+
+

‘संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव’ संसदमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १९:२५

२१ पुस, काठमाडौं । सत्तागठबन्धनका तर्फबाट तयार संघीयता कार्यान्वयनसँग सम्बन्धित संकल्प प्रस्ताव संसदमा पुगेको छ ।

संविधान बनेर कार्यान्वयनमा आएको ६ वर्ष हुँदा समेत संघीयता कार्यान्वयनमा सन्तोषजनक काम हुन नसकेको भन्दै सत्तागठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले संयुक्तरुपमा संकल्प प्रस्ताव ल्याएका हुन् ।

संकल्प प्रस्तावकर्ता स्वतन्त्र सांसद खिमलाल देवकोटा हुन् । समर्थकमा नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, एकीकृत समाजवादीका शेरबहादुर कुँवर र जसपाकी प्रमिला कुमारी यादव छन् ।

उनीहरूले संघीयता कार्यान्वयन तहमा देखिएका कमजोरीका कारण नागरिकमा असन्तोष रहेको उल्लेख गरेका छन् ।

सरकारका तहहरुबीचको सम्वन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा हुने संविधानको व्यवस्था भएता पनि यसको पालना राम्रोसँग नभएको प्रस्तावमा भनिएको छ । अपर्याप्त जनशक्तिका कारण प्रदेश र स्थानीय तहले अपेक्षाकृत उपलव्धि हासिल गर्न नसकेको ठहर गरिएको छ ।

विना औचित्य सशर्त अनुदानका नाममा स-साना कार्यक्रम तथा योजनाहरु प्रदेश र स्थानीय तहमा पठाउने गरिएको, अधिकार तथा जिम्मेवारी प्रदेश र स्थानीय तहमा गएता पनि विभिन्न परियोजनाको नाममा संस्थागत संरचना थप गर्ने प्रवृत्ति मौलाएको उल्लेख गरिएको छ ।

जनप्रतिनिधिहरुमा नागरिकप्रतिको जवाफदेहिता र उत्तरदायित्वको भावनामा समेत ह्रास आएको र शासन व्यवस्थाकै विषयमा नागरिकस्तरमा गुनासाहरु देखापरेको भन्दै सम्बोधनका लागि १५ बुँदे निर्देशन माग गरिएको छ ।

सत्ता गठबन्धनका तर्फबाट आएको संकल्प प्रस्तावलाई ध्यानमा राखेर राष्ट्रिय सभाको बैठक यही पुस २५ गतेलाई बोलाइएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बताएका छन् ।

संकल्प प्रस्तावमार्फत निर्देशन दिन माग गरिएका बुँदाहरु निम्नानुसार छन् ।

१. अन्तरतह समन्वयकारी संस्थाहरु क्रियाशील गराउन ।

२. सरकारका तहहरुबीचको कार्यक्षेत्रमा देखिएको दोहोरोपनाको अन्त्य गराउन ।

३. सरकारका तहहरुबीचको नीतिनिर्माण र कानून तर्जुमाका बीचमा तादम्यता कायम गराउन ।

४. २९ बुँदे संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजनाको पूर्ण कार्यान्वयन गर्न ।

५. अधिकार र कार्यबोझका आधारमा मात्र संस्थागत संरचनाहरु निर्माण गराउन ।

६. सशर्त अनुदानका नाममा स-साना योजना तथा कार्यक्रमहरु बाँडफाँट बन्द गराउन ।

७. सहभागितामूलक योजना तर्जुमा पद्धतिलाई कार्यान्वयन गराउन ।

८. प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुने संविधानको व्यवस्था कार्यान्वयन गराउन ।

९. प्रदेश र स्थानीय तहमा देखिएको कर्मचारीहरुको न्यूनता पूरा गर्न ।

१०. प्रहरी लगायत प्रदेशमा समायोजन र हस्तान्तरण गर्न बाँकी संरचनाहरुको व्यवस्थापन गराउन ।

११. स्थानीय तहका पदाधिकारीहरुको सेवा-सुविधा (सवारी साधनसहित) मा एकरुपता कायम गराउन ।

१२. प्रदेशमा हुने मन्त्रालय र मन्त्रीको संख्यालाई चुस्त बनाउन संविधान संशोधनको गृहकार्य गराउन ।

१३. कानून तर्जुमामा तीव्रता दिन र यसको मस्यौदा निर्माणमा प्रदेश र स्थानीय तहको सहभागिता सुनिश्चित गर्न ।

१४. संघ, प्रदेश र स्थानीय तह बीचको सम्वन्धलाई सुदृढ समन्वयात्मक र सहज बनाउन आवश्यक प्रवन्ध मिलाउन ।

१५. सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ को प्रतिवेदन सार्वजनीकरण र कार्यान्वयन गराउन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?