+
+

वीरगञ्ज भन्सारमा ७६ प्रतिशतले बढ्यो वैदेशिक व्यापार

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १४:३७

१३ माघ, वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा चार खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वीरगञ्ज नाकाबाट चार खर्ब चार अर्ब ७८ करोड एक लाख ३० हजार रुपैयाँको वैदेशिक व्यापार भएको हो ।

गत आर्थिक वर्ष ०७७/७८ को ६ महिनामा भन्दा ७६ प्रतिशत बढी वैदेशिक व्यापार भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष दुई खर्ब २९ अर्ब ९२ करोड ४४ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो । कोरोना महामारीले गर्दा वैदेशिक व्यापार खुम्चिएको भन्सार कार्यालयका अधिकारीहरू बताउँछन् ।

निर्यातभन्दा ६ गुणा बढी आयात

वैदेशिक व्यापारको मुख्य हिस्सा आयतले लिने गरेको छ । निर्यातभन्दा ६ गुणा बढी आयात हुने गरेको छ । चालु आवको ६ महिनामा तीन खर्ब ४८ अर्ब ९२ करोड ५० लाख १८ हजार रुपैयाँ बराबरको आयात हुँदा ५५ अर्ब ६८ करोड ५१ लाख १२ हजार रुपैयाँ बराबरको निर्यात भएको भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षको ६ महिनामा भन्दा आयात ६६ प्रतिशतले बढेको छ । गत वर्ष दुई खर्ब १० अर्ब ३८ करोड नौ लाख ४७ हजार रुपैयाँ बराबरको मालसामान आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै मुख्य रूपमा इन्धन, सवारीका साधन र औद्योगिक कच्चा पादर्थको आयात हुने गरेको छ ।

गत आर्थिक वर्षको ६ महिनामा भन्दा निर्यात १८६ प्रतिशतले बढेको छ । गत आवको साउनदेखि पुससम्म १९ अर्ब ५३ करोड ९० लाख ९७ हजार रुपैयाँको मालबस्तु निकासी भएको भन्सार कार्यालयले जनाएको छ । कार्यालय हुँदै प्रशोधित तेल, कपडा, जुस, गलैंचालगायत मालवस्तु निकासी हुन्छन् ।

६ महिनामा वीरगञ्ज भन्सार कार्यालयमार्फत् भएको वैदेशिक व्यापारका क्रममा झण्डै ३ खर्बको व्यापारघाटा देखिएको छ । कार्यालयमार्फत् भएको वैदेशिक कारोबारमा दुई खर्ब ९३ अर्ब पाँच करोड ९९ लाख ६ हजार रुपैयाँ बराबरको व्यापारघाटा भएको छ ।

गत आर्थिक वर्षको ६ महिनामा भन्दा व्यापारघाटा ५४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष एक खर्ब ९० अब ८५.४ करोड १८ लाख ५० हजार रुपैयाँको व्यापार घाटा देखिएको थियो ।

आयात हुने पाँच मुख्य मालबस्तुहरू

वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थ, सवारीसाधन र औद्योगिक कच्चा पदार्थ मुख्यरुपमा आयात हुने गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज भन्सार हुँदै आयातित वस्तुमध्ये मुख्य २० मालबस्तुमा यिनैको वर्चश्व देखिन्छ ।

राजश्वमा योगदान बढी दिने मालबस्तु पनि तिनै छन् । भन्सारको कूल राजश्वमा पेट्रोलियम पदार्थ, सवारीका साधन र औद्योगिक कच्चा पदार्थले ६८ प्रतिशत योगदान दिएको छ । भन्सार राजश्वमा डिजेलको २०.६२, पेट्रोलको १०.५६, एलपी ग्याँसको २.२८, जीप, कार भ्यानहरूको १२.०२, मोटरसाइकल ३.४४ प्रतिशत योगदान छ ।

भन्सार कार्यालय हुँदै भित्रिएका मुख्य पाँच वस्तुमा क्रमशः डिजेल, जीप/कार भ्यान, पेट्रोल, मोटरसाइकल र एलपी ग्याँस छन् । ६ महिनामा ४४ अर्ब ४१ करोड, ८१ लाख ३५ हजार रुपैयाँबराबरको ६ लाख १४ हजार किलोलिटर डिजेल भित्रिएको छ । यो गत आव ०७७/७८ को ६ महिनाको तुलनामा २२ प्रतिशत बढी हो । राजश्वमा योगदान पनि ३१ प्रतिशतले बढेको छ । २१ अर्ब ८३ करोड ४० लाख ५३ हजार राजश्व संकलन गरेको छ ।

