+
+

चार युवाको जोशले जन्मिएको खल्ती

आज भन्दा ठ्याक्कै ५ वर्ष पहिले चार जना युवाहरुको सक्रियतामा सञ्चालनमा आएको यो खल्ती डिजिटल वालेटले अहिले धेरैलाई डिजिटल कारोबारमा जोडेको छ । इञ्जिनियरिङ विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरुले शुरु गरेको खल्ती अहिले देशभर फैलिएको छ ।

रोयल आचार्य रोयल आचार्य
२०७८ माघ १२ गते १३:३०
खल्ती वालेटका संस्थापकहरु मनिष मोदी, अरविन शाह, ध्रुब अधिकारी र अमित अग्रवाल

१२ माघ, काठमाडौं । युवाले चाहे के हुँदैन ? यही कारणले होला अहिले राज्यका अंगमा पनि युवा सहभागिताको बहस हुन्छ । सरकारले बनाएको युवा नीतिमा नै भनिएको छ, ‘युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् ।’ यस्तै युवा शक्तिको अथक मिहिनेतले आर्थिक लेनदेन गर्दा नगद बोक्नै नपर्ने सहज अवस्था सिर्जना भएको छ ।

मोबाइल रिचार्ज गर्ने, किनमेल गर्ने, राजश्व वा महसुल बुझाउने लगायतका कुरा क्षणभरमै मोबाइलबाटै गर्न सकिन्छ । अर्थात् पछिल्लो समय गोजीमा नगद बोकिरहनु पर्दैन । यस्तै सुविधा दिने बिभिन्न डिजिटल वालेटमध्ये एक हो– खल्ती ।

आज भन्दा ठ्याक्कै ५ वर्ष पहिले चार जना युवाहरुको सक्रियतामा सञ्चालनमा आएको यो खल्ती डिजिटल वालेटले अहिले धेरैलाई डिजिटल कारोबारमा जोडेको छ । इञ्जिनियरिङ विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरुले शुरु गरेको खल्ती अहिले देशभर फैलिएको छ ।

कसरी जन्मियो खल्ती ?

खल्ती वालेटको जन्मबारे जान्न भने केही समय अघिको घटनामा पुग्नु पर्छ । खल्ती वालेटका संस्थापकहरु अमित अग्रवाल (वीरगञ्ज) ह्वाइट हाउसमा अध्ययनरत थिए भने अरविन शाह (बारा), धु्रव अधिकारी (पोखरा) र मनिष मोदी (जनकपुर) पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिए । अध्ययनकै क्रममा उनीहरु चार जना मध्ये पुल्चोकमा अध्ययनरत तीन जना इन्टर्नसीप गर्नका लागि नेपाल टेलिकममा पुगे ।

उनीहरुले इन्टर्नसीप गर्ने अवसर त पाए, सँगै एउटा चुनौतीपूर्ण काम पनि । ‘एक हप्तामा सक्नुपर्ने गरी निकै गाह्रो काम त्यहाँको एक जना कर्मचारीले दिनु भएको रहेछ’ संस्थापक अग्रवाल भन्छन्, ‘तर त्यो काम एक हप्तामा साथीहरुले सहजै पूरा गरे ।’ त्यसपछि एनटीसीका ती कर्मचारी खुसी भए । त्यसपछि उनले ८० हजार रुपैयाँमा एउटा सफ्टवेयरको काम दिए ।

काम पूरा गरेर भुक्तनी लिनु पर्ने बेलामा ती कर्मचारी एक्कासी सम्पर्कमा आएनन् । ‘त्यसपछि साथीहरु कार्यालयमै पुगे,’ अमित भन्छन्, ‘पछि थाहा भयो उहाँ त बित्नु भएछ ।’ पछि उनीहरुले आफैं केही गर्नुपर्छ भन्ने सोचे । अनि बाहिरको जिम्मा लिएर काम गर्ने होइन आफैं ‘केही गर्ने’ भनेर लागे । सन् २००७ मा तीन जना मिलेर जानकी टेक्नोलोजी नामक कम्पनी दर्ता गरे ।

अमित यो टिममा सन् २००९ मा मात्रै जोडिए । त्यसअघि अमित सुविसु इन्टरनेट कम्पनीमा कार्यरत थिए । व्यवसाय अघि बढाउने क्रममा उनीहरुले सन् २०१० मा ‘स्पारो एसएमएस’ सेवा शुरु गरे । त्यतिबेला एसएमएस सेवा धेरै चल्तीमा थियो । सूचनाका लागि धेरैले एसएमएस सेवा प्रयोग गर्थे ।

