+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

देउवाविरुद्ध मोर्चाबन्दीमा जुट्यो शेखर समूह

आफूहरुलाई सभापतिले शक्तिका रुपमा स्वीकार नगरेको निष्कर्ष

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ पुष २० गते २३:२०

२० पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन समूहसँग प्रतिस्पर्धा गरेको डा. शेखर कोइरालाको समूहको प्रतिवद्धता थियो, महाधिवेशनसँगै गुटहरु सकिने छ । महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए भने कोइराला पराजित ।

तर महाधिवेशनपछि पनि गुटलाई संस्थागत गर्नु गलत भएको बताउने कोइरालाले पछिल्लो समय गुटगत छलफललाई तीव्रता दिएका छन् । सभापति देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको गुनासो डा. शेखर समूहका नेताहरुको छ ।

केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि सभापति देउवाले नेताहरुको वरियता तोके । सभापतिमा दोस्रो मत पाएका कोइरालालाई २० औं वरियतामा राखेपछि उनीनिकट नेताहरु रुष्ट भए । वागमती प्रदेशमा मन्त्रीहरु छनोट गर्दा रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई भाग दिए, तर डा. शेखरसँग परामर्शसमेत गरेनन् ।

सभापति देउवाले दुई पटक गरेर १३ जना केन्द्रीय सदस्य मनोनित गरे । कांग्रेस विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएकाले यो देउवाको विवेकको निर्णय थियो । तर उनले रामचन्द्र पौडेलबाहेक सबै आफूलाई मत दिनेलाई मात्र मनोनित गरे । पार्टीमा आफूलाई मत नदिनेको पनि सभापति हुने र सबैलाई समेटेर लैजाने प्रतिवद्धता विपरीत सभापति देउवाले फेरि गुटलाई अगाडि बढाउन खोजेको आरोप कोइराला समूहको छ ।

देउवाले आइतबार सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेर राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट गरे । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई बोलाएका देउवाले डा. शेखरलाई सम्झिएनन् । सोमबार केन्द्रीय कार्यसमितिबाट उम्मेदवार चयन गर्दा पनि उनले शेखरको साटो पौडेलसँग परामर्श गरे ।

मंगलबार भएको छलफलमा यो समूहका नेताहरुले ४० प्रतिशत मत पाएका डा. शेखरलाई नेताकै रुपमा स्वीकार गर्न नखोजेको निष्कर्ष निकालेका छन् ।

नेताहरुका अनुसार महाधिवेशनमै सहभागी नभएका रामचन्द्र पौडेललाई ‘स्पेस’ दिइरहेको भन्दै यो समूहका एक नेता भन्छन्, ‘पौडेललाई यो समूहको नेताका रुपमा व्यवहार गर्नुभएको हो भने त्यो गलत हो । हाम्रो समूहको नेता शेखर कोइराला हो । उहाँलाई पनि समेटेर लैजाने उदारता पार्टी सभापतिले देखाउनुभएको छैन ।’ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभएपनि पौडेलले अप्रत्यक्ष रुपमा देउवालाई नै सहयोग गरेको कोइराला समूहको दाबी छ ।

डा. शेखरले आफूले गुटलाई निरन्तरता दिन खोजेको नभई पार्टीभित्र न्याय खोजेको धारणा राखेका थिए । ‘म गुटका नाममा भागबण्डा खोज्दिन, तर पार्टीमा सबैलाई न्याय चाहिन्छ भन्ने पक्षमा छु,’ उनले भने, ‘सभापतिले जुनियरलाई मनोनित गर्दा हाम्रातिर भएका सिनियर साथीहरुलाई छुटाउनुभयो, यो न्यायोचित भएन ।’

मंगलबारको छलफलमा कोइरालासहित धनराज गुरुङ, चन्द्र भण्डारी, गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत थिए । ‘सभापति देउवा महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका कोइरालासँग सहकार्य गरेर अगाडि बढ्ने पक्षमा देखिनुभएन । उहाँले शेखर समूहलाई शक्तिका रुपमा स्वीकार गरेको पाइएन,’ छलफलको निष्कर्ष सुनाउँदै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भनेका छन्, ‘हामी सभापतिलाई सहयोग गर्न चाहन्छौं, तर उहाँले त्यो व्यवहार देखाउनुभएन ।’

उनले अघि भने, ‘हामीले भागबण्डा खोजेका होइनौं, साझेदारी चाहेका हौं । त्यो व्यवहार सभापतिबाट होस् भन्ने हाम्रो अपेक्षा हो । तर उहाँ एक्लै जान खोज्नु शुभ शंकेत होइन ।’ त्यसैले आगामी रणनीति बनाउन छलफलमा जुटेको यो समूहले बुधबार आफ्नो समूहबाट महाधिवेशनमा उम्मेदवार बनेका पदाधिकारी, केन्द्रीय सदस्यका साथै प्रदेश सभापतिहरुसँग छलफल गर्दैछ ।

लेखक
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?