+
+

लैनचौरको खुला चौरमा महानगरले बिछ्यायो कृत्रिम दुबो

काठमाडौं महानगरपालिकाले दुग्ध विकास संस्थान र शान्तिविद्या उच्च माविको बीच भाग (मुख्य लैनचौर) मा चारैतर्फ क्रंकिट टायलहरु बिछ्याएर बीचमा कृत्रिम घाँसको ‘टर्फ’ बिछ्याएको छ । चौरलाई प्राकृतिक तवरले व्यवस्थापन नगर्दा स्थानीय मात्रै होइन, वातावरणका जानकारहरु पनि रुष्ट छन् ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ पुष २८ गते ७:५२

२८ पुस, काठमाडौं । एक वर्षअघि शान्ति मास्केलाई आफ्नो घर नजिकैको लैनचौर (काठमाडौं) मा ‘पार्क’ बन्दैछ भन्ने खबर सुन्दा कम्ता खुसी लागेको थिएन । अहिले तयार भएको लैनचौर देख्दा भने उनलाई लागिरहेको छ, ‘पार्क भनेर चौरलाई गाडीको पार्किङ पो बनाइदिए ।’

‘यो चौर सधैं हिलो–धुलोले ग्रस्त हुन्छ, पार्क बन्ने भनेपछि हरियाली पार्ने रुख–विरुवा, दुबोको चौरको कल्पना गरेको थिएँ,’ उनी भन्छिन्, ‘अहिले त दुबो रोप्न बनाएको ठाउँमा त प्लास्टिकको दुबो ल्याएर बिछ्याए छन् ।’

उनले भनेको प्लाष्टिकको दुबो ‘कृत्रिम घाँसे मैदान’ हो । हुन पनि काठमाडौं महानगरपालिकाले दुग्ध विकास संस्थान र शान्तिविद्या उच्च माविको बीच भाग (मुख्य लैनचौर) मा तयार गरेको पार्क वातावरणीय र शहरी जीवनशैलीका हिसाबले अनुपयुक्त छ ।

चारैतर्फबाट क्रंकिट टायलहरु बिछ्याएर बीचमा कृत्रिम घाँसको ‘टर्फ’ बिछ्याइएको छ । चौरमा एक कुनामा शौचालय बनाइएको छ । चौरलाई प्राकृतिक तवरले व्यवस्थापन नगर्दा स्थानीय मात्रै होइन, वातावरणका जानकारहरु पनि रुष्ट छन् ।

वातावरणीय हिसाबले कति उपयुक्त ?

वातावरणविद भुषण तुलाधार यस्तो गतिविधिले शहरलाई झन्–झन् बस्न अयोग्य बनाउने बताउँछन् । निजी जग्गा घडेरीमै सकिने क्रममा रहँदा खुला स्थानमा पनि कंक्रिट र कृत्रिम मैदान बनाउँदै जाने हो भने काठमाडौंको वातावरणीय समस्या थप विकराल बन्ने उनको टिप्पणी छ ।

‘खुला स्थानको व्यवस्थापन कसरी गर्ने भनेर हेर्ने हो भने नक्सालको नारायण चौर हेरौं, त्यो चौर व्यवस्थित र प्राकृतिक तवरले बनाएपछि त्यस क्षेत्रको अर्थतन्त्र नै माथि उकासिएको छ,’ उनी भन्छन्, ‘त्यहाँ होटल र गाडीका सोरुमहरु खुलेका छन्, त्यहाँ आर्थिक गतिविधि बाक्लिएको मात्रै छैन, सामुदायिक रुपमा स्थानीयले लाभ पनि लिएका छन् ।’

व्यवस्थापन गर्न सजिलो हुने आशमा कंक्रिटका संरचना थप्ने र कृत्रिम घाँसे मैदान बनाउने शैली झांगिँदै जानु चिन्ताको विषय भएको वातावरणविद् तुलाधर बताउँछन् । दुबो नै नरोपे पनि चौरलाई त्यत्तिकै छोड्दा भन्दा कृत्रिम दुबो लगाउँदा वातावरणले बढी हानी व्यहोर्ने उनको भनाइ छ ।

‘रुख विरुवा रोप्दा बिहान–बेलुका चौरमा पुगेर सुस्ताउन पाइन्छ, खेल मैदान नै हो भने पनि प्राकृतिक रुपमै व्यवस्थापन गरिनुपर्छ,’ उनले भने । पार्क बनाउँदा रुख विरुवा रोपिनुपर्ने र सकेसम्म कंक्रिटको संरचनाहरु हटाउनुपर्ने उनको मत छ । लैनचौर पर्यटकीय ठमेलमा निस्सासिएकाहरुको सुस्ताउने ठाउँ पनि भएकाले यसलाई व्यवस्थापनका नाममा जथाभावी तवरले निर्माण गर्न नहुने उनले बताए ।

