+
+
मन्थन :

इतिहासमाथि जैविक दृष्टि

मोहन तिम्सिना मोहन तिम्सिना
२०७८ माघ ३ गते ११:३६

पुस २७ नेपालीका लागि महाविवादको दिन बनेको छ । कारण, उक्त दिन राजा पृथ्वीनारायणको जन्मदिवस हो । जब यो दिन नजिकिन्छ, हरेक वर्ष दुई कोणबाट विवाद प्रकट हुन्छ- पृथ्वीनारायण नेपाल राष्ट्रको ‘एकीकरणकर्ता’ हुन् कि गोर्खाली ‘विस्तारवादी’ हुन् ? पृथ्वीनारायणले नेपाल एकीकरण गरे कि गोर्खा राज्य विस्तार गरे ? सञ्चारमाध्यमहरूमा यसपालि पनि यस्ता विवाद छाएको देखियो ।

पञ्चायतकालको स्कूले पाठ्यक्रमले अन्धविश्वासमा आधारित इतिहास पढायो । यसले पृथ्वीनारायणमा कुनै अमूक ईश्वरले अलौकिक शक्ति दिएको कुरा गर्‍यो । तिनै ईश्वरको कृपाले गर्दा पृथ्वीनारायणले नेपाल एकीकरण गर्न सफल भएको कुरा गर्‍यो । बाल्यकालमा पढेको त्यही पाठ्यक्रमका आधारमा धारणा बनाउने विद्वानहरू समाजमा अझै छन् । यस्ता मानिसले पृथ्वीनारायणको एकोहोरो महिमामण्डन गर्ने नै भए ।

अर्कोथरी मानिस छन्, जो पञ्चायती भाष्यको विरोध गर्छन् । उनीहरू पृथ्वीनारायणको कार्यकाललाई गोर्खा राज्य विस्तारको काल मान्छन् । पृथ्वीनारायणलाई नेपाल एकीकरणकर्ता होइन, गोर्खाली विस्तारवादी र हिन्दू शासक मान्दछन् । पृथ्वीनारायणले नै विभेदमा आधारित राज्यको जग बसाए भन्ने उनीहरूको बुझाइ छ । यस्ता मानिसले पृथ्वीनारायणको एकोहोरो विरोध गर्ने नै भए ।

हरेक वर्ष प्रकट हुने यो विवाद झट्ट हेर्दा खास परिघटनासँग सम्बन्धित जस्तो लाग्छ । वास्तविकतामा यो इतिहास-विज्ञानसँग सम्बन्धित विवाद हो । यस्ता विवादमा वैज्ञानिक मानिएका तर ‘वैज्ञानिक रुढिवादी’ सावित भएका धारणाले काम गरेका छन् ।

बुर्जुवा धारणा

इतिहास सम्बन्धी पहिलो ‘वैज्ञानिक रुढिवादी’ धारणा राख्नेहरूमा बुर्जुवाहरू पर्दछन् । ‘पहिले व्यक्ति जन्मियो, त्यसपछि समाज (राज्य/राष्ट्र) जन्मियो ।’ यो बुर्जुवाहरूको सामाजिक चिन्तनको मूलभूत प्रस्थापना हो । यो प्रस्थापनाका केही मूलभूत अर्थ छन् । पहिलो, यसले व्यक्तिलाई समाजको ‘आधारभूत इकाइ’ मान्यो । दोस्रो, इतिहासको गतिशीलतामा व्यक्तिको भूमिका ‘मूल’, समाज (राष्ट्र/राज्य) को भूमिका सहायक हो भन्यो । अर्थात्, इतिहास निर्माणमा व्यक्ति ‘कारण’ हो, समाज (ऐतिहासिक परिघटना) ‘कार्य’ हो भन्यो ।

जब समाजलाई यसरी हेरिन्छ, तब इतिहासका हरेक कालखण्डमा निर्णायक भूमिका निभाउने नायकको खोजी गर्नुपर्ने हुन्छ । अमूक पात्रलाई नायक बनाएपछि अर्को कोही पात्र खलनायक हुने नै भयो ।

पृथ्वीनारायणलाई नेपाल एकीकरणकर्ता स्वीकार गर्ने बुर्जुवा परम्पराका पछाडि मूलतः इतिहासलाई हेर्ने यही पद्धतिले काम गरेको छ । यो बाहेक परिस्थितिजन्य अर्को कारण पनि छ ।