अहिलेको जस्तो इन्टरनेट सुविधा पनि गाउँगाउँमा पुगिसकेको थिएन । एसएमएस सम्बन्धी सेवा उनीहरुले सरकारी तथा निजी क्षेत्रहरुसँग सम्झौता गरेर लिए । वैदेशिक रोजगारीमा जानेहरुले आफ्नो भिसा लागे/नलागेको जानकारी एसएमएस पठाएर लिन्थे ।

एलएलसीको नतिजा प्रकाशन हुँदा हेर्ने पहिलो माध्यम नै एसएमएस थियो । कालिमाटीको तरकारीको भाउ बुझ्न पनि एसएमएस पठाउन सकिन्थ्यो । कतिपय प्रेमी प्रेमिकाले प्रेममय सन्देश पनि समेत एसएमएसबाट पाउँथे ।

‘माया लेखेर पठायो भने प्रेमिल शब्दको सन्देश आउने बनाएका थियौं, धेरैले यसको प्रयोग गर्थे’ अमित सम्झन्छन्, ‘हामीले एक्सेस टू इन्फरमेशनको रुपमा हामीले धेरै गर्यौं त्यतिबेला एसमएस निकै लोकप्रिय प्लाटफर्म बन्यो ।’

प्रतिसेकेण्ड ३ सय वटासम्म एसएमएसको सेवा दिन पाएको उनी सुनाउँछन् । एसएमएस सेवा दिए वापत केही शुल्क प्राप्त हुन्थ्यो । यसरी जति धेरै एसएमएस, त्यतिधेरै आम्दानी बनेको थियो ।

त्यसबेला अन्य कम्पनीहरुले यो सेवा दिन्थे । तर एसएमएसमै फोकस हुने कम्पनीहरु पनि थिएनन् । पछि कान्तिपुरले निःशुल्क सुविधा दिने भन्दै एसएमएस सेवा शुरु गर्दा भने आफूहरु आत्तिएको अमित सुनाउँछन् । तर पछि त्यसरी आत्तिनु परेन । दिनरात मिहिनेत गरे । उनीहरु नै बजारमा सफल भए ।

अहिले चर्चामा रहेको डिजिटल वालेट खल्ती सञ्चालनमा आउनु अघि पनि आफूहरुले धेरै मिहिनेत गर्नु परेको उनी सुनाउँछन् । ‘हामीसँग धेरै पैसा थिएन, हामीसँग थियो जोश, जाँगर र ऊर्जा,’ उनी भन्छन्., ‘हामी मिहिनेत गर्न सक्ने थियौँ, हामीले पैसा जम्मा गरेर गर्छौं भनेको भए सायद यसरी सफल हुँदैन पनि थियौं होला ।’

यसरी जुराइयो नाम

चार जनाबीच वालेट चलाउने सल्लाह भएपछि उनीहरुले के नाम राख्ने भनेर सोचे । नेपालीको मुखमा बस्ने कुनै नाम चाहिन्छ भनेर उनीहरुले धेरै खोजे । ‘हामीले नाम छान्न पनि निकै सोच्नु पर्यो,’ उनी भन्छन्, ‘सबैको मुखमा झुण्डियोस् र यो सबैले डिजिटल वालेट भन्ने कुरा नामबाटै बुझ्न सकुन् भनेर नाम खोज्यौं ।’ उनी उनीहरुले ‘पैसाको नयाँ ठेगाना’ स्लोगन राखेर सुरु गरे ‘खल्ती’ वालेट ।

‘हाम्रो चाहना भनेको बैंकहरुसँग सहकार्य गरेर गाउँगाउँको वित्तीय सहयात्री बन्ने योजना थियो, यसका लागि एउटा इनोभेसन चाहिन्थ्यो’ अमित भन्छन्, ‘हाम्रो उद्देश्य पूरा गर्न एक्लै कुद्ने होइन, बैंकसँग सहकार्य गर्नुपर्छ भनेर सोचेका थियौ ।’ उनीहरुले खल्तीलाई देशभर फैलाउन व्यवसाय विस्तारमा ध्यान दिए । उनीहरुले ब्राण्डिङ समेत गर्न थाले ।

