+
+

एमाले रुपन्देहीको अध्यक्षमा ७ जना आकांक्षी

टोपराज शर्मा टोपराज शर्मा
२०७८ पुष २३ गते ११:३७
Photo Credit : Sagar Neupane

२३ पुस, बुटवल । नेकपा (एमाले) रुपन्देहीको नवौं जिल्ला अधिवेशनमा नेतृत्वका लागि आधा दर्जन बढी नेता आकांक्षी रहेका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, खिमलाल भट्टराई लगायतका नेताहरुको गृह जिल्ला भएकाले आकांक्षीहरु आ–आफ्नो पक्षमा माहोल बनाउन लबिङ गरिरहेका छन् ।

जिल्ला अध्यक्षका लागि हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरे, जिल्ला सदस्य तेजेन्द्र केसी, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, जिल्ला उपसचिव गोपाल राना, नेताहरु बलबहादुर आचार्य, हितराज पन्थी र यज्ञ गैरेले नेतृत्वमा आउन आन्तरिक गृहकार्य गरिरहेका छन् ।

एमाले रुपन्देहीको अधिवेशन शुक्रबार र शनिबार भैरहवाको गणतान्त्रिक सभागृहमा हुँदैछ । अधिवेशनमा एमाले उपाध्यक्ष पौडेल, सचिव विश्वकर्मा, स्थायी कमिटी सदस्य भुसाल, खिमलाल भट्टराई लगायतका नेताहरु रुपन्देहीमै छन् ।  नेताहरु सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने पक्षमा छन् । तर आकांक्षी धेरै भएपछि कसको नाममा सहमति जुटाउने भन्ने गाह्रो भएको छ । सात जनाले दावी गरे पनि मुख्यतः हालका उपाध्यक्ष घिमिरे र नेता केसीबीच अध्यक्षका लागि रस्साकस्सी हुने एमाले नेताहरुको अनुमान छ ।

घिमिरे आठौं अधिवेशनमा पनि अध्यक्षको उम्मेदवार थिए । तर तत्कालीन उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, जिल्ला इन्चार्ज लिला गिरी लगायतका नेताहरुले नवौं अधिवेशनमा अध्यक्ष बनाउने प्रतिवद्धता जनाएको हुँदा आफू उपाध्यक्षमा बसेकाले अहिले नेताहरुले आफ्नो वचन पूरा गर्नुपर्ने उनी बताउँछन् । आफू २०४७ सालदेखि एमाले जिल्ला कमिटीमा रहेको भन्दै घिमिरेले अन्य आकांक्षीहरु आफूभन्दा एक दशकपछि जिल्ला कमिटीमा आएकाले आफूलाई यसपटक पनि अध्यक्ष बन्न नदिए अन्याय हुने बताए । ‘नेताहरुले गरेको प्रतिवद्धता अनुसार म निर्विकल्प अध्यक्ष हुनुपर्ने हो,’ घिमिरेले भने, ‘पार्टी एकतावद्ध भएको सन्देश दिन र कसैलाई अन्याय हुँदैन भन्ने प्रमाणित गर्न मेरो दावीमा सहमति हुन्छ भन्ने विश्वास छ ।’

घिमिरे एमालेमा लामो समयदेखि माधव नेपाल पक्षमा थिए । संसद विघटनपछि नेकपामा भएको विवादमा पनि घिमिरे माधव नेपाल–प्रचण्ड पक्षमा थिए ।

एमाले अध्यक्ष पदका अर्का बलिया दाबेदार तेजेन्द्र केसी एमाले र माओवादी एकीकरण भएपछि जिल्ला सहसंयोजक बनेका थिए । उनी जिल्ला प्रचार विभाग प्रमुख पनि थिए । उनले पनि आफू स्वभाविक अध्यक्षको दाबेदार भएको बताए । ‘पार्टीमा निरन्तर निष्ठापूर्वक काम गरेकाले म नै अध्यक्षको बलियो दावेदार हुँ,’ केसीले भने ।

यस्तै एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर पछि हटेका तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले पनि अध्यक्षमा दावी गरेका छन् । विगतमा माधव नेपाल पक्षमा रहेका नगर प्रमुख घिमिरे पहिलो संसद विघटन हुँदा नगरपालिकाको तर्फबाट विरोधमा प्रेस विज्ञप्ति निकालेर चर्चामा आएका थिए । तर पछि उनी माधव नेपाल पक्ष छाडेर विष्णु पौडेलमार्फत केपी ओली पक्षमा उभिए ।

एमाले रुपन्देहीका उपसचिव गोपाल रानाले पार्टी नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने आवश्यकता रहेकाले आफू उपयुक्त दावेदार भएको बताए । चारतारे होटेल व्यवसायी समेत रहेका राना एमाले उपाध्यक्ष विष्णु पौडेलका विश्वासपात्र मानिन्छन् ।

त्यसैगरी, भूमि आयोग रुपन्देहीका अध्यक्ष भइसकेका बलबहादुर आचार्य, भैरहवाका हितराज पन्थी र पार्टीको रुपन्देही–१ इन्चार्ज यज्ञ गैरेले पनि जिल्ला अध्यक्षमा दावी गरेका छन् । गैरेले एमाले सचिव विश्वकर्मामार्फत लबिङ गरेका छन् ।

एमाले जिल्ला अधिवेशनका लागि ११०६ जना प्रतिनिधि छनोट भएका छन् । १५० सदस्यीय जिल्ला कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरी ५ जना पदाधिकारी रहने व्यवस्था छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?