नेपालका बुर्जुवाहरूले शाहवंशीय राजतन्त्रसँगको सम्झौतामा आफ्नो राजनीतिक भविष्य देखेका थिए । शाहवंशीय भाष्यको विरोध गर्दा राजतन्त्रसँगको सम्झौता नै खतरामा पर्न सक्थ्यो । यही कारण बुर्जुवाहरूले पृथ्वीनारायणलाई नायक र अन्य तत्कालीन जनजातीय राज्यका राजाहरूलाई खलनायकका रूपमा चित्रण गरिएको पञ्चायती भाष्यलाई स्वीकार गरिदिए । जुन आजसम्म कायम छ ।

कम्युनिष्ट धारणा

इतिहास सम्बन्धी कम्युनिष्ट धारणा पनि ‘वैज्ञानिक रुढिवादी’ धारणा नै हो । जसको मूलभूत प्रस्थापना बुर्जुवा धारणासँगै मिल्छ । यद्यपि कम्युनिष्टहरूले केही फरक फोकस पनि निर्माण गरेका छन् ।

कम्युनिष्ट र बुर्जुवाबीचको समानता के हो भने, बुर्जुवाले जस्तै कम्युनिष्टले पनि ‘पहिले व्यक्ति जन्मियो त्यसपछि समाज (राज्य/राष्ट्र) जन्मियो’ नै भन्दछन् । यसमा उनीहरूको फरक धारणा भनेको, राज्य/राष्ट्र जन्मनु भन्दा पहिले मानिसले ‘प्रविधि’ जन्मायो, त्यो प्रविधिको कारण निजी धन जन्मियो र त्यही निजी धनका कारणले राज्य/राष्ट्र जन्मियो भन्ने हो ।

यो प्रस्थापनाका केही मूलभूत अर्थ छन् । पहिलो अर्थ, वर्ग (आर्थिक सम्बन्ध) इतिहासको गतिको मूल कारक हुन्छ भन्ने हो । दोस्रो, प्रविधिको विकासले आर्थिक क्रियाकलापमा निर्णायक भूमिका खेल्छ र यसैले इतिहासमा निर्णायक भूमिका निभाउँछ भन्ने पनि हो ।

जब इतिहासलाई यसरी हेरिन्छ तब सामाजिक/आर्थिक संरचनालाई नै इतिहासको निर्णायक बनाएर व्याख्या गर्नु अनिवार्य शर्त बन्दछ । नायकहरूलाई अस्वीकार गर्नु पनि उत्तिकै अनिवार्य शर्त बन्दछ । यद्यपि कम्युनिष्ट भाष्यमा ‘द्वन्द्वात्मक प्रक्रिया’ का नाममा ऐन मौकामा नायकहरूको भूमिकालाई स्वीकार पनि गरिन्छ । तब कम्युनिष्टहरूमा दुई धार देखा पर्दछ ।

एकथरी कम्युनिष्टहरू पुराना राजाहरूलाई ‘उदार सामन्त’, ‘राष्ट्रवादी’ ‘एकीकरणकर्ता’ आदि विशेषण लगाउन थाल्छन् । अर्कोथरी चाहिं मूल कुरा त सामाजिक संरचना हो, राजा त सामन्ती शासक हो, ऊ कहिल्यै राष्ट्रवादी वा राष्ट्रको एकीकरणकर्ता हुनै सक्दैन भनेर तर्क गर्न थाल्छन् वा त्यस्ता राजाहरूलाई खलपात्रका रूपमा चित्रण गर्न थाल्छन् । यसरी कम्युनिष्ट समूह भित्रै विभाजनको भूमि तयार हुन्छ ।

पृथ्वीनारायणको भूमिकाको विषयलाई लिएर कम्युनिष्ट वृत्तमा ठीक यस्तै दुई धार छन् । एमालेले पृथ्वीनारायणलाई एकीकरणकर्ता नै स्वीकार गरिसकेको छ । अन्य केही कम्युनिष्ट समूह पृथ्वीनारायणलाई विस्तारवादी भनिरहेका छन् ।

एमालेले पृथ्वीनारायणलाई एकीकरणकर्ता स्वीकार गर्नुको परिस्थितिजन्य कारण पनि छ । जुन बुर्जुवाहरूको कारणसँग मिल्छ । अर्थात्, एमालेले पनि विगतमा शाहवंशीय राजतन्त्रसँगको सम्झौतामा नै आफ्नो राजनीतिक भविष्य देखेको थियो । त्यसैले उसले पञ्चायतले निर्माण गरेको भाष्यको विपरीत जाने आँट गरेन । आजसम्म उसले यही मान्यतालाई निरन्तरता दिएको छ ।

