+
+
कथा :

दोष

कन्चन शर्मा कन्चन शर्मा
२०७८ माघ १३ गते १९:०९

कुरा त्यतिबेलाको हो जतिबेला हाम्रो देशमा अहिले जस्तो जताततै गञ्जागोल, राजनीतिक अस्थिरता, महँगी, रोगव्याधि आदिको समस्या थिएन। उक्त समय पनि समस्यारहित भने थिएन। त्यतिबेलाका समस्या फरक थिए। यातायात, अस्पताल, बिजुली, सूचना तथा सञ्चारप्रविधि लगायतको विकास थिएन।

सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँ। गाउँको प्राकृतिक सेरोफेरो रमाइलो थियो। पहाडको बस्ती शान्त र सुन्दर हुने नै भयो। ढुंगामाटोले बनेका घरहरू थिए। ढुंगाको नै छाना। सबै घर उस्तै देखिने। सुन्दर र भिरालो किसिमको छाना भएका घरहरू नजिकै भने थिएनन्। मर्दा–पर्दा केही कुरामा छिमेकीलाई बोलाउन पनि न्वारानदेखिको बल निकालेर चिच्याउनुपर्ने।

त्यही गाउँमा पुस्तौं पुस्तादेखि बस्दै आएका श्रीधर बाजे बिहानदेखि नै छटपटिन थाले। दुई दिनदेखि मुसलधारे पानी परेको पर्‍यै थियो। हप्ता दिन अगाडि बेंसीमा रोपेको धान खेतमा नै डुबेर मर्ने भयो भनेर उनी चिन्तित थिए।

यसो काम सहयोग माग्नको लागि भएका छोरा शहरमा बसेर पढ्दै थिए। छोरीको बिहेवारी भएर आ-आफ्नो घरमा गइसकेका थिए। बज्यै सालको पातमा सुर्ती राखेर बेरेको बिंडी फुक्दै कराइन्, ‘यी बुढालाई अहिले गाउँलेको काम भएको भए दुई खुट्टा उचालेर दौडन्थे। आज आफ्नै खेत डुब्न लाग्दा पनि वास्ता छैन।’

मन सफा भए पनि बज्यैको बोली चैं साह्रै रुखो। बाजेले आजसम्म कहिल्यै बुढीलाई मुख फर्काएनन्। बरु मनमनै भाग्यलाई दोष दिन्थे। बादल र हुस्सुले गाउँ नै छोपेर दिन हो कि रात छुट्याउन कठिन परिरहेको थियो।

तलको खेतमा हिंडेर जान नै दुई घण्टा लाग्दथ्यो तर अहिले त पानी परेर चिप्लो भएर लडिएला भन्ने पीर थपियो। ‘नजाऊँ त धेरै धान फल्ने खेत नै त्यही हो। अस्ति धान रोप्दा लोभ गरेर आली थुनेर पानी रोकियो। आज त्यही पानी धेरै भएर पानी कटाउनुपर्ने भयो’, बाजै आफैंसँग संवाद गर्न थाले।

दिउँसोको दुई बजेको हुँदो हो। बज्यैको फतफत र पानी दुवै रोकिएको थिएन। बाजेले मन नलागी नलागी टर्चलाइट, कोदाली, लौरो बोके र घुम ओढेर खेततिर निस्किए। बज्यै भित्र चुलामा चिसो दाउरा बालेर भान्सामा धुवाँको बादल बनाइरहेकी थिइन्।

‘शहरबाट छोराले पठाएको रेनकोट लिएर जानुहोला भनेको त कति चाँडो हिंड्नुभएछ हिजो। रिसाएर होला ? कस्तो सजिलो हुँदोरहेछ मैले हिजो ओढेर काम गर्दा भिजेर चिसो भयो अनि सुकाउन भऱ्याङनेर ह्याङ्गरमा झुन्ड्याएको हेर्नुहोस् त।’

मौसम सफा हुँदा दुई घन्टा लाग्ने बाटो अहिले पानी र चिप्लोसँग जोगिंदै हिंड्दा तीन घण्टामा बाजे बल्ल बल्ल खेतमा पुगे। निरन्तरको वर्षाले खेतको धान डुबेर टुप्पो पनि देखिंदैनथ्यो। ६–७ ठाउँमा आली खनेर पानी कटाए। खेतमा नै जीर्ण अवस्थामा रहेको गोठमा ओत लागेर बसे बाजे एकछिन। साँझले छोप्दै गर्दा पानी पातलिन थाल्यो। बाजे खुइय गर्दै उकालो लागे।

श्रीधर बाजेको सबैभन्दा कमजोरी भनेको भूतप्रेत नै थियो तर यो कुरा बाजेले कसैलाई भनेका थिएनन्। सानैदेखि हजुरबुबाले सुनाएको भूतप्रेतको कथाले गर्दा अहिले पनि रात परेपछि कतै हिंडडुल गर्दैनथे बाजे। कस्सेर तीन घण्टा हिंडेर घर पुग्नै लाग्दा टर्च लाइटको ब्याट्रीको पावर कम भएर मधुरो भइरहेको थियो।

