ‘सेनाले बाँसका भाटाले पिटेको डामहरू सम्भवतः अझै पनि होलान् मेरो शरीरमा’, एकप्रकारको आतंक मिश्रति आवाजमा उनी भन्छन् ।

‘जेलमा हुँदा आँखा बाँधेर कति कुटे कुटे, बेहोश नहुँदासम्म छाड्दैनथे’ उनी भन्छन्, ‘आँखामा पट्टी, बाँसका लट्ठी र घाइते शरीर नै उपहार भयो मेरो जिन्दगीमा ।’ माओवादी पटक-पटक सरकारमा पुगे पनि युद्धका घाइते र बेपत्ता परिवारको गुनासो सम्बोधन गर्न पार्टी नै गम्भीर नभएको उनको गुनासो छ ।

‘घाइते तथा बेपत्ता पारिएका प्रति पार्टी कहिल्यै गम्भीर बनेन, हाम्रा माग पूरा भएका छैनन्, पार्टीले हाम्रा विषयलाई विधानमा समेटोस्, सरकारले माग पूरा गरोस्’, उनले अनलाइनखबरसँग भने ।

घाइते अपाङ्गको आवाजलाई अवहेलना र नजरअन्दाज कुनै पनि नेतृत्वको नैतिक कदम नहुने उनको बुझाइ छ ।

बेपत्ता भाइ कुरिरहेको घाइते शरीर

फरक छैन रामेछापका भक्तराज थापाको व्यथा पनि । उनी पनि सशस्त्र द्वन्द्वका घाइते हुन् । उनलाई आफू घाइते भएकोमा कुनै पछुतो छैन बरु बेपत्ता भाइ अहिलेसम्म पत्ता नलाग्दा निराश भएका छन् । ‘न भाइ फर्केर आउँछ भनेर खुशी हुन पाउनुछ’ उनी भन्छन्, ‘न भाइ गुमाएको पीडामा धीत मरुन्जेल रुन पाउनुछ ।’

२०४० सालमा रामेछापमा जन्मिएका थापाले २०५६ देखि माओवादीको पूर्णकालीन सदस्यता लिए । माओवादीसँग जोडिएपछि थापाले सेनामा स्वास्थ्यकर्मीको भूमिकामा काम गरे ।

२०५९ सालमा ओखलढुङ्गामा सेनाको आक्रमणमा परेर बचेका उनी २०६२ सालमा सिन्धुपाल्चोकको भिडन्तमा परे । भिडन्तमा उनको दायाँ खुट्टामा गोली लाग्यो । उनीसँग आक्रमणका लागि गएका अन्य कैयौं साथीले रणभूमिमा सहादत प्राप्त गरे पनि उनी भाग्यवश बचे ।

२०६० सालमा उनका भाइलाई सेनाले बेपत्ता बनायो । बेपत्ताको मुद्दामा मौन सरकार र पार्टीप्रति उनी सन्तुष्ट छैनन् । उनको मनमा एकप्रकारको वितृष्णा बढिरहेको छ ।

‘समाज र राष्ट्र परिवर्तनका लागि जीउज्यानको वास्ता गरिएन, अहिले पार्टीले वास्तविक योद्धालाई बिर्सेर बाटो बिराउँदैछ’ घाइते थापा भन्छन्, ‘घाइते तथा बेपत्ता नागरिकलाई लिएर पार्टी गम्भीर भई घाइतेको व्यवस्थापनमा जोड दिनुपर्छ ।’

पार्टीले घाइते नागरिकका लागि गाँस, बास, कपास र स्वास्थ्योपचारको प्रत्याभूति हुने गरी काम गर्नुपर्ने र घाइते र बेपत्ता पारिएका नागरिकका विषयमा पार्टीको विधानमै उल्लेख गरी अघि बढ्नुपर्ने थापाको भनाइ छ ।

दायाँ खुट्टा खुम्चिंदैन । उनी बैसाखीको सहारामा चल्मलाउँछन् । ‘संघर्ष र दुःखका त अनेकन् कथा छन् जसलाई शब्दमा बयान गर्न सकिंदैन’ घाइते भक्तराज भन्छन्, ‘झन् पार्टीले योगदानको कदर नगर्दा चित्त दुःखेको छ ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?