एमालेसँग मिलेदेखि यता माओवादीहरूमा पनि यो प्रवृत्ति देखापर्न थालेको छ । माओवादीमा देखिएको यो प्रवृत्तिको कारण पनि फरक छैन । तत्काल फुट भए पनि माओवादीलाई एमालेसँगको सम्झौतामै आफ्नो राजनीतिक भविष्य खोज्नुपर्ने ‘बाध्यता’ छ । यही ‘बाध्यता’ ले उसले पृथ्वीनारायणका सम्बन्धमा एमालेको लोलीमा बोली मिलाउन थालेको हो ।

पहिचानवादी धारणालाई पनि यहीं जोड्नु सान्दर्भिक हुनेछ । इतिहास सम्बन्धी पहिचानवादी (राष्ट्रवादी) धारणा ‘वैज्ञानिक रुढिवादी’ धारणा नै हो । यिनीहरू पनि बुर्जुवा र कम्युनिष्टहरूकै पद्धतिले इतिहासलाई हेर्दछन् । फरक यत्ति हो, उनीहरू स्वजातिको पात्रलाई नायकमा र परजातिको पात्रलाई खलनायकका रूपमा उभ्याउँछन् । तब पृथ्वीनारायण गोर्खाली विस्तारवादी शासक हुन् भन्ने भाष्य बन्दछ ।

जैविक धारणा

हाम्रा विद्वानहरू यतिबेला निरर्थक बहसमा अल्झिरहेका छन् । यस्ता बहसले पुर्‍याउने भनेको ‘बहसदेखि बहससम्म’ मात्र हो । इतिहास-विज्ञानमा मोह र पूर्वाग्रह दुवै गलत हुन्छन् । यस्ता चिजसँग इतिहासको कुनै सम्बन्ध हुँदैन । हामी इतिहासबाट पाठ सिक्न सक्छौं । तर हामी इतिहासतर्फ र्फकन सक्दैनौं

इतिहासलाई हेर्ने माथि उल्लिखित धारणा शास्त्रीय विज्ञानमा आधारित छन् । आजको आधुनिक विज्ञानले शास्त्रीय विज्ञानका मूलभूत प्रस्थापनालाई खण्डित गरिसकेको छ । परिणामतः इतिहास-विज्ञान सम्बन्धी माथि उल्लिखित सबैखाले धारणा खण्डित भइसकेका छन् । त्यसैले ती धारणालाई ‘वैज्ञानिक रुढिवादी’ भनियो ।

इतिहास सम्बन्धी आधुनिक विज्ञानमा आधारित धारणाको औपचारिक घोषणा भइसकेको छैन । यद्यपि यहाँ त्यसलाई ‘जैविक धारणा’ भनी व्याख्या गरिएको छ ।

आधुनिक विज्ञानको मान्यता अनुसार ‘व्यक्ति (मनुष्य) पहिले जन्मियो, त्यसपछि समाज (राष्ट्र/राज्य) जन्मियो’ भन्ने कुरा नै गलत हो । व्यक्ति र समाज आपसमा टुक्रा गर्न मिल्ने विषय नै होइनन् । व्यक्ति भन्नु नै सामाजिक प्राणी हो । समाजको अस्तित्व बेगर व्यक्तिको अस्तित्व पनि असम्भव छ । व्यक्तिको अस्तित्व बेगर समाजको अस्तित्व पनि असम्भव छ । त्यसैले व्यक्ति र समाज परिपूरक हुन् । यिनीहरू अलग-थलग पैदा भएनन्, संयुक्त रूपमा पैदा भए ।

त्यस्तै, ‘व्यक्ति पहिले जन्मियो, त्यसपछि प्रविधि जन्मियो’ भन्ने कुरा पनि उत्तिकै गलत हो । व्यक्ति (मनुष्य) र प्रविधि पनि आपसमा टुक्रा गर्न मिल्ने विषय होइन । व्यक्ति भनेको प्राविधिक क्षमता भएको प्राणी पनि हो । चुच्चे ढुंगो चलाउने क्षमता नै किन नहोस्, प्राविधिक क्षमता बेगरको प्राणीलाई व्यक्ति मान्न सकिन्न । अर्थात्, व्यक्ति र प्रविधि पनि संयुक्त नै जन्मिए ।

