+
+

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो तयार, पोखरामा प्रक्रिया अघि बढ्दै

अच्युत पुरी अच्युत पुरी
२०७८ पुष २० गते १७:३१
फाइल तस्वीर

२० पुस, काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण कार्य जारी रहेकै अवस्थामा नेपाल आयल निगमले हवाई इन्धनको डिपो जडानको कार्य पनि सम्पन्न गरेको छ ।

निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ७०/७० हजार लिटर क्षमताका ५ वटा भूमिगत ट्यांक निर्माण गरेको निगमका डेपुटी निर्देशक भरत रेग्मीले जानकारी दिए । उनका अनुसार भैरहवामा यसअघि समेत रहेका इन्धन टयांकको स्तरोन्नती समेत गर्दै इन्धन डिपो तयार पारिएको हो ।

जसले अन्तर्राष्ट्रिय स्तरको विमानस्थल सञ्चालन गर्दा आवश्यक हवाई इन्धनको माग परिपूर्ति गर्न सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार इन्धन ट्यांक निर्माणको काम सम्पन्न भई तेस्रो पक्षबाट मूल्यांकन गराउने चरणमा यी पूर्वाधारको काम पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण कार्य ९८.७६ प्रतिशत पूरा भएको छ । जनवरीभित्रै क्यालिब्रेसन उडान गरी आगामी तीन महिनाभित्र यो विमानस्थलको उद्घाटन गरिसक्ने घोषणा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले गरेका छन् ।

उता, पोखरा क्षेत्रीय विमानस्थलमा भने अझै भौतिक पूर्वाधार निर्माणको काम शुरु हुन सकेको छैन । पोखरामा बनाउने डिपोका लागि डिजाइन विल्ड मोडालिटीमा प्रक्रिया अगाडि बढाइएको निगमका डेपुटी निर्देशक रेग्मीले जानकारी दिए । गत वैशाखमा बोलपत्र आह्वान गरिएको यो आयोजनका लागि प्राविधिक मूल्यांकनको काम जारी रहेको निगमले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरा विमानस्थलको भौतिक निर्माणको काम ८९ प्रतिशत पूरा भएको छ । विमानस्थल सञ्चालनमा आउन भने अझै एक वर्ष समय लाग्ने अनुमान छ । सो अवधिभित्र निगमले समेत आफ्नो पूर्वाधार निर्माणको काम सकाउने लक्ष्य लिएको छ ।

तीन आन्तरिक विमानस्थलमा पूर्वाधार बन्दै

नेपाल आयल निगमका अनुसार निर्माणाधिन दुई अन्तर्राष्ट्रिय विमानस्थलसँगै तीन आन्तरिक विमानस्थलमा समेत हवाई इन्धन भर्न सक्ने गरी पूर्वाधार निर्माण भइरहेको छ ।

निगमका अनुसार भविष्यमा माग हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै चन्द्रगढी, जनकपुर र दाङ विमानस्थलमा यस्तो सुविधा थप्ने गरि निर्माणको काम जारी छ । यसबाट हवाई उडान थप हुँदा जहाजले सम्बन्धित गन्तव्यमै इन्धन भर्न सक्नेछन् ।

अहिले नेपाल आयल निगमसँग कुल ८०७० किलोलिटर हवाई इन्धन मौज्दात राख्न सक्ने क्षमता रहेको छ । यो परिमाणको इन्धनले १३ दिनको माग धान्न सक्छ । नेपालमा आयात हुने कुल इन्धनमा हवाई इन्धनको मात्रा दोस्रो सबैभन्दा कम छ । कुल आयातित हवाई इन्धनमध्ये हवाई इन्धनको हिस्सा मात्र २ प्रतिशत छ ।

निगमका अनुसार अहिले सञ्चालनमा रहेका इन्धन डिपो तथा हवाई इन्धन डिपोहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको भए/नभएको एकिन गरि पुनर्संरचनाको नक्सांकन गर्ने, प्राविधिक अवस्थाको यकिन गर्ने, सुरक्षा तथा वातावरणीय स्थितिको आंकलनका आधारमा रि–इन्जिनियरिङ गरी आधुनिकीकरण गर्ने योजना समेत रहेको बताएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?