+
+
विचार :

नयाँ सन्दर्भमा राष्ट्रिय मेलमिलापको सान्दर्भिकता

उग्र राष्ट्रवादको नाराले राष्ट्रियता कमजोर हुने हुँदा राष्ट्रै रहेन भने हामी पनि रहन्नौं भन्ने भावनाबाट बीपी प्रेरित भएको पाइन्छ । बीपीको उक्त कालखण्डको चिन्ता वर्तमान नेपालको सन्दर्भमा समेत मेल खाने देखिन्छ ।

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०७८ पुष १६ गते ७:३९

१६ पुस २०३३ अर्थात् आजकै दिन बीपी कोइराला नेपाल फर्किएका थिए । हाम्रो देश राष्ट्रिय संकटमा छ, संकट चर्कंदै गएको र राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको बताउँदै उनी नेपाल फर्किएका थिए । बीपीको थप कथन थियो– आज देशमा स्वार्थ परायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशप्रति आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबैभन्दा पहिला राष्ट्रियताको हत्या हुन्छ । तर, अहिले समय बदलिएको छ ।

राष्ट्रिय मेलमिलापको नारा दिएर नेपाल फर्किएका बीपीबारे बुझ्न इतिहास पल्टाएर हेर्नुपर्छ । तत्कालीन राजा महेन्द्रले मृत्युदण्ड सुनाएपश्चात् प्रवासमा रहेका बीपी लगायत बहुदलीय व्यवस्थाका पक्षधरहरूको नेपाल फिर्ती आफैंमा नेपालको इतिहासमा एउटा युगान्तकारी घटना थियो । २०६२/६३ को आन्दोलनले नेपाललाई गणतन्त्रमा प्रवेश गराएयता बीपीको मेलमिलाप नीतिको सान्दर्भिकतामा प्रश्न उठाउनेहरू पनि प्रशस्तै छन् । तर, मुलुक गणतन्त्रमा प्रवेशयता धार्मिक, भाषिक, भौगोलिक, साम्प्रदायिक आदि ‘पहिचान’का नाममा कतै मुलुक थप अनेकतातिर गएको त होइन भन्ने प्रश्नभित्र बीपीको मेलमिलापको आवश्यकता झनै खट्किएको पाइन्छ ।

सुदर्शन आचार्य

बीपी कोइरालालाई कांग्रेसका संस्थापक नेताका रूपमा मात्र नहेरी स्वतन्त्र वैचारिक नेताका रूपमा हेर्ने हो भने पनि मेलमिलापको सान्दर्भिकता उनका हरेक कालखण्डका भनाइमा भेटिन्छ । २०१७ साल पुस १ मा बहुदलीय प्रजातन्त्रमाथि राजा महेन्द्रबाट ‘कु’ पश्चात् ‘देशद्रोह’को मुद्दा खेपेका नेता बीपी २०२५ कात्तिक १४ मा जेलमुक्त हुनासाथ भारतमा निर्वासन जीवन बिताउन पुगे । ८ वर्षको निर्वासित जीवन पश्चात् मुलुकको सार्वभौम रक्षाका खातिर नेपालभित्र रहेरै संघर्ष गर्ने जोखिम बीपीले उठाए । दक्षिणएशियामा विकसित घटनाक्रमले आफूमाथिको मृत्युदण्डको सजायको फैसला समेत उनको लागि गौण बन्न पुग्यो । प्रष्टै छ– जब त्यतिबेलाको भारतीय संस्थापन पक्षले बीपी र राजाका बीच खेलेर बीपीलाई एक्ल्याउने प्रयत्न भयो, तब बीपी राष्ट्रिय स्वतन्त्रताका निम्ति आफूले खतरा मोल्नै पर्ने भए पनि ठीकै छ भन्ने निष्कर्ष सहित नेपाल फर्कन तयार भए भनेर बुझ्न कठिन छैन ।