पुरातत्वविद् सुदर्शनराज तिवारीका अनुसार लिच्छवीकालमा क्षेत्रपाटीको इखापोखरीमा आउने, बुढानीलकण्ठबाट आउने राजकुलो लैनचौर भएरै जान्थ्यो । नारायणहिटीभन्दा बाहिरको भाग लैनचौर खुम्चिँदै सानो खेलमैदान मात्रै बाँकी रहेको उनले बताए ।

‘भारतीय दूतावास रहेको क्षेत्रलाई पहिले रानीवन भनिन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त्यहाँ केही भागमा मात्रै खुला स्थानहरु बचेका छन् । बचेकामध्येको एक लैनचौरलाई व्यवस्थित गर्ने नाममा प्लाष्टिकको दुबो राख्ने काम सही हैन ।’

उनका अनुसार लैनचौर भूमिगत पानी पुनर्भरणका हिसाबले पनि महत्वपूर्ण छ । त्यसैले सो क्षेत्रको प्राकृतिक अवस्था नबिथोलिने गरी सार्वजनिक निर्माणको काम गर्नुपर्ने उनको मत छ ।

‘लैनचौरमा प्राकृतिक हरियाली बनाउँदा हुन्छ, टर्फ राखेपछि त जमिनभित्र पानी जान नै रोकिन्छ,’ उनले भने, ‘यो वातावरणीय हिसाबले राम्रो हैन, भविष्यमा व्यवस्थापन गर्न पनि प्राकृतिक मैदान नै बढी सहज र कम खर्चिलो हुन्छ ।’

५ करोड लागत

काठमाडौं महानगरपालिकाले यसअघि यहाँ गाडीहरुका लागि भर्टिकल पार्किङ बनाउन खोजेको थियो तर स्थानीयले सहमति दिएनन् । पछि पार्क बनाइए पनि महानगरपालिकाले कंक्रिटका संरचना राख्दा स्थानीयहरु नै असन्तुष्ट बनेका छन् ।

फेरि लैनचौर खुम्चिएर सानो भइसकेको छ । समाजकल्याण परिषद्को नाममा रहेको ३५ रोपनी क्षेत्रमा उपराष्ट्रपति कार्यालय बसेको छ । अग्लो पर्खालभित्र तारबारसहितको सैन्य गस्ती छ ।

यसअघि स्थानीयले तारबार गरेर जोगाएको यो चौरमा साँझ–बिहान सबै उमेर समूहका मान्छे व्यायाम गर्न आउँछन् । विभिन्न विद्यालयहरु वरपर रहेकाले खेल खेल्न आउनेहरु पनि हुन्छन् ।

महाभूकम्पको बेला धेरैलाई आश्रय दिएको यो चौरमा अहिले परिआउँदा गाडी पार्किङ गर्न मिल्ने गरी संरचना बनाइएको काठमाडौं महानगरपालिकाका वडाध्यक्ष ख्यामराज तिवारी बताउँछन् ।

उनका अनुसार यो पार्क बनाउन महानगरले डिजाइन गरेर करिब ५ करोडको लागतमा पार्क तयार पारिएको छ । पार्कलाई बहुउद्देश्यीय ढंगले निर्माण गरिएको उनको दावी छ ।

उनले यो मैदान बनाउँदा वरपर १३ वटा भूमिगत रुपमा पानी रिचार्ज हुने इनारजस्तै संरचना राखिएको दावी गरे । वरपर २४ वटा ज्याकाराण्डाका रुख पनि रोप्ने उनले बताए  । घाँसे मैदान बनाउने योजना भएपनि स्थानीयको मागअनुसार नै टर्फ राखिएको दावी महानगरको छ ।  साँघुरो स्थान भएकाले पनि प्राकृतिक तवरले व्यवस्थापन गर्न कठीन भएको  वडाध्यक्ष तिवारीले बताए ।

‘यो खेल मैदान नै हो, व्यायाम गर्न आउने, आराम गर्न आउने, खेल्न आउने सबैका लागि यो अब उपयुक्त बनेको छ,’ उनले भने, ‘सेभेन एसाइड फुटबलसम्म खेल्न मिल्ने गरी बनाएका छौं, भविष्यमा कुनै कार्यक्रम गर्दा गाडी पार्क गर्न परे पनि प्रयोग हुनसक्छ ।’

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?