+
+

नेपाल कार्गो ढुवानीमा भाडा घटाउन भारतीय रेल कम्पनीबीच प्रतिस्पर्धा

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ पुष ३० गते १५:१३

३० पुस, काठमाडौं । नेपालमा कार्गो ढुवानी गर्ने भारतीय रेल कम्पनीबीच भाडा घटाउन प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रको रेल सञ्चालन शुरु भएको तीन महिनामा प्रतिकन्टेनर ३२ हजार रुपैयाँसम्म भाडा सस्तो भएको नेफा (नेपाल फ्रेट फरवार्ड एशोसिएसन) ले जनाएको छ । जुन कुल भाडाको ३० प्रतिशत हाराहारी हो ।

‘रेल सेवामा निजी क्षेत्रको प्रवेशसँगै सरकारी कम्पनीले ३० प्रतिशत जति हुन आउने करिब २० हजार भारुप्रति कन्टेनर भाडा घटाए’ नेफाका द्वितीय उपाध्यक्ष नरेशकुमार अग्रवालले अनलाइनखबरसँग भने ।

अहिले भारतीय सरकारी स्वमित्वको कन्कर, निजी क्षेत्रका हिन्द टर्मिनल र प्रिस्टन भ्यालीले दुई भारतीय सामुन्द्री बन्दरगाहबाट नेपालसम्म कार्गो ढुवानी गरिरहेका छन् । आवश्यकताअनुसार अहिले सातामा दुई दिन तीन पटकसम्म कार्गो रेल सुख्खा बन्दरगाह आइरहेका छन् ।

भाडा घटाउने प्रतिस्पर्धा

गत भदौमा पहिलो पटक नेपालमा कार्गो ढुवानी गरेको हिन्द टर्मिनलले नेपाली आयातकर्तासँग ४० फुटको कन्टेनरको भाडा ९६ हजार नेपाली रुपैयाँ (भारु ६० हजार) तोकेको थियो । त्यसअघि भारतीय सरकारी स्वमित्वको कन्कर रेल्वेले पनि नेपाली कार्गो ढुवानीमा सोही रेटमा भाडा लिने गरेको नेफाको ल्याण्ड सी कमिटी प्रमुख सीता अधिकारीको भनाइ छ ।

जब, नेपाल भारत रेल्वे सम्झौता परिमार्जनसहित नवीकरण भयो त्यसपछि भने भाडामा प्रतिस्पर्धा सुरु भएको नेफाले जनाएको छ । निजी कम्पनी रेल सेवामा प्रवेशगरेसँगै कन्करले साविकभन्दा ३० प्रतिशत कममा नेपाली कार्गो वीरगञ्ज लैजाने घोषणा गरेको अधिकारी बताउँछिन् ।

सरकारी सेवाले घटाए पछि निजी कम्पनी पनि भाडा घटाउन बाध्य भएको उनले सुनाइन् । ‘अहिले निजी र सरकारी दुवै कम्पनीले ४० फुटको कन्टेनरको विसाखापटनम र कोलकत्तादेखि सिर्सियसम्मको भाडा ४० हजार हाराहारी भारु तोकेका छन्,’ अधिकारीले भनिन् ।

आयातकर्ता र उपभोक्तामा अझै घटेन भाडा

दुई महिना अघि र अहिले रेल सेवा प्रदायकले ३२ हजार रुपैयाँ हाराहारी भाडा घटाए पनि त्यसको छुट भने अझै नेपाली आयातकर्ता र उपभोक्ताले नपाएको व्यवसायीहरु बताउँछन् ।

नेपालको सुख्खा बन्दरगाहसम्म सामान ढुवानीको जिम्मा धेरै जसो आयातकर्ताले शिपिङलाइनहरुलाई दिएको नेफाका द्वितीय उपाध्यक्ष अग्रवाल बताउँछन् ।

रेल सेवाले घोषणा गरेको छुटबारे शिपिङलाइन कम्पनीहरुले कुनै प्रतिक्रिया नदिएको र भाडामा पनि अहिलेसम्म कुनै छुट नदिएको उनको आरोप छ । ‘रेलले घटायो तर हामीले पाएका छैनौं । उपभोक्तासम्म अझै छुटको आभास भएको छैन,’ अग्रवालले भने । शिपिङलाईनहरु भारतमा दर्ता भएको कम्पनी हुने र नेपालीले त्यमा एजेण्टको भूमिका मात्रै खेल्ने भएकाले भाडा घटाउने तहसम्म छलफल  हुन नसकेको उनको बुझाइ छ ।

निजी रेल सेवा प्रभावित गर्न कन्करको चलाखी

नेपालसम्मको कागो ढुवानीमा भाडा घट्नु सुखद् भए पनि यसको भित्रि खेल चै नेपालको हितमा नभएको व्यापारीहरुले बताएका छन् ।

कन्करले भाडा घटाउने बित्तिक्कै नेपालको कार्गो ढुवानी भाडा घटाएका निजी रेल्वेले अहिले नेपाली कार्गोप्रतिको आर्कषण कम गरिरहेका छन् ।

भारतीय रेल टर्मिनलमा ९५ प्रतिशत र्‍याक भएको कन्करसँग प्रतिस्पर्धा गर्दा नेपालतर्फ सामान ल्याउँदा ठिकै भए पनि फर्कदा रित्तो फर्किनु पर्ने चिन्तामा निजी कम्पनी परेको आयातकर्ता अशोकमान कपालीले बताए ।

निफाकी ल्याण्ड सी कमिटी प्रमुख सीता अधिकारी पनि पछिल्लो केहीदिन देखि नेपाल कार्गो ढुवानीमा दुई रेल सेवा प्रदायक बीच चासो नदेखिएको बताउँछिन् । केही समय अघिसम्म औसत ३० र्‍याकको रेल नेपाल भित्रिने गरेकोमा अहिले उनीहरुले र्‍याकसंख्या घटाएर १० देखि १२ मा पुर्‍याएका छन् । यसले नेपालको आयातमा अवरोध हुन्छ’ अधिकारीले भनिन् । दुई कम्पनीको व्यापार द्वन्द्व जस्तो देखिए पनि अयो अस्थायी मात्रै हुनेमा व्यवसायीहरु भने आशावादी छन् ।

रेल सेवा सम्झौताले खोलेको ढोका

नेपाल भारत रेल सेवा सम्झौता २०६१ सालमा भएको थियो । उक्त सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपालको कार्गो ढुवानीमा एकाधिकार पाएको थियो ।

२०७८ जुलाईमा नेपाल भारतबीच रेल सेवा सम्झौता पुनरावलोकन सम्झौता भएपछि दुई देश बीच निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो ।

गत भदौमा ३० गते पहिलो पटक वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा भारतको निजी क्षेत्रको मालवाहक रेल आएको थियो । भारतको कोलकत्तास्थित हल्दिया बन्दरगाहबाट हिँडेको ४० घण्टा पछि ८८ कन्टेनर बोकेर हिन्द टर्मिनलको रेलले पहिलो पटक नेपालमा कार्गो ढुवानी गरेको थियो ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?