२०३३ सालमा राष्ट्रिय मेलमिलापको ‘नीति र नारा’ लिएर बीपी नेपाल फर्किए । त्यसैको जगमा २०४६ को परिवर्तन सम्भव भएको हो । उक्त परिवर्तनको जगमा २०६२/६३ को परिवर्तन झनै सम्भव भएको हो । हिन्दू धर्म र २४० वर्षको इतिहास बोकेको राजतन्त्र हटाउने विषयमा नेपाल भित्रै झिनो फरक मत राख्नेहरू पनि पाइन्छ । सँगै, नेपालभित्रै वामपन्थीसँग मिलेर गरिएका २०४६ र २०६२/६३ को आन्दोलन नै बेठीक थियो भन्ने झिनो मत पनि छ । तर, अस्तित्वमा रहेका राजनीतिक दलले बीपीको मेलमिलाप नीतिको अनुसरण गर्दै प्राप्त उपलब्धिको रक्षाका निम्ति दलीय भावना भन्दा माथि उठ्न नसक्ने हो भने प्राप्त उपलब्धि माथि चाहिं खतरा कायमै रहने स्थिति छ ।

उग्र राष्ट्रवादको नाराले राष्ट्रियता कमजोर हुने हुँदा राष्ट्रै रहेन भने हामी पनि रहन्नौं भन्ने भावनाबाट बीपी प्रेरित भएको पाइन्छ । बीपीको उक्त कालखण्डको चिन्ता वर्तमान नेपालको सन्दर्भमा समेत मेल खाने देखिन्छ ।

उग्रराष्ट्रवादको नाराले राष्ट्रियता कमजोर हुने हुँदा राष्ट्रै रहेन भने हामी पनि रहन्नौं भन्ने भावनाबाट बीपी प्रेरित भएको पाइन्छ । बीपीको उक्त कालखण्डको चिन्ता वर्तमान नेपालका सन्दर्भमा समेत मेल खाने देखिन्छ । सोही कालखण्डमा पनि दक्षिणएशियाको भू–राजनीतिका साथै विश्व–राजनीतिको विश्लेषण र सम्भावित असरको विहंगम विश्लेषणबाटै बीपी राष्ट्रको खतराका सामु व्यक्तिगत खतरालाई गौण मानेर नेपाल फर्किएको उनैका भनाइबाट पनि पुष्टि हुन्छ ।

तिनै बीपीबारे अमेरिकी पत्रिका न्यूज विकले सन् १९७९ जून ११ मा प्रकाशित अंकमा लेखेको छ– बीपी नेपालका आकर्षक राजनीतिज्ञ मात्र नभएर ग्रामीण विकासको खाका बनाउन सक्ने नेता पनि हुन् । त्यस्तै नोबेल पुरस्कार विजेता तथा जर्मनीका तत्कालीन चान्सलर विली ब्राण्ट भन्छन्– बीपी समस्या मात्र सृजना गर्दैनन्, समाधानका सुझाव पनि प्रस्तुत गर्ने ‘यूनिक भिजन’ भएका नेता हुन् ।

सन् १९८१ मा सिड्नीमा भएको एशिया–प्रशान्त समाजवादी सम्मेलनमा बीपीले भनेका थिए– प्रजातान्त्रिक समाजवादको अभावमा तेस्रो विश्वका मुलुकहरूले सैनिक शासन वा तानाशाही साम्यवादी बाटो समाउन सक्छन् । त्यो नभए धार्मिक कट्टरवादी मुलुकमा रूपान्तरण हुनसक्छ । ‘लेफ्ट र राइट’ दुवै शक्तिमा सस्तो लोकप्रियता हावी छ । आजका मितिको चीनको उदय, अमेरिका–चीन बीचको बढ्दो प्रतिस्पर्धा र भारत–चीन बीचको सीमा विवाद आदि तीव्र रूपमा भइरहेको भू–राजनीतिक बदलावले पनि बीपीको भनाइको मेलमिलापको सान्दर्भिकता नसकिएको पुष्टि हुन्छ ।

