+
+
कर्णालीमा कोरोना :

सबै सीमा नाका खुल्लै, परीक्षण ल्‍याबमा ताला

यज्ञ खत्री यज्ञ खत्री
२०७८ माघ ६ गते १५:४५

६ माघ, सुर्खेत । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि नेपालगञ्ज नाका हुँदै घर फर्कने कर्णालीबासीको संख्या बढ्दो छ । कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार मानिने बाँकेको जमुनाहा नाकाबाट दैनिक एक हजार भन्दा बढी नागरिक नेपाल फर्किन थालेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

‘नाकामा खटिएका स्वास्थ्यकर्मी पनि संक्रमित हुनुहुन्छ, भारतबाट फर्केकाहरुमा दैनिक संक्रमणको दर बढ्दो छ,’ बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वली भने ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले पनि देखाउँछ, कोरोना संक्रमण दर तीव्र रुपमा फैलँदैछ । यसैलाई मध्यनजर गर्दै सरकाले माग १५ गतेसम्म विद्यालय बन्द गर्ने र सार्वजनिक ठाउँमा जाँदा कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णयसमेत गरेको छ ।

तर कर्णाली प्रदेशमा भने कोरोना महामारीको सन्त्रास शून्य छ । सीमा नाका खुल्ला छन् । कोरोना परीक्षण ल्याबमा ताला लागेको छ । सीमा नाकाबाट संक्रमितहरु सिधै गाउँ पस्न थालेका छन् । सरकारी तयारीमा बेवास्ता गरिएको देखिन्छ ।

कोरोनाको तेस्रो लहर शुरु भैसकेको छ, कर्णालीमा पूर्वतयारी कस्तो छ ? भन्ने अनलाइनखबरको प्रश्नमा प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्का भन्छन, ‘ दोस्रो लहर कम भएपछि बन्द गरिएका संरचनाहरु बनाउँछौं । नाकामा भेटिएका संक्रमितहरु सम्बन्धित पालिकाको समन्वयमा गाउँ पठाउन थालेका छौं’ उनले भने ‘अहिलेसम्म खासै तयारी छैन ।अब जुट्छौं ।’

सीमा नाका खुल्लै, परीक्षण ल्याबमा ताला

कर्णाली प्रदेश भित्रिने तीनवटा सीमा नाका छन् । सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामुभएर दैनिक हजारौको संख्यामा कालपहाड (भारत) गएका कर्णालीबासीहरु घर फर्किन थालेका छन् । तर ती तीनवटै नाका खुल्ला छन् ।

नाका हुँदै आएका मानिसलाई होल्ड गरेर राख्न ‘होल्डिङ सेन्टर’ त परको कुरा सामान्य ‘हेल्थ डेस्क’को पनि व्यवस्था गरिएको छैन । दोस्रो लहर कम भएसँगै बन्द गरिएका ‘हेल्थ डेस्क’हरु सञ्चालनमा आउँन सकेका छैनन् । सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको अभिलेख समेत प्रदेश सरकारसँग छैन।

अवको केही दिनभित्रै तीनवटै नाकाका हेल्थ डेस्क सहित स्वास्थ्यकर्मीको टिम पठाउने तयारी भै रहेको निर्देशक खड्का बताउछन् । ‘जामुमा एउटा टिम गइसकेको छ, अन्यमा पनि अवको केही दिनमै पठाउछौं । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँछौं ।’

दोस्रो लहरका बेला सीमा नाकामा सावधानी नअपनाउँदा कर्णालीले ठूलो क्षति व्यहोरेको विगत सम्झिन्छन् स्थानिय यूवा अनिल ढकाल । पहिलो र दोस्रो लहर उत्कर्षमा पुगेका बेला नाकामा नागरिको उद्धारमा खएिका ढकाल भन्छन्, ‘सरकारले विगतको गल्तिबाट पाठ सिक्नुपर्छ, तुरुन्तै नाकामा कडाइ गरिनु पर्छ । त्यसो नगरिए विगत दोहोरिन्छ ।’

भारतमा ओमिक्रोनको फैलावट र सीमा नाकामा संक्रमणदर बढ्दै गएकाले कर्णालीमा अवको केहीहप्ता भित्रै कोरोना संक्रमितको संख्या उच्च हुने आंकलन गर्न सकिने डा. नवराज केसी बताउँछन् ।

‘संक्रमण रोक्न अहिले नै पूर्वतयारी नगर्ने हो भन्ने ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । सीमा नाकामै परीक्षण गर्ने र संक्रमितलाई ‘होल्डिङ सेन्टर’मा राखेर मात्रै घर पठाउने व्यवस्था तत्काल गर्नुपर्ने देखिन्छ’ उनले भने ।

प्रदेशमा चारवटा पीसीआर परीक्षण परीक्षण प्रयोगशाला छन् । प्रदेश अस्पताल÷पशुन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पीसीआर प्रयोगशाला जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशाला कोरोनाको दोस्रो लहरका बेला सञ्चालनमा आएका प्रयोगशाला हुन् । तर यी प्रयोगशालामा अहिले ताला लागेको छ ।

परीक्षण नगर्दा कर्णालीमा कोरोना संक्रमणको दर कस्तो छ ? सरकारलाई थाहा छैन । तर नाकाबाट दैनिक हजारौंको संख्यामा भारतबाट कर्णालीबासी घर फर्किरहेका छन् । प्रदेश सरकारसँग अहिलेसम्म कुनै लेखाजोखा छैन ।

विभागीय मन्त्री नहुँदा नीतिगत निर्णय हुन सकेन

यता , कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको सपथ खाएको ७५ दिन पुग्दा पनि अझै मन्त्रीपरिषदले पूर्णता पाउँन सकेको छैन् । मुख्यमन्त्रीसहित आठ वटा मन्त्रालय रहेको प्रदेशमा दुई जना मात्र मन्त्री छन् । पाँच वटा मन्त्रालय मुख्यमन्त्री शाहीले नै सम्हालेका छन् ।

प्रदेशको स्वास्थ्य, शिक्षा हेर्ने सामाजिक विकास मन्त्रालय पनि मन्त्रीबिहीन छ । विभागीय मन्त्री नहुँदा कोभिड नियन्त्रण लगाएका महत्वपूर्ण नीतिगत निर्णय गर्न नसकिएको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताए ।

‘मन्त्रालय मन्त्रीविहीन भएपछि कतिपय नीतिगत र दैनिक प्रशासनिक काममा बाधा हुने गरेको छ । अहिले फेरि कोभिड संक्रमणको जोखिम बढेको छ । मन्त्री नै नहुँदा स्वास्थ्य निकायलाई महामारीविरुद्ध कसरी परिचालन गर्ने भन्ने नै अन्योल छ’ ती कर्मचारीले भने ।

प्रदेशको स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाजस्ता क्षेत्र हेर्ने उक्त मन्त्रालय महिनौंदेखि मन्त्रीविहीन भएपछि त्यसको असर सबैतिर देखिन थालेको उनी बताउँछन् ।
सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शाही अहिलेसम्म मन्त्रालयमा पाइला टेकेका छैनन् ।

‘आवश्यक निर्देशन त परको कुरा अहिलेसम्म मुख्यमन्त्री ज्यू मन्त्रालयमा पाइला टेक्नु भएको छैन, केही महत्वपूर्ण काम लिएर उहाँलाई भेटन जान्छौं तर उहासँग समय मिल्दैन । खालिहात फर्किनु पर्छ’ उनले भने ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?