+
+

तेस्रो लहरका लागि लुम्बिनी प्रदेशमा के छ तयारी ?

टोपराज शर्मा टोपराज शर्मा
२०७८ पुष २९ गते ९:०२

२९ पुस, बुटवल । कोरोना संक्रमणको दोस्रो लहरमा लुम्बिनी प्रादेशिक अस्पतालमा बेड र अक्सिजन अभावमा संक्रमित बिरामीले ज्यान नै गुमाउनु परेको थियो ।

अहिले कोरोनाको तेस्रो लहरको आंकलन गरिएको छ, तर यसपटक कोरोना संक्रमितलाई बेड र अक्सिजन अभाव नहुने गरी तयारी गरिएको लुम्बिनी प्रादेशिक अस्पतालको दाबी छ । यसअघि पहिलो र दोस्रो लहरसम्म बुटवल धागो कारखानालाई ‘कोरोना विशेष अस्थायी अस्पताल’ बनाएर संक्रमितको उपचार भएको थियो ।

तर अहिले अस्पताल परिसरको छुट्टै भवनमा कोरोना संक्रमितको उपचारका लागि ६० बेड तयारी अवस्थामा राखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार जनरल ७, एचडीयू ३३, आईसीयू २० र भेन्टिलेटर ७ गरी ६० बेड तयारी अवस्थामा छन् । यस्तै इमर्जेन्सीमा आवश्यकता अनुसार २० बेड र माथिल्लो तलाको हलमा ३५ जना संक्रमितलाई राख्न सकिने गरी पूर्वाधार तयार छन् ।

कोरोना संक्रमितको शल्यक्रियाका लागि २ वटा पोस्ट अपरेटिभ बेड र डाइलासिस सुविधा समेत रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले बताए ।

अस्पतालमा रहेका २ वटा प्लान्टबाट दैनिक २५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरी परीक्षण भइसकेको र विद्युत जडानपछि एक हप्ताभित्र आवश्यकता अनुसार उत्पादन गर्न सकिने ढकालले बताए । ‘यसअघि बेड र अक्सिजनको चरम अभाव हुँदा कतिपय बिरामीको ज्यान समेत गएको थियो, स्वास्थ्यकर्मीलाई पनि सकस भएको थियो’ ढकालले भने, ‘अहिले बेड र अक्सिजन दुवैको अभाव हुन नदिने गरी तयारी हालतमा छौं ।’

प्रदेशको ५० प्रतिशत जनसंख्याले दुई डोज खोप लगाइसकेका र नयां भेरियन्टको जोखिम कम देखिएकाले संक्रमण बढे पनि अस्पताल भर्ना हुने दर कम रहेको अस्पतालका सूचना अधिकारी डा. नेत्र रानाले बताए।

संक्रमण दर बढे पनि बुधबारसम्म अस्पतालमा ९ जना मात्र कोरोना संक्रमितका बिरामी भर्ना भएर उपचार गरिरहेको रानाले बताए ।

अस्पतालमा गएको बिहीबार यता सरदर दैनिक सय जनाको पीसीआर परीक्षण हुँदा ३५ प्रतिशत हाराहारीमा संक्रमण देखिने गरेको अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए ।

संक्रमण दर बढेकाले मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोगसहित स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न छाड्न नहुने डा. पाठकको सुझाव छ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?