+
+

‘कोरोनाको अगाडि निरीह अष्ट्रेलिया सरकार’

प्रतीक सिग्देल  प्रतीक सिग्देल 
२०७८ पुष २७ गते १२:५८

कोरोना महामारीका कारण अष्ट्रेलियाले करीब डेढ वर्षदेखि बन्द गरेको अन्तर्राष्ट्रिय सिमाना गत डिसेम्बर १५ बाट खोलेपछि देशभर कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या १० लाख नाघेको छ । अष्ट्रेलियाभरी दैनिक करीब एक लाखभन्दा बढीको संख्यामा संक्रमितहरू थपिएका छन् ।

भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टा भित्रमा ४४ हजार १५५ जना नयाँ संक्रमितहरू थपिएका छन् । त्यस्तै, सबैभन्दा बढी जनसंख्या भएको न्यू साउथ वेल्स राज्यमा ३० हजार ६२ जना नयाँ संक्रमितहरू थपिएका छन् । त्यति मात्र होइन, बोर्डर खोल्नु अघिसम्म महामारीले नछोएको तास्मानिया राज्यमा सोमबारमात्र करीब एक हजार ५०० नयाँ संक्रमितहरू थपिएका छन् ।

यो तथ्यांक सोमबार सम्मको हो । यही अनुपातमा अष्ट्रेलियामा संक्रमतिहरूको संख्यामा वृद्धि हुने हो भने अर्को महीनासम्म दैनिक १० लाखको संख्यामा संक्रमित थपिँदा अचम्म मान्नु नपर्ने अवस्था आउन सक्छ ।

किन यस्तो भयो ?

दैनिक रुपमा यतिका संख्यामा संक्रमितहरू वृद्धि हुनु अष्ट्रेलियाका लागि एकदम नौलो विषय हो । कडा प्रतिबन्ध र अन्तर्राष्ट्रिय सिमाना ठप्प पारेका कारण महामारी सुरु भएदेखि यता अहिलेसम्म यतिको संख्यामा संक्रमण फैलिन पाएको थिएन । यद्यपि सिमाना खुल्नुपूर्व केही राज्यहरूमा भने कोरोना देखिएको थियो । जसलाई सहज र सरल तरिकाले नियन्त्रणमा लिइएको थियो ।

जस्तोसुकै परिस्थितिमा पनि पछाडि नहट्ने अठोटसहित सिमाना खोलेका अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोना भाइरसको संक्रमण यति छिटै यत्तिको दरमा बढ्ला भन्ने हेक्का राखेनन् ।

मरिसनलाई अहिलेको संक्रमण पनि पहिलेका संक्रमणजस्तो सहज र सरल तरिकाले नियन्त्रण होला जस्तो लागेको थियो । उनले अझ डेल्टा र ओमिक्रोन भेरियन्टको संक्रमण (जुन अन्य संक्रमणभन्दा एकदमै छिटो फैलिइरहेको छ)लाई पनि नजरअन्दाज गरे ।

यो तर्कलाई अष्ट्रेलियाका वरिष्ठ पत्रकार जोको यो भनाइले पुष्टि गर्छ । उनले एक अन्तर्वार्तामा भनेका छन्, “उहाँसँग महामारीको सामना गर्ने कुनै योजना भएको देखिएन। हल्का ढंगले लिनुभयो ।”

मरिसन सरकारको महामारीसँग जुध्ने फितलो नीति र दीर्घकालीन योजनाको कमीका कारण महामारीले उग्र रुप लिएको राजनीतिक कर्मीहरूको विश्लेषण छ । विपक्षी नेता एन्थोनी अल्बानिजले बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्न अष्ट्रेलिया सरकार पर्याप्त मात्रामा तयार नभएको आरोप लगाएका छन् ।

“महामारीसँग जुध्ने तयारीको विषयमा सरकारको असफलताका कारण जनताहरु चिन्तित छन्,” उनले स्काई न्यूजसँगको अन्तरवार्ताका क्रममा भनेका थिए  ।

