
२० पुस, काठमाडौं । सोमबार रोल्पाको सुलिचौरमा आयोजना हुन लागेको ‘सुनिल स्मृति साहित्य महोत्सव’को ब्यानर र वक्ताको नाम सार्वजनिक गरियो । उक्त महोत्सवको कविता वाचन सेसनका १४ कविमध्ये एकठाउँमा मात्र महिलाको नाम राखिएको थियो ।
सामाजिक सञ्जालमा ब्यानर सार्वजनिक हुनेबित्तिकै देश-विदेशमा रहेका लेखकहरूले रोल्पाको यो महोत्सवलाई ‘भाले कार्यक्रम’को संज्ञा दिँदै विरोध गरे । कवितामा मात्र नभई तीन दिनसम्म चल्ने अन्य सबै सेसनमा महिलाको उपस्थिति शून्य थियो ।
यो त भयो रोल्पाको कुरा । काठमाडौंमै हुन लागेको पुष्पराग साहित्य प्रतिष्ठानको कार्यक्रममा पनि एक जना महिला प्रतिनिधि राखिएको थिएन । खस-आर्य समुदायलाई मात्र केन्द्रमा राखेर यो कार्यक्रम डिजाइन गरिएको थियो ।
रोल्पाको साहित्यिक महोत्सवलाई लेखक सावित्री गौतम ‘ककफाइट’ अर्थात् भालेजुधाइको संज्ञा दिन्छिन् । उनी लेख्छिन्, ‘बरु कार्यक्रमको नाम एकमुष्ट नाम ‘ककफाइट’ राखेको भए कति राम्रो हुने थियो !’
कवि चन्द्रवीर तुम्बापो पनि रोल्पाको कार्यक्रमलाई ‘भालेहरूको कुम्भमेला’ भन्दै कटाक्ष गर्छन् । तुम्बापो भन्छन्, ‘रोल्पाजस्तो प्रगतिशील भूमिमा हुन लागेको कार्यक्रममा महिला नपर्नु, दलित-उत्पीडितहरू बोल्न नपाउनु असाध्यै खेदजनक कुरा यो । यो तुरुन्त बन्द गरिनुपर्छ ।’
कवि स्वप्निल स्मृतिका अनुसार नेपालमा गरिने सांस्कृतिक कार्यक्रमहरू समावेशिताको सामान्य मर्मसमेत ख्याल नगरी गरिन्छन् । एकाआपसको सम्मिलन, सम्मान र सहअस्तित्वको ख्याल नै नगरी एकपक्षीय ढंगले कार्यक्रम गरिने उनको बुझाइ छ ।
उनी भन्छन्, ‘समावेशिता समाजको अत्यन्तै अपरिहार्य विषय हो । यसलाई हामीले अब संस्कृतिका रुपमा स्वीकार गरेर लैजानुपर्छ । देखाउने ‘पप्पेट’ होइन, व्यवहारतः लागू गरिनैपर्छ ।’
यता रोल्पाको कविता वाचनमा नाम राखिएकी एक मात्र महिला कवि संगीत मगर पनि आयोजकले गम्भीर गल्ती गरेको बताउँछिन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘मलाई जानकारी नै नदिइकन मेरो मात्र नाम राखिएको रहेछ । यो महिलाद्वेषी कदमको कडा प्रतिवाद गर्दैै कार्यक्रम बहिष्कार गर्छु ।’
संगीतले पोस्टर हेर्नेबित्तिकै आपत्ति जनाएर आयोजकमध्येका एक दिलीप कुँवरसँग कुरा गरिसकेको बताएकी छन् । रोल्पाका कुँवर काठमाडौंमा बसेर साहित्यिक पत्रकारिता गर्छन् । उनकै फेसबुक आईडीबाट रोल्पाको कार्यक्रमको सबै वक्ताको नाम र तस्वीर सार्वजनिक गरिएको थियो ।
पछिल्लो पाँच वर्षयता रोल्पामा वार्षिक रुपमा साहित्यिक कार्यक्रम गरिँदै आएको छ । सदरमुकाम होलेरीदेखि सुनछहरी, सुलिचौरलगायत स्थानमा साहित्यिक महोत्सव भइसकेका छन् ।
मूल चिन्तन नै महिलाद्वेषी छ : सरिता तिवारी
रोल्पाको कार्यक्रम त एउटा उदाहरण मात्र हो । यथार्थ कुरा के छ भने हाम्रो मूल चिन्तन नै महिलाद्वेषी छ । आजको माओवादी, एमाले वा कांग्रेस होस् उनीहरूको मुद्दाभित्र पनि महिला अटाउन सकेका छैनन् । महिलालाई सकेसम्म दोस्रो वर्गमा राख्न खोज्ने पार्टी प्रवृत्तिकै उपज रोल्पाजस्तो प्रगतिशील मानिने ठाउँमा देखिएको छ ।
आजको समयमा पनि यसरी एकल नश्ल वा एकपक्ष लिएर कार्यक्रम गरिनु खेदजनक छ । महिलालाई त राखिएन, त्यहाँ भएका वक्ताहरू पनि अधिकांश खस-आर्य वा एकै समुदायका मानिस मात्र छन् । अर्कोतिर रोल्पा भनेको क्रान्तिको विम्ब हो । त्यही ठाउँमा गरिने साहित्यिक, सांस्कृतिक कार्यक्रममा नियतवश नै महिलालाई छुटाइन्छ । न महिला वक्तामा पर्छन् न कविता वाचनमा ! न महिला आयोजक समितको मुख्य भूमिकामा नै हुन्छन् । एउटा पनि ठाउँमा महिलाको सहभागिता देखिएन ।
धेरै संस्थाले मलाई पनि वक्ताको रुपमा बोल्न बोलाउँछन् । तर उनीहरूको नजरमा म केवल ‘महिला वक्ता’ हुन्छु । के वक्ताको पनि महिला र पुरुष वर्ग हुन्छ ? तर आजका टेलिभिजन कार्यक्रम, साहित्यिक महोत्सव, कविता वाचन सबैतिर महिलालाई प्रतिनिधि मात्र सम्झेर बोलाइन्छ । नत्र अधिकांश समय पुरुषकै वर्चश्व छ ।
प्रतिक्रिया 4