जीप/कार र भ्यानको आयात दोस्रो स्थानमा छ । ४३ प्रतिशत आयत बढ्दा ५५ प्रतिशतले राजश्वमा योगदान बढेको छ । ६ महिनामा चार अर्ब ९० करोड सात लाख ३३ हजार रुपैयाँको चार हजार २९ ओटा जीप/कार र भ्यान भित्रिएको छ । जसबाट १२ अर्ब ७२ करोड ७८ लाख ५२ हजार राजश्व संकलन भएको छ ।

तेस्रो स्थानमा पेट्रोल आयात भएको छ । १६ अर्ब १२ करोड नौ लाख १६ हजार रुपैयाँको दुई लाख पाँच हजार २५२ किलोलिटर आयात भएको देखिन्छ । गत आर्थिक वर्षभन्दा २५ प्रतिशतले आयात बढ्दा राजश्वमा ५५ प्रतिशतले योगदान बढेको छ ।

मुख्य आयात हुने मालबस्तुको सूचीमा चौथो स्थानमा रहेको मोटरसाइकलको आयात भने घटेको छ । मोटरसाइकलको आयातमा ३२ प्रतिशतले कमी आएको हो । आयातमा कमी आउँदा राजश्वमा २५ प्रतिशतले योगदान घटेको छ । कार्यालयको तथ्याङ्क अनुसार ६ महिनामा दुई अर्ब ६५ करोड ५१ लाख ६८ हजार मुल्य बराबरको २९ हजार ६९ वटा मोटरसाइकल आयात भएका छन् । जसबाट कार्यालयले तीन अर्ब ६४ करोड ५२ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । वीरगञ्ज नाकाबाट मोटरसाइकल ल्याउने आयातकर्ता भैरहवा भन्सारतिर सरेको र स्वदेशमै मोटरसाइकल एसेम्बल हुन थालेकोले आयात घटेको हुन सक्ने भन्सार अधिकारीहरूको अनुमान छ ।

सरकारले विद्युत् खपत बढाएर एलपी ग्यासको आयात घटाउने बताए पनि त्यसले सार्थकता पाउन सकेको छैन । वीरगञ्ज भन्सार कार्यालय हुँदै एलपी ग्याँस आयातमा १५ प्रतिशतले वृद्धि भएको छ । ६ महिनामा १५ अर्ब २५ करोड ६३ लाख १९ हजार रुपैयाँको १ लाख ३७ हजार मेट्रिकटन एलपी ग्याँस भित्रिएको देखिन्छ । जसबाट कार्यालयले दुई अर्ब ८४ करोड५६ लाख ४२ हजार रुपैयाँ राजश्व उठाएको छ ।

भन्सार कर्यालय हुँदै भटमासको कच्चा तेल, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल, एच आर सिट, डबल (क्याब, पीकअप गाडी) ट्रक, मिनी ट्रक, तयारी कपडा, कोइला, बस ट्रकका चेसिसहरू, लुब्रिकेटिङ आयल मोबिल, पोलिथिन दाना, हल्का पेय पदार्थका कन्सन्ट्रेड, सुर्ति मुख्य आयत हुने मालवस्तुमै पर्ने भन्सारको तथ्यांक छ ।

के के निर्यात हुन्छ ?

आयातको तुलनामा एकदमै कम सामान निर्यात हुने गरेको छ । प्रसोधित पाम तेल, सूर्यमुखीको तेल, भटमासको तेल, फलफूलको जुस, सेन्थेटिक यार्न, स्पोर्ट सुज सेन्थेटिक सुज, जमोठ कपडा तथा उनी, सुती, टेरीकटनबाहेकका कपडा, तयारी कपडा, पिना, होमियोपेथिक, शुद्ध आर्युर्वेदिक र युनानी औषधिको कच्चा पदार्थ, उनी गलैंचा कार्पेट, दन्तमञ्जन, प्लाष्टिकको विर्को, फलाम तथा स्टिल्सका भाँडाकुँडा, राँगा भैंसीको तयारी छाला, कपडाको बोरा झोला, कुकुर वा विरालोको खाना लगायतका मालबस्तु निर्यात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?