+
+
Shares

देउवा फर्कन चाहन्छन्, धरपकड नहुने सुनिश्चितता खोज्दैछन्

देउवा दम्पतीले विदेशबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाएको पत्रअनुसार उनीहरू ‘फरार’ को आरोप अस्वीकार गर्दै स्वदेश फर्किन चाहेको देखिन्छ ।

केशव सावद केशव सावद
२०८३ असार ३ गते १९:२२

३ असार, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक द्वन्द्व यतिबेला उत्कर्षमा छ । पार्टी फुटको संघारमा उभिएका बेला निवर्तमान सभापति शेरबहादुर देउवा भने झण्डै चार महिनादेखि देश बाहिर छन् ।

गत फागुनमा प्रतिनिधिसभा निर्वाचनको माहोल तातिरहेका बेला उनी सपरिवार सिंगापुर गएका थिए । १३ फागुन राति नेपाल छाडेका देउवा चैतको पहिलो साता सिंगापुरबाट हङकङ पुगेका थिए ।

त्यतिबेला उनको सचिवालयले नियमित स्वास्थ्य उपचारपछि थप उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएको भन्दै कार्यक्रम सकेर स्वदेश फर्किने जनाएको थियो ।

तर, हङकङ पुगेको झण्डै तीन महिना बित्न लाग्दा पनि देउवा नेपाल फर्किएका छैनन् । कांग्रेसभित्र नेतृत्व र वैधानिकताको विवाद उत्कर्षमा पुगिरहेका बेला देउवाको लामो विदेश बसाइले राजनीतिक वृत्तमा अनेक प्रश्न उब्जाएको छ ।

विशेषगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको घेरामा परेका देउवा र उनकी पत्नी डा. आरजु राणा स्वदेश नफर्किएका कारण आलोचकहरू ‘अनुसन्धानबाट जोगिन देश बाहिर बसेको’ आरोप लगाउँदै आएका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका देउवा दम्पती लामो समयसम्म पनि स्वदेश नर्फिकएपछि ‘देश छाडेर भागेका हुन् कि उपचार र पारिवारिक कारणले विदेशमै रोकिएका हुन् ?’ भन्ने आम जिज्ञासा पनि देखिन्छ ।

तर, पछिल्लो समय देउवा दम्पतीले विदेशबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाएको पत्रअनुसार उनीहरू ‘फरार’ को आरोप अस्वीकार गर्दै स्वदेश फर्किन चाहेको देखिन्छ ।

यद्यपि, स्वदेश फर्किनका लागि राज्यबाट आफूहरूमाथि तत्काल पक्राउ वा धरपकड नहुने सुनिश्चितताको अपेक्षा गरेको पत्रले देखाउँछ । स्वदेश फिर्तीपछि धरपकडको जोखिम नहुने सुनिश्चितता खोज्दै देउवा दम्पतीले अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

विभागलाई लेखिएको पत्रमा भनिएको छ, ‘हामी सदाशयतापूर्वक अनुसन्धानमा सहयोग गर्न तत्पर रहँदारहँदै ‘देश छाडी भागेको’, ‘अनुसन्धानमा उपस्थित नभएको’ भन्ने जस्ता भाष्य सिर्जना गरी हाम्राविरुद्ध पक्राउ पुर्जी जारी गर्ने र नेपाल प्रवेश गर्न नै कठिनाइ हुने अवस्था नबनाइयोस् भनी अनुरोध गरेका छौं ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका निवर्तमान सभापति देउवालाई पार्टीकै नेताहरूले तत्काल स्वदेश नफर्किन आग्रह गरेका कारण उनको विदेश बसाइँ लम्बिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार उनलाई चिकित्सकले पनि केही समय आराम गर्न सुझाव दिएका छन् ।

‘शेरबहादुर दाइ नेताहरूको नियमित सम्पर्कमै हुनुहुन्छ । सर्वोच्चले पक्राउ नगर्न आदेश दिएलगत्तै नेपाल आउने तयारीमा हुनुहुन्थ्यो,’ कांग्रेस इतर समूहका एक नेताले भने, ‘तर दाइहरू (अन्य नेताहरू) ले एयरपोर्टबाटै सरकारले धरपकड गर्न सक्छ, अहिले नआउनुस् भन्नुभयो । फेरि डाक्टरले पनि रेस्ट गर्न भनेका रहेछन् ।’

ती नेताका अनुसार स्वदेश फर्किंदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले विमानस्थलबाटै धरपकड गर्न सक्ने आशंकाले देउवा सशंकित देखिन्छन् । जुन आशंका उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखेको पत्रमा पनि झल्किन्छ ।