२६ जनवरी २०१७ मा काठमाडौंमा क्यानइन्फोटेक (सूचना प्रविधि मेला) हुँदै थियो । उनीहरुले क्यान इन्फोटेकको टिकटको पछाडि खल्तीको विज्ञापन राख्न सम्झौता गरे । मेला शुरु हुन २० दिनमात्रै बाँकी छँदासम्म पनि उनीहरुले खल्ती एपको पूरा तयारी गरिसकेका थिएनन् । ‘विज्ञापन बुक भइसकेको थियो तर हामीले काम सकेका थिएनौं, हामीसँग थोरैमात्रै समय थियो’ अमित भन्छन्, ‘हामीले त्यसबेला निकै प्रेसर फिल गर्यौं तर आत्तिएनौं ।’

अमितका अनुसार उनीहरु १५ दिन घर पनि नगई कार्यालयमै काममा डटिरहे । पुल्चोक नजिकै उनीहरुको कार्यालय थियो । नजिकैको एक होटलमा दुई वटा कोठा भाडामा लिए । बिहानको खाजा र खाना उनीहरुले कार्यालयमै खाएर काम गरे । बेलुकाको खाना भने थकालीमा खान्थे । राति अबेर होटलमा गएर सुत्थे । १५ दिन अनवरत काम गरेर उनीहरुले खल्ती एपको काम सकाए ।

त्यसपछि पनि उनीहरुलाई व्यवसाय विस्तारका लागि सहज भने थिएन । उनीहरुको मुख्य चुनौती भनेको प्रतिष्पर्धा थियो । पहिले सञ्चालनमा रहेका वालेटहरु बैंकहरुसँग आवद्ध भइसकेका थिए । २८ वटा वाणिज्य बैंकमात्रै सञ्चालनमा थिए । त्यसबाहेक विकास बैंक तथा फाइनान्स कम्पनीहरु समेत वालेटमा लिंक गराउनु पर्ने थियो । एउटा बैंक वालेटमा लिंक गराउन ६ महिनासम्म लाग्यो । बैंकमा लिंक गराउनु खल्तीका लागि एउटा चुनौतिपूर्ण अवस्था बन्यो । उनीहरुले अनवरत काममा लागिरहे ।

एक पछि अर्को गर्दै अहिले अधिंकाश बैंकहरु खल्तीमा लिंक भएका छन् । सर्वसाधारणको आकर्षण बढ्यो । छोटो समयमा नै खल्ती एप डाउनेलोड गर्नेहरुको संख्या पनि ह्वात्तै बढ्यो । मेहनत गरे सफलता पक्कै मिल्छ भन्ने भनाइ खहिले खल्ती एपले पाएको सफलताले पुष्टि हुन्छ ।

गुगल प्लेले खल्तीलाई अवार्ड नै दियो । अझै पनि केही नयाँ गर्ने प्रयास गरिरहेको संस्थापक अवाल सुनाउँछन् । आज (१२ माघ २०७८) मा खल्तीले पाँचौ वार्षिकोत्सव मनाउँदैछ । पाँचौ वर्षसम्मको यात्रालाई ग्राहकसम्म पुग्न गरेका प्रयासहरुलाई अझ परिस्कृत गर्दै आगामी दिनमा डिजिटल लकारोबारमा केही इनोभेसन गर्ने खल्तीको योजना छ ।

खल्तीले अहिले ‘खल्तीमा १०० जीबी’ नामक अफर ल्याएको छ । यसअन्तर्गत खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकका १४ हजारभन्दा धेरै हटस्पटहरुमा १०० जीबी फ्रि वाइफाइ ३० दिनको लागि प्रयोग गर्न सक्ने अग्रवाल बताउँछन् । उनका अनुसार १०० जीबी फ्री वाइफाइ एक्टिभेट गर्नुअघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ । रजिस्टर गरेपश्चात् खल्ती एपको ‘पपुलर सर्भिसेस’ मा रहेको ‘खल्ती मा १०० जीबी’ आइकनमा गई ‘गेट १०० जीबी फ्रि वाइफाइ’ मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाइफाइ प्रयोग गर्न सकिनेछ ।

प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्रि वाइफाइमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ। यो अफर २७ पुसदेखि २६ माघ २०७८ सम्म लागू हुनेछ । यस सुविधामार्फत नेपालमा उपलब्ध भएको १४ हजारभन्दा बढी ठाउँबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ ।