आधुनिक विज्ञान भन्छ- समाज ‘यन्त्र’ होइन, ‘जीवन’ हो । समाजको कुनै पनि इकाइ ‘मूल तत्व’ हुन सक्दैन, सबै परिपूरक र अन्तरसम्बन्धित छन् । समाजको गति गणितीय हुँदैन, अगणितीय हुन्छ । समाजमा पृष्ठपोषण संयन्त्र पनि हुन्छ । जसका कारण समाज जिउँदो र मौलिक स्वभाव सहित गतिशील भइरहेको हुन्छ । हामीले सबैखाले सामाजिक सम्बन्धलाई अविभाज्य मान्नुपर्दछ । समाजको गतिलाई एकलरेखीय दृष्टिले होइन, गैरएकलरेखीय दृष्टिले हेर्न सक्नुपर्दछ ।

यदि माथि उल्लिखित पक्षलाई ख्याल गरेर दृष्टिकोण निर्माण गर्ने प्रयत्न गर्ने हो भने इतिहासको प्रारूप फरक भएको देखिनेछ । तर आजसम्म हाम्रो चलन यस्तो छैन । हामी त व्यक्ति र राष्ट्र/राज्य, व्यक्ति र प्रविधिबीचको सम्बन्धलाई अलग-थलग पारेर व्याख्या गर्दछौं । नेता र जनतालाई टुक्रा गर्दछौं । सामाजिक संरचना र नेतृत्व, राजनीतिक प्रणाली र नेतृत्वलाई पनि टुक्रा पार्दछौं ।

यो सम्बन्ध भित्र ‘मूल भूमिका’ र ‘सहायक भूमिका’ को खोजी गर्दछौं । हरेक परिघटनालाई कार्य र कारणमा विभाजित गर्दछौं । कार्य-कारण सम्बन्धको गणितीय हिसाब गर्दछौं । एकलरेखीय गणितका आधारमा इतिहास र भविष्यको प्रक्षेपण गर्दछौं ।

विगतका शास्त्रीय चिन्तकहरू हब्स, लक, रुसो, माक्र्स, एंगेल्स सबैले यस्तै पद्धतिले इतिहासको व्याख्या गर्ने प्रयत्न गरे । जसका कारण इतिहासको प्रारूप नै संकीर्ण र एकाङ्गी हुन गयो । विश्वविद्यालयहरूले तिनै कुरालाई ‘अकाट्य विज्ञान’ भन्दै हामीलाई पढाए । परिणामतः हाम्रो दृष्टिकोण पनि यान्त्रिक र विभाजनमुखी हुन गयो ।

आज कोही भन्छन्, इतिहासका निर्माता नायकहरू हुन् । कोही भन्छन्, इतिहासका निर्माता जनता हुन् । यथार्थमा जनता र नायकबीचको सम्बन्धलाई टुक्रा गर्नु नै गलत हो । इतिहासको निर्माणमा समाजका चार अवयव (नायक, जनता/भूगोल, सामाजिक संरचना र राजनीतिक प्रणाली) को अविभाज्य र परिपूरक भूमिका हुन्छ । यी चार तत्वलाई फुटाउने बित्तिकै इतिहास सम्बन्धी बुझाइ संकुचित, यान्त्रिक र एकाङ्गी हुन जान्छ ।

हामी भन्छौं, फलानो राजाले यसो गर्‍यो । फलानो नेताले यसो गर्‍यो । आधुनिक विज्ञान भन्छ- नायकहरूले इतिहासलाई ‘डिस्टर्ब’ सम्म मात्र गर्न सक्छन् । ‘निर्देशित’ गर्न कहिल्यै सक्दैनन् । नायकहरूले त्यस्तो निर्णायक भूमिका खेलेकै हुँदैनन् । उनीहरू एक किसिमका निमित्त पात्र जस्ता मात्र हुन्छन् । नायकसँग उसको भूगोल/जनता, सामाजिक आर्थिक संरचना, राजनीतिक प्रणाली पनि जोडिएर आउँछ । यसमा न त सामाजिक संरचनाको भूमिका प्रधान हुन्छ, न त नायकको भूमिका नै । बरु सबै अवयव परिपूरक भूमिकामा हुन्छन् ।

एकीकरणकर्ता कि विस्तारवादी ?

