+
+

बतासलाई पोखरेलीको प्रश्न : अक्सिजन प्लान्ट खोइ ?

अमृत सुवेदी अमृत सुवेदी
२०७८ पुष २२ गते १९:३६
सहयोग उठाउन बतास फाउन्डेसनले बनाएको प्रचार सामग्री

२२ पुस, पोखरा । कोभिड–१९ को दोस्रो लहरमा अन्यत्रजस्तै पोखराका अस्पतालहरु संक्रमितले भरिए । अक्सिजन अभावकै कारण संक्रमितको मृत्यु हुने अवस्था आएपछि व्यापारिक समूह बतास ग्रुपको बतास फाउन्डेनले घोषणा गर्‍यो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडान गर्ने ।

पोखरा रामघाटमा सेती नदी थुनेर ३५ वर्षसम्म ढुंगा, गिटी, बालुवा निकाल्न जिम्मा लिन खोजेको भन्दै बतास समूहको विरोध भइरहेको थियो । रामघाटको प्रभावित क्षेत्रभित्रै पर्ने प्रतिष्ठानमा अक्सिजन प्लान्ट बनाउने घोषणा गरेर रामघाट थुन्ने योजना हात पार्न खोजेको आरोप बतासमाथि लागेको थियो ।

तर कोरोना महामारीका बेला अक्सिजन प्लान्ट बनाउन अघि सरेपछि बतास समूहले सहानूभति पनि पायो । बतास ग्रुप र दी रिभर माइनिङले ५०/५० लाख रुपैयाँ राखेर स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ‘रु १ सय दान गरौं, माहामारीमा प्राण राखौं’ अभियान चलायो ।

अक्सिजन प्लान्ट जोड्न बनेको समितिको संयोजक आनन्दराज बतास आफैं थिए । १५ दिनदेखि एक महिनामा अक्सिजन प्लान्ट जडान गर्ने भनिएको थियो । बतास फाउण्डेसनकै अनुसार ३ करोड ३७ लाख ४३ हजार ८ सय ६१ रुपैयाँ अक्सिजन प्लान जडानका लागि आर्थिक संकलन भएको थियो ।

पछिल्लो पटक ८ साउनमा प्रवक्ता तथा कोषाध्यक्ष नारायण पौडेलले विज्ञप्ति निकालेर यही महिनाभित्रै अक्सिजन प्लान्ट जडान गर्न सप्लायर्सको छनोट भएर ३ वटा अक्सिजन प्लान्ट र १ वटा फिलर सिस्टम अर्डर भइसकेको र कार्गोमार्फत नेपाल ल्याउने प्रक्रिया सुरु भएको बताएका थिए । तर ९ महिना पुगिसक्दा पनि अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छैन ।

अहिले विज्ञहरुले कोरोना महामारीको तेस्रो लहर आउने चेतावनी दिइरहेका बेला अक्सिजन प्लान्टको खोजी भइरहेको छ । अक्सिजन प्लान्ट जडान गर्ने अभियानमा आफूले २५ हजार र अरुबाट समेत संकलन गरी ८५ हजार रुपैयाँ सहयोग गरेका नागरिक अगुवा रामबहादुर पौडेलले जनताबाट उठाएको पैसा कहाँ राखियो भनेर सबैले प्रश्न सोध्ने बेला आएको बताए । पौडेलले भने, ‘अब बन्छ, अब बन्छ भन्दाभन्दै ९ महिना बित्न लागिसक्यो तर थाहा छैन, हाम्रो पैसा कहाँ छ ?’

