+
+

चोभार सुख्खा बन्दरगाह सञ्चालनमा अझै अन्योल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १८:३५
फाइल तस्वीर

३० पुस, काठमाडौं । निर्माण सम्पन्न भएको पाँच महिना बित्दा पनि चोभार सुख्खा बन्दरगाह सञ्चालनमा अन्योल कायमै देखिएको छ । बन्दरगाह सञ्चालनका लागि वाणिज्य मन्त्रालयले सबै तयारी सकेपनि अर्थ मन्त्रालयका कारण बन्दरगाह सञ्चालनमा विलम्ब भएको हो ।

बन्दरगाह सञ्चालनका लागि आफ्नो मन्त्रालयले सम्पूर्ण तयारी सकेको र वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार भट्टराईले बताए । तत्कालका लागि मन्त्रालय मातहतको इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह सञ्चालन गर्नेगरी काम अघि बढेको सचिव भट्टराईले बताए ।

‘ठेक्काको कागजात पनि अघि बढाउँछौं, तर जतिसक्दो छिटो सञ्चालन गर्दा अहिलेको व्यवस्थापकीय भूमिका इन्टरमोडलले नै गर्छ,’ सचिव भट्टराईले भने । बन्दरगाह सञ्चालनका लागि आवश्यक सुरक्षा, क्वारेन्टिन, भन्सार क्षेत्र घोषणा तथा दरबन्दी कार्यविधि निर्माणका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएको पनि सचिव भट्टराईले आग्रह गरे ।

विश्व बैंकको डेढ अर्ब ऋण लगानीमा गत साउनमा बन्दरगाह निर्माण सम्पन्न भएको थियो ।

यता बन्दरगाह सञ्चालनमा महत्वपूर्ण भूमिका हुने अर्थ मन्त्रालय मातहतको भन्सार विभागले भने काम भइरहेको दाबी गरेको छ । सुख्खा बन्दरगाह सञ्चालन छिटो गर्न आफूहरुले काम गरिरहेको विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले दावी गरे । कर्मचारी दरबन्दी सिर्जनादेखि कार्यविधि निर्माण एवं भन्सार क्षेत्र घोषणाका लागि काम भइरहेको महानिर्देशक सापकोटाले दावी गरे ।

नयाँ सरकारी कार्यालय सञ्चालन सजिलो काम नभएको भन्दै उनले बन्दरगाह सञ्चालन अझै लम्बिने संकेत गरे । ‘सरकारी कार्यालय स्थापनाको काम र खरिद प्रक्रिया त्यति सजिलो छैन । केही समय लाग्छ, हामीले भन्सार क्षेत्र घोषणाको टिप्पणी उठाएका छौं, ओएनएम सर्भे गर्दैछौं,’ महानिर्देशक सापकोटाले भने । पूर्वाधार निर्माण सकिएको ठाउँबाट छिटो सेवा शुरु गर्न चाहेर पनि प्रक्रियागत कामहरु बाँकी रहेको सापकोटाको भनाइ छ ।

काठमाडौं केन्द्रीत आयात र यहाँबाट हुने निर्याताका लागि निकै उपयोगी मानिएको बन्दरगाहसम्म माल वस्तु बोकेको सवारी कसरी आउँछन् भन्ने विषय पनि अझै टुंगिएका छैन् ।

सीमा क्षेत्र भन्दा भित्री भागमा रहेको बन्दरगाहसम्म मालवस्तु पैठारीबारे नेपालको अनुभव नभएका कारण भनसार जाँच पास लगायतमा अन्योल कायमै छ ।

बन्दरगाह सञ्चालनका लागि जुनसुकै बेला आफ्नो सेवा दिन तयार रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बन्दरगाहमा खाद्य क्वारेन्टिनका लागि तत्काल केन्द्रीय प्रयोगशालाबाटै मद्यत लिने गरी कर्मचारी व्यवस्थापन गर्न कुनै समस्या नरहेको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?