पत्रमा २८ असारको मिति उल्लेख छ । यद्यपि, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतले इमेलमार्फत प्राप्त पत्र आधिकारिक रहेको पुष्टि गरेको छ । देउवा दम्पतीले नै त्रुटिबस एक महिनापछिको मिति उल्लेख भएको विभागको भनाइ छ । देउवा दम्पतीले पठाएको पत्रको बोधार्थ विशेष अदालतमा समेत पुगेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि पक्राउ पुर्जी जारी गर्न वा मुद्दा चलाउनु परेमा विशेष अदालत पुग्नुपर्छ । देउवा दम्पतीले आफूहरूको सम्भावित मुद्दा हेर्ने अदालतमा समेत पत्रको बोधार्थ पठाएका हुन् ।

पत्रमा देउवा दम्पतीले आफूहरू उपचारका क्रममा रहेका बेला कसैले अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएको जिकिर गरेका छन् । तर अख्तियारबाट थप कुनै छानबिन नभएको भन्दै उनीहरूले अनुसन्धान विभागले भने आफूहरूको भग्नावशेषयुक्त घरमा मुचुल्का गरेको उल्लेख गरेका छन् ।

आफूहरूले नियमित रूपमा सम्पत्ति विवरण बुझाएको र सम्पत्तिबारे छानबिन गर्नु परेमा अख्तियारले अनुसन्धान गर्न सक्ने भन्दै देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान अघि बढाइएकोप्रति प्रश्न उठाएका छन् ।

जेनजी आन्दोलनलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उपमहानिर्देशक निर्मल ढकालको नेतृत्वमा टोली गठन गरेको र उक्त टोलीले बुढानीलकण्ठस्थित निवासबाट नगद र बहुमूल्य गहनाको अवशेष फेला नपरेको भनी प्रतिवेदन दिएको भन्दै देउवा दम्पतीले त्यसपछिको अनुसन्धानमा प्रश्न उठाएका हुन् ।

‘विभागको उपमहानिर्देशक निर्मल ढकाल समेतको अनुसन्धान टोली २०८२–०६–०६ का दिन हाम्रो आगजनी र लुटपाटबाट भग्न अवस्थाको भवन परिसरमा प्रवेश गरी त्यहाँ रेखदेख गरी बस्नु भएका मेरा नातेदार रामबहादुर देउवालाई रीतपूर्वक प्रवेश पुर्जी दिई दुवै घरको सबै तला एवं जलेर शेष रहेका पग्लिएका धातु र कागजातहरूको समेत निरीक्षण गरी कुनै बहुमूल्य वस्तु वा नगद जलेको समेत फेला नपरेको भनी खानतलासी मुचुल्काले प्रमाणित गरिसकेको रहेछ,’ पत्रमा भनिएको छ ।

नगद र बहुमूल्य सम्पत्ति जलेर नष्ट भएको भन्ने हल्ला विभागले गरेको अनुसन्धानले गलत प्रमाणित भएको देउवाको दाबी छ । ‘छानबिनबाट सो तथ्य गलत प्रमाणित भइरहेको अवस्थामा थप अनुसन्धान अनवरत राखे पनि म र मेरी पत्नीलाई पक्राउ नै गरी छानबिन गर्नुपर्ने कुनै अवस्था थिएन,’ पत्रमा देउवाले भनेका छन् ।

पूर्वप्रधानमन्त्री देउवा पक्राउ पूर्जीविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले अध्यादेशमार्फत अदालतको क्षेत्राधिकार फेरिएर विशेष अदालतमा पुगेको अवस्थामा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा पक्राउको प्रयास गर्नु उचित नहुने भन्दै पक्राउ पुर्जी नै खारेज गरिदिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीविरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । १८ वैशाखमा राजपत्रमा प्रकाशित अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएका मुद्दाहरू जिल्ला अदालतको साटो विशेष अदालतमा दायर हुने गरी व्यवस्था परिवर्तन गरिएको थियो ।

सर्वोच्चले ११ जेठमा त्यही परिवर्तित क्षेत्राधिकारमा प्रश्न उठाएर देउवा दम्पतीका नाममा जारी पक्राउ पुर्जीमाथि रोक लगाएको हो । त्यतिबेलासम्म विशेष अदालतमा पक्राउ अनुमतिका लागि विभागले निवेदन नदिएको र पक्राउ पुर्जी जारी नभएको भनी सर्वोच्चले प्रश्न उठाएको थियो ।

