+
+

विमलको दुई गोलमा मछिन्द्रको शानदार जित, मनाङमाथि ४ अंकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १५:११

२ माघ, काठमाडौं । विमल घर्ती मगरले दुई गोल गर्नुका साथै एक असिस्ट गरेपछि लिग लिडर मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगमा आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४-० ले पराजित गरेको छ ।

यो जितले साविक विजेता मछिन्द्रले दोस्रो स्थानको मनाङ मर्स्याङ्दीमाथि ४ अंकको स्पष्ट अग्रता समेत बनाएको छ र उपाधि होडलाई अझ बलियो बनाएको छ । मछिन्द्रको ९ खेलबाट २३ अंक भएको छ । समान खेलबाट मनाङको १९ अंक छ । पाँचौ हार बेहोरेको ब्रिगेड भने रेलिगेसन जोनबाट १ अंक मात्र सुरक्षित छ र ६ अंकका साथ १२औं स्थानमा छ ।

यसै खेलमा मछिन्द्रका दुई खेलाडी अभिषेक रिजाल र रेजिन सुब्बाले समेत लिगमा गोलको खाता खोले । यस सिजन लिगमा रेजिनको यो पहिलो खेल समेत हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा ब्रिगेडले पहिलो हाफमा मछिन्द्रलाई गोलरहित बराबरीमा रोकेको थियो । ब्रिगेडका गोलकिपर गुरप्रित सिंहले केही राम्रो बचाउ गर्दा मछिन्द्रले पहिलो हाफमा गोल गर्न सकेको थिएन ।

तर दोस्रो हाफमा विमल नायक बने । उनले ५६औं र ६२औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए । ब्रिगेड विरुद्ध दुई गोलपछि लिगमा विमलको गोलसंख्या ३ पुगेको छ ।

त्यसपछि ८४औं मिनेटमा विमलको क्रसमा रेजिनले गोल गर्दै मछिन्द्रको अग्रता बढाए । विमलको दोस्रो गोलमा रेजिनले नै सहयोग गरेका थिए ।

मछिन्द्र यतिमै रोकिएन । इन्जुरी टाइममा अभिषेकरले पनि गोल गरेपछि मछिन्द्रले सहज जित हात पार्‍यो । पहिलो हाफमा डिफेन्समा मजबुत देखिएको ब्रिगेड मछिन्द्रसामु दोस्रो हाफमा निरिह बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?