
२५ पुस, मकवानपुर । नेकपा एमालेको मकवानपुर जिल्ला समितिको नेतृत्व चयन प्रक्रियाप्रति अध्यक्षका उम्मेदवार बद्री लम्सालले असन्तुष्टि जनाएका छन् । जिल्ला इन्चार्ज रामेश्वर रानाले एकलाल श्रेष्ठ अध्यक्ष रहेको कमिटी घोषणा गरेपछि लम्सालले असन्तुष्टि जनाएका हुन् ।
लम्सालले अझैपनि आफ्नो उम्मेदवारी कायम रहेको र श्रेष्ठलाई अध्यक्ष छोड्ने कुनै सहमति नभएको जनाएका छन् । आइतबार एक विज्ञप्ति जारी गरी लम्सालले जिल्ला समिति चयनमा केन्द्रबाट हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।
आइतबार बिहान जिल्ला इन्चार्ज रानाले श्रेष्ठ अध्यक्ष रहेको जिल्ला कमिटीमा उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उपसचिवमा हिदम लामा र सीता विष्ट सर्वसम्मत चयन भएको घोषणा गरेका थिए ।
शुक्रबार उद्घाटन भएको जिल्ला अधिवेशनमा सहमतिका निम्ति भन्दै मतदान पर सारिएको थियो । शनिबार दिनभर पनि सहमति जुट्न नसकेपछि आइतबार बिहान ८ बजे मतदानको तालिका तय भएको थियो ।
पदाधिकारीमा लम्साल र श्रेष्ठ प्यानलसहित मैदानमा उत्रिएका थिए । तर रानाले अन्य पदाधिकारीमा लम्साल प्यानलका उम्मेदवार समेटेर श्रेष्ठलाई अध्यक्ष घोषणा गरे ।
श्रेष्ठको प्यानलबाट गोपालबहादुर श्रेष्ठ उपाध्यक्ष, सुनिल मोक्तान सचिव, मदन दाहाल र सुमित्रा काफ्ले उपसचिवको उम्मेदवार थिए । जिल्ला इन्चार्ज रानाले सहमति र प्रक्रिया पूरा गरेरै जिल्ला नेतृत्व चयन भएको बताए ।
विगतमा माधव नेपाल पक्षका लम्साल १० बुँदे सहमति गरी एमालेमा रहेका नेतामध्ये एक हुन् । श्रेष्ठ संस्थापन पक्षका नेता हुन् ।
प्रतिक्रिया 4