भू–राजनीतिक रूपमा बदलिंदो विश्व शक्ति सन्तुलन पनि एशिया उन्मुख छ । नेपालका दुई शक्तिशाली छिमेकी देश भारत र चीन आर्थिक शक्तिको उदाउँदो केन्द्र भागमा छन् । २०१७ मा भूटान र चीनको सीमामा पर्ने दोक्लामको विषय र २०२० मा भारत चीन बीच ४५ वर्षपछि भएको झडपले हिमाली खण्ड भावी दिनमा संवेदनशील बन्दै जाने खतरा उत्तिकै छ । त्यतिबेला नेपाल निरपेक्ष रहनै सक्दैन । यहींनेर बीपीले २०३३ मै देखेको मेलमिलापको सान्दर्भिकता झल्कनेछ ।

राष्ट्रिय मेलमिलापको सान्दर्भिकता राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा मात्रै खोजिने विषय होइन । नेपालका ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आ–आफ्नो राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेका छन् । नेकपा माओवादी केन्द्र महाधिवेशनकै मैदानमा छ, एमालेलाई छाडेर हेर्ने हो भने कांग्रेस र राप्रपामा नेतृत्व चयनका सन्दर्भमा राम्रै परिवर्तन भएको मान्नुपर्ने हुन्छ । कांग्रेसले मूल नेतृत्वमा अनुभवी तथा पाका नेता शेरबहादुर देउवालाई नै चयन गर्दै बाँकी नेतृत्वदायी तहमा मनग्ये युवाको प्रतिनिधित्व गरायो भने राप्रपाले त परम्परा नै तोडेर राजेन्द्र लिङ्देनलाई अध्यक्षमा चयन गरेर ‘छलाङ’ मार्न पुग्यो !

नेतृत्व परिवर्तन मात्र सर्वेसर्वा होइनन्, चुनिएको नेतृत्वले छनोट बाहिर रहेका र सँगै छनोटमा परेका दुवैथरीलाई कति सम्मानपूर्वक साथै यात्रा गराउन सक्छ ? त्यो नै नेतृत्वको परीक्षा हो । बीपीको मेलमिलाप यहींनेर खोज्नुपर्ने हुन्छ । एक्लै दौडिएर प्रथम हुने सपना बीपीको मेलमिलापको दायरा भित्र पर्दैन । नेपालका राजनीतिक दलले एउटाले अर्काेलाई र दलभित्रको अन्तरसंघर्षमा पनि एकले अर्काको सम्मान गर्नु नै बीपीको मेलमिलापको ध्येय भनेर बुझ्नुपर्ने हुन्छ ।

बीपीले भनेका थिए– राष्ट्रिय एकता प्रजातन्त्रको बलियो जगमा मात्र निर्माण हुनसक्छ । तर, नेपालका राजनीतिक दलहरूको अन्तरसंघर्षका कारण राज्यका निकायहरूमा जनताको विश्वास खस्किंदो छ । दलहरूका बीच दिनानुदिन दूरी बढिरहेको छ । दलका नेताले सार्वजनिक गर्ने धारणाका कारण नेपालले अन्तर्राष्ट्रिय सम्मान आर्जन गर्न सकेको देखिन्न । जब सत्यको मुख बन्द गरिन्छ, तब असत्य र मिथ्याको ढोका खुल्न पुग्दछ भन्ने हेक्का नेपालका राजनीतिक दलहरूले राख्न जरूरी छ । दलीय एकता, एकताले दिने स्थायित्वको सन्देश र दलभित्र पनि एकले अर्काको सम्मान गर्ने परम्पराले मात्र बीपीको मेलमिलापको सान्दर्भिकता झल्किने हो । अन्यथा बीपीको मेलमिलापको विषय फगत पुस १६ का दिन कांग्रेसजनले लेख्ने र बोल्ने विषय सिवाय केही रहने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?