अहिले सामान्यतया रिचार्ज गर्न, विल तिर्न, आन्तरिक हवाई यात्राको टिकट काट्न जस्ता कामहरुमात्रै वालेटबाट हुने गरेका छन् । यसलाई विस्तार गरेर हरेक कारोबार डिजिटल बनाउने खल्तीको योजना छ ।

खल्तीका संस्थापक अमित अग्रवाल र सीईओ विनय खड्का

कोरोना भाइरस संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउको केही समय खल्तीको कारोबार घट्यो । मोवाइल डाटा लिएर इन्टरनेट चलाउनेहरु घटे । घरमै बस्ने भएकाले सबैले वाईफाई चलाए । विजुलीको विल पनि अधिकांश लकडाउनको शुरुवाती केही महिना तिरेनन् । यसले कारोबार ह्वत्तै घट्यो । तर लामो समय (लङ्गट्रम) का लागि भने राम्रै फाइदा गरेको संस्थापक अग्रवाल बताउँछन् ।

‘कोभिडको शुरुवाती चरणमा कारोबार निकै घटे पनि लङ्गटङमका लागि धेरैराम्रो फाइदा गर्यो, कोभिड पछि डिजिटल कारोबारप्रतिको विश्वास बढेको छ’ अग्रवाल सुनाउँछन् । अहिले गाउँगाउँमा इन्टरनेटको पहुँच पुगेको छ । हरेका हातहातमा स्मार्ट फोन छन् । तर गाउँगाउँमा डिजिटल कारोबारका फाइदाबारे भने बुझाउन बाँकी नै छ ।

नगद कारोबारलाई जतिविश्वास गर्छन डिजिटल कारोबारलाई अहिले पनि गाउँमा त्यतिधेरै विस्वास गर्दैनन् । सहरमै मान्छेले पनि कुल खर्चको १० प्रतिशत पनि डिजिटल माध्यमबाट गर्दैनन् । राष्ट्र बैंकको एक अध्ययन अनुसार अहिले ६ प्रतिशतमात्रै डिजिटाइज भएको छ ।

मोवाइल रिचार्ज, हवाई टिकट जस्ता कामका लागि डिजिटल कारोबार शुरु भए पनि स्वास्थ्य, शिक्षा, यातायात क्षेत्रहरुमा डिजिटल कारोबार शुरु हुन बाँकी नै छ । यहाँ नगद कारोबारमै जोड गरिन्छ ।

अहिले वागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको वार्षिक कर खल्तीबाटै भुक्तानी गर्नसकिने व्यवस्था मिलाइएको छ । यसले यातायात कायाृलय गएर दिनभरी लाइन लाग्नु पर्ने वा दलालमार्फत घुस खुवाएर ब्लूबुक नविकरण गर्नुपर्ने बाध्यता हटाइदिएको छ । तर पनि धेरै सर्वसाधारणले नबुझेर कार्यालयसम्मै पुग्ने गरेको अग्रवाल सुनाउछन् ।

अत्यावश्यक क्षेत्र भनेर राज्यले नै परिभाषित गरेको बीमा क्षेत्र नै डिजिटाइज हुन सकेको छैन । बीमाको पोलिसी तिर्न होस् वा पोलिसी ऋणको किस्ता तिर्न होस् सर्वसाधारणहरु चेक वा नगद बोकेर कम्पनीको कार्यालयसम्म पुग्नु पर्ने बाध्यता छ । डिजिटल कारोबारलाई बढाउन अहिले नेपाल राष्ट्र बैंकले पनि निकै चासो दिएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैले गल्लीका चिया पसल, ठेला, रिक्सा लगायतका पसलहरुमा समेत क्यूआर पेमेन्टको उद्घाटन गरेका छन् । डिजिटल कारोबार बढाउन सरकारी तबरबाट पनि सक्रियता देखाउनु पर्ने आवश्यकता छ ।

‘मेरै आफन्तहरु पनि विजुलीको विल तिर्न प्राधिकरणको कार्यालय पुग्नु हुन्छ, १० बजे भन्दा अगाडि विजुली विल तिर्न मिल्दैन सरकराले त्यो सिस्टम पनि बनाएको छैन’ अग्रवाल भन्छन्, ‘तर यो कमजोरी वालेटको हो कि भन्ने सर्वसाधारणले सोच्नु हुन्छ, डिजिटाइज बनाउने हो भने सरकारले पनि अलि ध्यान दिनुपर्छ भन्ने लाग्छ ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?