+
+
सुदूरपश्चिममा कोरोना :

‘संक्रमणको तीव्रता हेर्दा माघको तेस्रो सातासम्म अर्कै स्थिति आउन सक्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १३:३९

४ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएको छ । पुस अन्तिम सातादेखि दैनिक बढीमा एकसय जनामा संक्रमण पुष्टि भइरहेकोमा पछिल्लो समय भने त्यो संख्या वृद्धि भएर दुई सयदेखि साढे तीन सय जनासम्म पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार सोमबार मात्र थप ३४५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १५४ जना भारतबाट फर्किएका हुन् भने बाँकी विभिन्न जिल्लाका १९१ जना छन् । संक्रमणदर हेर्दा कोरोना समुदायस्तरमा फैलिसकेको देखिन्छ ।

सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निराजनदत्त शर्माका भनाइमा पनि सुदूरपश्चिममा कोरोना सुमदाय स्तरमा फैलिसकेको छ । अहिले यहाँ हरेक पाँच जनाको परीक्षण गर्दा एक जनामा संक्रमण देखिरहेको छ । स्वास्थ्य सुरक्षाका मापदण्डको पालन नगरेमा यो संख्या क्रमिक रुपमा वृद्धिहुदै जाने छ र माघको तेस्रो सातासम्म अर्कै स्थिति देखा पर्ने डाक्टर शर्मा बताउँछन् । डाक्टर शर्माको भनाइ उनकै शब्दमा :

अहिले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । हरेक पाँच जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भइरहेको अवस्था छ । तर पहिलेको जस्तो कडा खालको संक्रमण देखिएको स्थिति भने छैन । लक्षण पनि फरक छन् । पहिले स्वाद, गन्ध हराउने, सिंगान नबग्ने, सुक्खा खोकी लाग्ने, ज्वरो आउने लक्षण देखिन्थे भने अहिले ठीक उल्टो सिंगान बग्ने, खकार आउने, शरीर दुःख्ने समस्या बढी देखिएको छ । ज्वरो आउनैपर्छ भन्ने पछि छैन । ज्वरो नआएका तर यस्ता लक्षण भएका व्यक्तिमा पनि संक्रमण देखिँदैछ । एक जनालाई संक्रमण भए परिवारका प्रायः सबै सदस्यमा सरिरहेको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनको भनाइअनुसारका लक्षण मात्र नभएर व्यक्तिपिच्छे नै फरक–फरक लक्षण देखिरहेकाले कोरोना हो हैन भन्न गाह्रो छ । त्यसैले हामीले अस्पतालमा आउने सबैलाई कोरोना हो की ? भन्ने हिसाबले चेकजाँच गरिरहेका छौँ । संक्रमितको संख्यामा वृद्धि हुन थालेको केही दिन मात्र भएको छ । माघको दोस्रो वा तेस्रो हप्ता अवस्था अहिले भन्दा अझ फरक हुन्छ की जस्तो लाग्छ । बिरामी एकदमै धेरै आउनुभएको छ । कतिपय मान्छे मौसमी रुघाखोकी भनेर स्वास्थ्य परीक्षण गराउन आइरहनुभएको छ । समुदाय स्तरमा कोरोना कुन रुपमा फैलिएको छ ? भन्ने कुरा दुई–तीन हप्तापछि मात्र थाहा हुन्छ ।

अहिलेसम्म संक्रमितमा गम्भीर खालको स्वास्थ्य समस्या भएको पाइँदैन् । डेल्टा भेरियन्ट जस्तो आईसीयूमा राख्नुपर्ने, अक्सिजन दिर्नैपर्ने बिरामीहरु छैनन् । भए पनि एकदम न्यून मात्रमा हुनुहुन्छ । तर असाध्यै जिउ दुःख्ने, सिंगान बग्याबग्यै गर्ने, हाँछिउ आउने, निरन्तर खोकी लाग्ने, झाडापखाला लागेर आउने बिरामीको चाप भने बढ्दो क्रममा छ । गम्भीर खालका लक्षण कम छन् । माघको तेस्रो हप्तातिर अवस्था कतिको जटिल छ ? भित्रभित्र कसरी फैलिएको छ भन्ने कुरा थाहा हुन्छ की भन्ने मेरो बुझाइ छ । हामीकहाँ अहिले बढी जसो शहरी क्षेत्रका बिरामी आइरहनुभएको छ । एउटै परिवारका सबै जना उस्तै खालका समस्या लिएर आइराखेका कारणले संक्रमण समुदाय स्तरमै फैलिसकेको अनुमान गर्न सकिन्छ । तर धेरै टाढाबाट अझै आइरहेको अवस्था छैन ।

संक्रमण तीव्र रुपमा फैलिरहेका कारण सबैले स्वास्थ्य सावधानी अपनाउन जरुरी भइसकेको छ । खासमा पहिलेको जस्तो लक्षण नभएकाले अझ बढी गम्भीर बन्नुपर्ने अवस्था छ । सुक्खा खोकी लागेमा मात्र कोरोना हुन्छ भन्ने सोचाइ हटाउनुुपर्छ । मैले माथि भनेका लक्षण देखिएमा तत्काल परीक्षण गराएर सुरक्षित भएर बसौँ । ज्वरो नआएमा पनि कोरोना संक्रमण भएको हुनसक्छ भन्ने कुरा जान्न जरुरी भइसकेको छ । स्थानीय स्तरमा संक्रमण फैलिसकेकाले विदेशबाट फर्किएकै व्यक्तिमा मात्र संक्रमण हुन्छ भन्ने भ्रममा पनि नपरौँ । त्यसैले अनिवार्य मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम राख्ने र लक्षण देखिए समयमै परीक्षण गराउनुुपर्छ ।

राम्रो पक्ष के छ भने, अहिले अस्पताल भर्ना हुने बिरामीको संख्या न्यून छ । घरमै बसेर औषधी खाएर सन्चो भइरहेको पनि छ । तर डेल्टा भेरियन्टमा जस्तो संक्रमणदर तीव्र भएर गम्भीर बिरामीको संख्या पनि वृद्धिभए अस्पतालहरुले थेग्न नसक्ने अवस्था पनि सिर्जना हुन सक्छ । आईसीयू, भेन्टिलेटर र अक्सिजन चाहिने संक्रमित आएमा धान्न गाह्रो हुुने अवस्था आउन सक्छ ।

(अनलाइनखबरकर्मी जनक विष्टसँग गरेको कुराकानीमा आधारित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?