
२ माघ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३१ प्रतिशत बजेट खर्च भएको छ । चालु आवमा सरकारले कुल १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यसमध्ये पुस मसान्तसम्म ५ खर्ब ६ अर्ब ६९ करोड रुपैयाँ बजेट खर्च भएको छ । खर्च भएको बजेटमध्ये ४ खर्ब ६ अर्ब ४१ करोड रुपैयाँ चालु खर्च भएको हो । यो लक्ष्यको ३८.१५ प्रतिशत हो ।
यसअवधिमा पुँजीगत खर्च भने मात्र १३.४४ प्रतिशत भएको छ । यस वर्ष कुल ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत खर्चको लक्ष्य राखेको सरकारले ६ महिनामा ५० अर्ब ८० करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
वित्तीय व्यवस्थामा भने तुलनात्मक रुपमा राम्रो प्रगति देखिएको छ । कुल १ खर्ब ८९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थामा विनियोजन भएकोमा ४९ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको छ । यो २६.१२ प्रतिशत हो ।
६ महिनामा ४५.९१ प्रतिशत राजस्व संकलन
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४५.९१ प्रतिशत राजस्व संकलन गरेको छ । पुस समान्तसम्म ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा संकलन भने ५ खर्ब ४२ अर्ब ५ करोड रुपैयाँ भएको छ ।
पछिल्लो एक महिना आयातमा गरिएको कडिकडाउको प्रभाव राजस्व संकलनमा देखिएको हो । यो वर्ष सरकारले ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।
प्रतिक्रिया 4