त्यति मात्र होइन, स्कुल अफ हिस्टोरिकल एण्ड फिलोसोफिकल स्टडिजका वरिष्ठ अधिकारी किम सयरले पनि ठोकुवै गरे, ‘महामारीविरुद्ध संघीय सरकारले अबलम्बन गरेका रणनीतिहरू गल्तीका श्रृंखला हुन्, जुन सजिलै रोक्न सकिन्थ्यो ।’ उनले मरिसन सरकारले गरेका गल्तीका श्रृंखलाहरु क्रमवद्ध रुपमा व्याख्या गरेका छन्, जसको व्याख्या यहाँ सम्भव छैन ।

तर स्मरण रहोस, कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या र हस्पिटलमा भर्ना हुनेको संख्या पहिलेको तुलनामा यसपटक भने कम छ ।

आत्तिएका प्रधानमन्त्री मरिसन 

 कोरोनाको बढ्दो संक्रमण दर र विपक्षीहरूको विरोधका कारण हुनसक्छ अहिले प्रधानमन्त्री मरिसन अत्तालिएका जस्ता देखिन्छन् । उनले हतासमा निर्णय लिइरहेका छन् । अघिल्ला चरणका संक्रमण र सिमाना खुलेपछि फैलिएको संक्रमणसँग लड्न प्रयोग गरिएका रणनीतिहरूमा गरिएको अकस्मात परिवर्तन उनीमा आएको हतासपनको उदाहरणको रुपमा लिन सकिन्छ ।

उनले केही साता अगाडि कुनै एक व्यक्ति कोरोनाबाट संक्रमित व्यक्तिको नजिकको सम्पर्कमा (क्लोज कन्ट्याक्ट) भएको हुन संक्रमितसँग एउटै घर वा घरजस्तो संरचनामा न्यूनतम ४ घण्टा विताएको हुनुपर्ने नयाँ नियम ल्याएका थिए ।

उनले बुझिसकेका छन्, अहिलेको परिस्थितिमा पहिलेको जस्तो क्लोज कन्ट्याक्टका आधारमा सबैलाई ‘आइसोलेट’ गर्ने हो भने देशको आधा जनसंख्यालाई नै ‘आइसोलोट’ गर्नुपर्छ ।

संक्रमण लागे नलागेको तत्काल थाहा दिने रेपिड एन्टिजेन टेस्ट  किटको विश्वासनीयतामाथि शंका उठिरहँदा उनले यसबाट प्राप्त नतिजालाई आधिकारिक दिने निर्णय लिए । यसको मतलब रेपिड टेस्ट गरेपछि पिसिआर टेस्ट गर्नु नपर्ने भयो ।

विपक्षीले नि:शुल्क वितरणको माग गर्दै आएको यो टेस्ट जनता आफैंले किनेर गर्नुपर्ने मरिसनको निर्णयले उनलाई झन् विवादित बनायो । यसलाई धेरैले हतारोमा गलत निर्णय लिएको र आत्तिएको भनेर मरिसनको आलोचना गरे ।

मरिसनका आगामी विकल्प

मरिसनलाई थाहा भइसकेको छ कि अष्ट्रेलियामा कोरोना अब नियन्त्रण बाहिर गइसक्यो । उनी यो कुरामा पनि जानकार छन् कि अब पहिले जस्तो सीमाना बन्द गरेर, कडा प्रतिबन्धहरू लगाएर कोरोना नियन्त्रण सम्भव छैन । सम्भवै भए पनि उनले सिमाना बन्द नगर्ने घोषणा आँफै गरिसकेका छन् । यस्तो स्थितिमा उनका सामु दुईवटा विकल्प मात्र रहेका छन् ।

पहिलो, अष्ट्रेलियामा पनि अमेरिका र बेलायतले जस्तो सम्पूर्णरुपमा खुला छोडिदिने । दोस्रो, पहिलेकै जस्तो सिमाना बन्द गरेर कडा प्रतिबन्ध लगाएर अस्टेलियालाई कोरोना मुक्त गर्ने ।

यिनको हालसम्मको मुभमेन्ट हेर्दा र हालसम्मको निर्णय गर्ने तरिकाका आधारमा पहिलो विकल्पतिरै उनी ढल्किएको आभास हुन्छ ।

आगामी दिनमा कोरोना भाइरसको संक्रमणलाई सामान्यीकरण गर्दै लैजाने र सबैलाई यसको विरुद्धको सम्पूर्ण मात्राको खोप लगाउन उत्प्रेरित गर्ने गरी मरिसनका आगामी निर्णयहरू हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?