+
+

माओवादीको बन्दसत्र भोलि १ बजेसम्मका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १७ गते १९:४६

१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका छन् ।

शनिबार दिउँसो साढे दुई बजे स्थगित भएर साँझ पौने ७ बजे पुन: सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले बन्द सत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्ने प्रस्ताव गरेका थिए ।

त्यसपछि अध्यक्ष मण्डलले बन्द सत्र आइतबार १ बजेसम्म स्थगित भएको जानकारी गराएको माओवादीको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिले जानकारी दिएको छ ।

शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । तर सहमतिका लागि प्रयास भइरहेको भन्दै निर्वाचन कार्यक्रमलाई पर सारिएको हो । एक नेताका अनुसार आइतबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा सहमतिमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी छ ।

प्रचण्डले भनेका थिए : सहमति नभए निर्वाचन

शनिबार दिउँसो बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सहमतिका लागि पाँच बजेसम्मको समय मागेका थिए । यदि सहमति नजुटे निर्वाचनमा जान सकिने उनले बताएका थिए ।

‘सबैको कोशिस सहमति होस् भन्ने नै हो । तर, लोकतान्त्रिक अभ्यास वा जनवादी अभ्यास कुण्ठित गर्ने ढंगले हामी जाँदैनौं’ बन्दसत्रमा प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने, ‘कुनै पनि लोकतान्त्रिक अभ्यासका लागि हामी तयार छौं । तर, जस्तोसुकै लोकतन्त्रमा पनि पहिलो प्रयास सहमति नै हो ।’

विधान पारित

शनिबारको बन्दसत्रबाट माओवादीको विधान मस्यौदा पारित भएको छ । बन्दसत्रमा विधान मस्यौदा पेश गरेको स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञासाको जवाफ दिएपछि विधान सर्वसम्मतिले पारित भएको हो ।

विधानलाई आगामी केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेका थिए । विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

महाधिवेशनबाट केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपाङ्गता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ ।

केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला तथा २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

दुई कार्यकालको सीमा तोकिएन

समूहगत छलफलमा अधिकांशले कार्यकारी पदमा दुई कार्यकालको सीमा र उमेर हद तोक्नुपर्ने माग गरेका थिए । तर शनिबार विधान पारित गर्दा दुबै माग सम्बोधन भएन ।

नेकपा एमालेमा कार्यकारी पदमा दुई कार्यकालको सीमा र ७० बर्षे उमेर हद दुबै लागू भइसकेको छ । नेपाली कांग्रेसले पनि १४ औं महाधिवेशनबाट कार्यकारी पद (सभापति) मा दुई कार्यकालको सीमा लागू गरेको छ ।

माओवादी केन्द्रमा भने कार्यकाल र उमेर हदको कुनै सीमा छैन । केन्द्रीय सदस्यको संख्या २९९ बनाउने तय भए पनि पदाधिकारीको संख्याका विषयमा भने यकिन गरिएको छैन ।

माओवादीमा पदाधिकारी संख्या पनि केन्द्रीय समितिले तय गर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?