पृथ्वीनारायणले नेपालको इतिहासलाई ‘डिस्टर्ब’ मात्र गरेका हुन् । उनले इतिहासलाई ‘निर्देशित’ गरेर हाम्रो अगाडि नेपाल देश थपक्क खडा गरिदिएका होइनन् । पृथ्वीनारायण भन्दा अगाडि पनि नेपालको अस्तित्व थियो । आजको नेपाल कार्य-कारण सम्बन्धको हजारौं वर्षको अटुट शृंखलामा बन्दै-भत्कँदै, खुम्चिंदै-तन्कँदै यहाँसम्म आएको छ । नेपाल देशको अस्तित्वको पछाडि माथि उल्लिखित चार तत्वको समग्रताले काम गरेको छ । यो सारा प्रक्रियामा पृथ्वीनारायण निमित्त पात्र मात्र हुन् । उनलाई एकीकरणकर्ता भनेर देवत्वकरण गर्नु जायज हुन्न ।

निश्चय नै पृथ्वीनारायणको शासनकाल र त्यसपछि पनि जनजातीय समाजले धेरै दमन खेप्नु पर्‍यो । तर एउटा पृथ्वीनारायणकै कारण अन्य जनजातीय राज्यहरू ढल्ने वा विघटित हुने अवस्था आएको होइन । यदि यसो भनियो भने उनले इतिहासलाई ‘निर्देशित’ गरेको अर्थ लाग्छ, जुन गलत हुन्छ । यथार्थ त के हो भने, तत्कालीन जनजातीय राज्य धरासायी हुनमा मूलतः ती राज्यहरूका खास अवस्थाले काम गरेको छ । अर्थात्, यसमा पनि माथि उल्लिखित चारवटै अवयवले परिपूरक भूमिका खेलेका छन् । यहाँ पनि पृथ्वीनारायण निमित्त पात्र मात्र हुन् । यस अर्थमा पृथ्वीनारायणलाई विस्तारवादी भनेर दानवीयकरण गर्नु पनि जायज हुन्न ।

इतिहासको व्याख्या गर्दा हामी ‘कसरी’ ? भन्ने प्रश्नमा केन्दि्रत भएर चर्चा गर्न सक्छौं । तर ‘किन’ ? भन्ने प्रश्नमा केन्दि्रत भएर चर्चा गर्नु असम्भव छ । अर्थात्, पृथ्वीनारायण कसरी पैदा भए ? भन्ने विषयमा चर्चा गर्न सकिन्छ । तर किन पैदा भए ? भन्ने विषय अनुत्तरित छ । लोक होस् वा नायक, उसको जन्म ‘किन भयो’ ? भनेर प्रश्न गरियो भने त्यो प्रश्न नै गलत हो । किनकि हरेक व्यक्ति आफैंमा निरपेक्ष हो । निरपेक्ष माथि प्रश्न गर्नु नै निरर्थक हो ।

जब व्यक्ति निरपेक्ष हुन्छ तब समाज (इतिहास) पनि निरपेक्ष नै हुन्छ । यसको सीधा अर्थ इतिहास सम्बन्धी मूलभूत प्रश्न अनुत्तरित नै रहन्छ । अर्थात् किन यस्तो भयो ? किन त्यस्तो भएन ? भनेर प्रश्न गरियो भने त्यो प्रश्न नै निरर्थक हुन्छ । अर्थात्, नेपाल देश किन बन्यो ? जनजातीय राज्यहरू किन धरासायी भए ? यस्ता प्रश्न नै निरर्थक छन् ।

यस्तो प्रश्न गर्नुको सट्टा इतिहासदेखि आजसम्म नेपाल देश एक निरपेक्ष इकाइ हो, यसलाई कुनै नायकले सिर्जना गरेन, बरु यो प्राकृतिक रचना हो भनेर बोध गर्नु नै उपयुक्त हुन्छ । त्यस्तै, जनजातीय राज्यहरू पनि प्राकृतिक रचना नै हुन्, ती कतै विलय भएका छैनन्, बरु नेपाल देशरूपी साझा छाताभित्र आज पनि ती कुनै न कुनै रूपमा बाँचिरहेका छन् भनेर बोध गर्नु नै उपयुक्त हुन्छ ।

तर हाम्रा विद्वानहरू यतिबेला निरर्थक बहसमा अल्झिरहेका छन् । यस्ता बहसले पुर्‍याउने भनेको ‘बहसदेखि बहससम्म’ मात्र हो । इतिहास-विज्ञानमा मोह र पूर्वाग्रह दुवै गलत हुन्छन् । यस्ता चिजसँग इतिहासको कुनै सम्बन्ध हुँदैन । हामी इतिहासबाट पाठ सिक्न सक्छौं । हिजो के के गल्ती भए भनेर समीक्षा गर्न सक्छौं । भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिन के के गर्ने भनेर योजना बनाउन पनि सक्छौं । तर हामी इतिहासतर्फ र्फकन सक्दैनौं । आजको हाम्रो कर्तव्य इतिहासको समीक्षा गर्दै, सुन्दर भविष्यतर्फ लम्कनु हो ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?