एकठाउँमा अलि उकालो र चिप्लो बाटोमा चप्पल चुँडिएर लडे बाजे। हातबाट लौरो एकातिर, मधुरो भए पनि अलि—अलि बलेको टर्चलाइट एकातिर। छामछाम छुमछुम गर्दै खोजे तर कतै केही भेटेनन्। घुँडामा सुरुवाल प्वाल परेछ।

विस्तारै चार हात खुट्टा एक गरेर भोकले लखतरान भएर घर आइपुगे। पानी आकाशबाट गाग्रोले खन्याए जस्तो परिरहेको थियो। पहिलो तलाको बार्दलीमा एउटा टुकी बत्ती मट्टीतेल सकिनलागेर होला निभ्ने तर्खरमा थियो। बज्यै पनि बाजेलाई कुर्दाकुर्दै निदाइसकेकी थिइन्।

मझेरीमा खुट्टा धोएर माथि तलामा जान लाग्दा भऱ्याङको आकृति देखेर बाजेको खुट्टा लुलो भयो। त्यो आकृतिको टाउको र खुट्टा थिएन। लामो शरीर भएको, हात चैं हल्लिरहेको थियो। बाजेको सातो उड्यो। माथिको बलिरहेको बत्तीको पनि त्यस ठाउँमा छायाँ परेकोले प्रष्ट देखिरहेको थिएन।

बाजेले फेरि नजिक जाने हिम्मत गरेनन्। नजिकै रहेको गोठमा ओत लागेर हेरिरहे। त्यो आकृति अझै त्यसै ठाउँमा हात हल्लाउँदै थियो। बाजेले बज्यैले सुन्छिन् कि भनेर ठूलो स्वरले खोके। त्यो आकृति झन् हल्लियो बाजेको सातोपुत्लो उड्यो।

तर जति खोके पनि त्यो आकृति त्यहाँबाट हटेन। न बज्यै बाहिर आइन्।

बाजे गोठको माथिल्लो तलामा धान पराल राख्ने कोठामा गए। त्यहाँबाट हेर्दा पनि त्यो भूत घरी चूप लाग्थ्यो, घरी हल्लिरहेको थियो। नजिकमा जाउँ भने छिमेकमा कोही थिएनन्। भोकले गर्दा शक्ति क्षीण हुँदै गइरहेको थियो।

बाजेको मनमा धेरै कुरा खेलिरहेको थियो।

बुवाले हजुरबुवालाई शहरतिर बसाइँ जाऊँ भन्दा हजुरबुवाले मानेनन्। हजुरबाले आफू जन्मेको घरगाउँ छोड्न नमान्दा मैले आज यस्तो दुःख भोग्नु परिरहेको छ। उनले हजुरबुवालाई दोष दिन थाले।

आफ्नै बावुले घर नकिकैको खेत भाइलाई अंशबण्डामा दिएर टाढाको खेत भागमा दिएकोले यो दुःख भोग्नुपर्‍यो। उनले दोषी नम्बर दुईमा बावुलाई उभ्याए।
त्यो खेत अधियाँमा दिऊँ भन्दा बज्यैले शहरमा रहेका सन्तानलाई आफ्नै खेतको चामल खुवाउने अड्डी राखिन्। उनले दोषी नं. ३ मा बज्यैलाई राखे।

शहरमा रहेका छोराले न आफूलाई शहरमा बोलाएर राख्नसके न उनीहरू गाउँमा दुःख गर्न आउन सके। दोषी नं. ४ छोराहरूलाई देखे। त्यसपछि मनमनै घरमा काम गर्न राखेको हली, आली लगाउने मान्छे, ब्याडे केटो, सबैजसोलाई दोषी सम्झे।

भूत अझै पनि त्यही ठाउँमा नाँचिरहेको थियो।

कतिखेर आँखा लागेछ निदाएछन् बाजे। बिहान भालेको पहिलो डाँकमा बिउँझिए झस्किएर। घामको मिर्मिरेसँगै गोठबाट आँगनमा आए। भूत देखियो स्पष्टसँग।

बज्यै आँगनमा रहेको तुलसी मठमा पूजा गर्दै भन्दै थिइन्, ‘शहरबाट छोरोले पठाएको रेनकोट लिएर जानुहोला भनेको त कति चाँडो हिंड्नुभएछ हिजो। रिसाएर होला ? कस्तो सजिलो हुँदोरहेछ मैले हिजो ओढेर काम गर्दा भिजेर चिसो भयो अनि सुकाउन भऱ्याङनेर ह्याङ्गरमा झुन्ड्याएको हेर्नुहोस् त।’

बाजेले मनमनै हिजो दोष दिएको जति सबैलाई सम्झे।

दोष त आफ्नै आँखाको रहेछ। उनी आफैंसँग लजाए।

धेरैपछि सुनियो, बाजे भूतप्रेत केही हुन्न भन्दै हिंड्छन् रे गाउँमा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?