+
+
मेरो जीवनशैली :

सुटिङमा हुँदा खाने समयको टुंगो हुँदैन : सुरक्षा पन्त

सम्झना विक सम्झना विक
२०७८ पुष १६ गते १४:३३

१५ पुस, काठमाडौं । अभिनेत्री सुरक्षा पन्त जीवन्त अभिनयका कारण चर्चित छिन् ।  चलचित्र ‘धनपति’बाट अभिनय यात्रा थालेकी सुरक्षा इञ्जिनियर समेत हुन् । चलचित्रमा फरक-फरक चरित्रमा अभिनय गर्न चाहने उनलाई चलचित्र ‘आमा’ले थप उचाइ दियो । यो चलचित्रमा उनको कामले निक्कै प्रशंसा पाएको थियो ।

उनै अभिनेत्री सुरक्षा पन्तको  जीवनशैली र दैनिकीका विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ वा छैन ?

अहिले जाडो छ, प्रयाः ६ देखि ७ बजेसम्म उठिसक्छु । राति अबेरसम्म काम पर्‍यो भने उठ्ने समय केही ढिलो पनि हुनसक्छ ।

उठ्नासाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ वा पूजापाठ गर्नुहुन्छ ?

दुवै गर्दिन । उठ्नेबित्तिकै शौचालय जान्छु ।

बिहान फ्रेस भइसकेपछि योग ध्यान वा एक्सरसाइज गर्नुहुन्छ ?

सूर्य नमस्कार गर्छु । १०-१५ मिनेट सामान्य कसरत गर्छु ।

बिहान नास्ता खानुहुन्छ कि हुन्न ?

बिहान म नास्ता नै त खाँदिन । मलाई कफी र कुकिज मन पर्छ, त्यही खाने गर्छु ।

बिहानको खाना कति बजे खानुहुन्छ ?

सुटिङ नभएको बेला ११ देखि १२ बजेसम्म खाइसक्छु । काम भएको समयमा भने खाने टुंगो हुँदैन ।

कस्तो खाना रुचाउनुहुन्छ ?

एकदमै साधारण खाना दाल, भात र तरकारी ।

तपाईंको खानामा छुट्दै नछुट्ने चिज के हो ?

जाडोमा टिमुरको छोप म सधैं खान्छु । गर्मीमा दही कहिल्यै छुट्दैन ।

माछा-मासु कत्तिको खानुहुन्छ ?

एकदमै कम खान्छु, महिनामा दुई तीन चोटि मात्रै । हरियो सागसब्जी चाहिं बढी खान्छु ।

मदिरापान गर्नुहुन्छ ?

कहिलेकाहीं मन मिल्ने साथीसँग गर्छु ।

भान्सामा काम गर्ने जाँगर कत्तिको चल्छ ?

भाँडा माँझ्न जाँगर लाग्छ, पकाउन त्यति मन लाग्दैन ।

आफूले पकाएको बेलामा आफैंले बनाएको कुन खानेकुरा बढी मन पर्छ ?

सुख्खा रोटी, दाल अनि आलुको साँधेको अचार । साथीहरु मैले बनाएको आलुको अचार एकदमै मीठो भन्छन्, उनीहरुकहाँ जाँदा अचार बनाउने जिम्मा मेरै हुन्छ ।

बाहिर रेष्टुरेन्टको खाना मीठो कि घरमा बनाएको ?

खाना त घरकै मीठो हुन्छ । तर घरमा बसेर बनाउन भ्याइँदैन, त्यसैले बाहिर नै बढी खानुपर्छ । रेष्टुरेन्टमा जाँदा बढीजसो थकाली खाना खान्छु ।

एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको कुनै क्षण छ ?

म भोकमा छटपटिने मान्छे होइन । खाना म एकदमै कम खान्छु । एक महिना अगाडिको कुरा हो, डोल्पामा सुटिङ गरिराखेका थियौं । बिहानको खाना साढे पाँच बजे खाएर डाँडामा सुटिङ गर्न गयौं । डाँडासम्म पुग्न भान्साघरबाट ४५ मिनेट लाग्थ्यो । हावा धेरै लागेर सोचेको समयमा काम सकिएन, काम सकाएर तल झर्दा पाँच बजेको थियो । त्यसपछि बल्ल झरेर खाना खाएँ ।

घरमा कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माझ्ने, लुगा धुने लगायतका काम आफैं गर्नुहुन्छ ?

सबै काम आफैं गर्छु ।

घरबाट बाहिर निस्कनुअघि मेकअपमा कति समय लाग्छ ?

कपाल लामो हुँदा एक घण्टा लाग्थ्यो, अहिले कपाल छोटो छ त्यसैले समय कम भएको छ । आधा घण्टामा तयार भइसक्छु ।

बाहिर हिँडडुल गर्दा कस्तो लुगा सहज लाग्छ ?

खुकुलो कपडा मन पर्छ । कोट अति नै मन पर्छ । स्कर्ट, जिन्समा नै सहज महसुस गर्छु ।

गरगहनामा कत्तिको आशक्ति छ ?

मलाई सुनचाँदीका गरगहनामा आशक्ति छैन । म मेटलको गहना रुचाउँछु । प्रायः नदेखिने गहनाहरु ठमेल, वसन्तपुरका  स्थानीय कालीगढलाई आफैं डिजाइन दिएर बनाउन अर्डर गर्छु । उहाँहरुले मेरो चाहना अनुसारको बनाइदिनुहुन्छ ।

तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ?

डियोको स्कुटी ।

दिनभर कसरी बित्छ ?

सुटिङ हुँदा त्यसमै बित्ने भइहाल्यो । कलाकारसँगै म इञ्जिनियर पनि हुँ, त्यसैले यसको काम पनि हुन्छ । अनि अरु समय सिनेमा हेरेर र किताब पढेर बिताउँछु ।

साँझ कति बजे घर फर्कनुहुन्छ ? यति नै बजे भन्ने हुँ दैन । इञ्जिनियरिङको काम अनि सुटिङको काम सँगसँगै मिलाएर लगेकी छु । घर फर्किने समय कामले निर्धारण गर्छ ।

रातिको खाना कति बजे खानुहुन्छ ?

म राति खाना नै खाँदिन । दूध सधैं खान्छु । हलुका खानेकुरा, ड्राई फुड, भुजा कहिले छुट्दैन । दाल, भात, तरकारी नै चाहिं राति खाँदिन ।

कति बजे सुत्नुहुन्छ ?

१० देखि ११ बजेसम्म सुतिसक्छु ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?