सरकारका कारण ढिला भयो : बतास

बतास फाउण्डेसन सुरुमा एक्लैले १५ दिनभित्र अक्सिजन प्लान्ट राख्ने बताएको थियो । पछि बताससँगै अमेरिका नेपाल मेडिकल फाउन्डेसन, क्रिएसन नेपाल, ह्युम्यानिटी फाउन्डेसन नेपाल, मिसन रिबिल्ट नेपाल, जगदम्बा स्टिल र स्याकार ट्रेडिङ कम्पनी प्रालिले मिलेर सातै प्रदेशमा अक्सिजन प्लान्ट राख्ने भनियो ।

बतास फाउण्डेसनका आनन्दराज बतासका अनुसार फ्रान्समा ११ वटा मेसिन किनिसकिएको छ । त्यो नेपाल ल्याउन कार्गो भाडा नै २ करोड ९१ लाख रुपैयाँ लाग्ने देखिएको छ । ‘सरकारले कार्गो भाडा व्यहोर्दिन्छौं भन्यो,’ बतासले भने, ‘केपी ओलीकै पालामा कुरा भइसकेको हो । ओली सरकार ढलेर नयाँ आयो । जहाज भाडाको टेन्डर निकाल्ने प्रक्रियाले ७ महिना खाइदियो ।’

उनले अघि भने, ‘आफैं भाडा तिरेर ल्याऔं भनेको भए ८ महिना अगाडि आइसक्थ्यो । हाम्रो गल्ती त्यही भयो ।’

अहिले जनताले हाम्रो पैसा कहाँ छ भनेर सोध्नु स्वभाविक भएको भन्दै उनले भने, ‘मेसिन जडान भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्छु ।’ उनका अनुसार ३ करोड ३७ लाख ३६ हजार ८ सय १२ रुपैयाँ प्लान्ट खरिदका लागि भुक्तानी भइसकेको छ ७ हजार ४९ रुपैयाँ मौज्दात छ ।

थप प्लान्ट चाहिँदैन : प्रतिष्ठान

बतास फाउण्डेसनले अक्सिजन प्लान्ट जडान गर्ने भनेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले दुई वटा अक्सिजन प्लान्ट जडान भइसकेको छ ।

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका भक्त गुरुङको नेतृत्वमा प्रवासी नेपालीहरुले प्रतिदिन २ सय सिलिण्डर अक्सिजन उत्पादन क्षमताको एउटा प्लान्ट अस्पतालमा जडान गरेर पनि प्रतिष्ठानलाई हस्तान्तरण गरेका छन् भने अर्को प्लान्ट स्वास्थ्य मन्त्रालयमार्फत जडान भइसकेको छ । ‘प्रतिदिन ३ सय ६० क्षमताको अक्सिजन प्लान्ट बनिसकेको छ,’ अस्पतालका निर्देशक डा. भरत खत्रीले भने, ‘अहिले प्रतिदिन १ सय ५० सिलिण्डरले पर्याप्त छ । पालैपालै प्लान्ट चलाइरहेका छौं ।’

अस्पतालको भवन रेट्रोफिटिङ गर्ने सम्झौतामा अर्को अक्सिजन प्लान्टको योजना पनि सँगै छ । त्यो प्लान्ट पनि बनेपछि थप १ सय सिलिण्डर प्रतिदिन अक्सिजन उत्पादन हुन्छ । ‘रेट्रोफिटिङको प्लान्ट पनि बनेपछि अस्पतालका लागि पर्याप्त हुन्छ,’ बतासको अक्सिजन प्लान्ट बनाउने अभियानमा ५० हजार रुपैयाँसमेत आर्थिक सहयोग गरेका डा. खत्रीले भने, ‘अक्सिजनको चरम अभाव हुँदा योजना ल्याएको थियो । प्लान्ट राख्ने ठाउँ पनि बनाइरहेका थियौं । तर अब बतासको प्लान्ट आवश्यक छैन, त्यो अर्को कुनै ठाउँमा जडान गरे हुन्छ ।’

प्लान्ट सञ्चालन खर्चसमेत बढी लाग्ने भएकाले अनावश्यक धेरै प्लान्ट एकै ठाउँमा जडान गर्नुभन्दा अर्को ठाउँमा लैजाँदा उपयुक्त हुने उनको भनाइ थियो । ‘चाहिने बेलामा पाएनौं । प्रवासी नेपाली मञ्चले उपयुक्त बेलामा दियो,’ डा. खत्रीले भने, ‘प्रतिष्ठानमा अब आवश्यक नभएकाले अर्को ठाउँमा लैजान इमेल गरिसकेका छौं ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?