‘कानुनको अधिनमा रही विधिसम्मत रूपमा पक्राउ गर्न सकिनेमा विवाद नभए पनि त्यस्तो पक्राउ स्वेच्छाचारी हुनु हुँदैन,’ सर्वोच्चको आदेशमा भनिएको थियो, ‘यसरी पक्राउ गर्दा प्रचलित कानुनले स्थापित गरेको विधि र प्रक्रियाअनुरूप हुनुपर्ने कुरामा कुनै विवाद हुन सक्दैन ।’

अनुसन्धान विभाग विशेष अदालत गए देउवा दम्पतीमाथि फेरि पनि पक्राउ अनुमति जारी हुन सक्ने सम्भावनालाई सर्वोच्चले रोक लगाएको छैन । यही अवस्था बुझेका देउवाले आफूहरू नेपाल फर्केपछि विभागमा उपस्थित भएर अनुसन्धानमा सघाउने भन्दै पत्र लेखेका हुन् ।

‘आफ्नो निर्दोषिता पुष्टि गर्नका लागि तहाँ उपस्थित भई अनुसन्धानमा सहयोग गर्न हामी तत्पर रहेको कुरा प्रारम्भिक रूपमा नै स्पष्ट गर्न चाहेका छौं,’ पत्रमा भनिएको छ, ‘हाल हामी उपचारमा नै रहेको हुनाले आजको मितिले दुई महिनाभित्र नेपाल फर्की तहाँ विभागलाई जानकारी गराउने बेहोरा अनुरोध गरेका छौं ।’

महिनौंसम्म नेपाल बस्दा अनुसन्धान नभएको तर, विदेश जानासाथ अनुसन्धान अघि बढेर पक्राउ पुर्जी जारी भएको भन्दै देउवाले लामो समय सार्वजनिक जीवनमा रहेकाले कानुनसम्मत र खुला रूपमा नै कानुनी उपचारमा जाने बताएका छन् ।

‘हामी दुवै निवेदकहरू सार्वजनिक उत्तरदायित्वको पदमा बसेको र देशको प्रधानमन्त्री र परराष्ट्र मन्त्री जस्तो जिम्मेवारी बहन गरिसकेका राजनीतिक व्यक्ति भएको हुनाले हाम्रो उद्देश्य कुनै प्राविधिक आधारमा हाम्रो विरुद्धको अनुसन्धानलाई रोकछेक, प्रतिरोध गर्ने नभई कानुनसम्मत, खुला, प्रमाणमा आधारित र पारदर्शी अनुसन्धानबाट हामी निर्दोष रहेको कुरा प्रमाणित गर्ने रहेको छ,’ देउवा दम्पतीको पत्रमा भनिएको छ ।

जेनजी आन्दोलनका क्रममा २४ भदौमा बुढानीलकण्ठस्थित निवासमै देउवा दम्पतीमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणपछि आफूहरूलाई नेपाली सेनाले उद्धार गरेको पूर्वप्रधानमन्त्री देउवाले बताउँदै आएका छन् ।

‘हामीमाथि सांघातिक आक्रमण गरी घरमा भएका मालवस्तुहरू समेत लुटपाट गरी भवनमा आगजनी गरेको कुरा सबैलाई जानकारी भएकै विषय हो,’ पत्रमा भनिएको छ, ‘तत्कालीन अवस्थामा नेपाली सेनाले उद्धार गरेको कारणले मात्र हामी आज जीवित रहेका छौं ।’

सेनाले घाइते अवस्थामा उद्धार गरेर उनीहरूलाई उपचारका लागि सैनिक अस्पताल लगेको थियो । आक्रमणको ३६औं दिन (२८ असोज २०८२) मा उनी सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा पहिलोपल्ट सार्वजनिक भएका थिए ।

केन्द्रीय कार्यसमिति बैठकबाट उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर उनी पहिलोपल्ट १० कात्तिकमा थप उपचारका लागि सिंगापुर गएका थिए ।

जेनजी आन्दोलनपछि सिंगापुर उपचारका लागि गएका देउवा २८ कात्तिकमा स्वदेश फर्किएका थिए । देउवा फेरि (१३ फागुन) सिंगापुर जानुअघि नै पूर्वपरराष्ट्र मन्त्री राणा भारत भएर सिंगापुर गएकी थिइन् ।

सिंगापुरमै रहेका बेला नेपालमा पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री देउवाले २५ चैतमा सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका थिए ।

‘म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,’ फेसबुकमा उनले लेखेका थिए, ‘नेपालको कानुनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराउन चाहन्छु ।’

देउवाले त्यतिबेला आफू स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचारको क्रम जारी रहेको पनि बताएका थिए । ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ,’ उनले भनेका थिए, ‘अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।’

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?