+
+

२०औं आहारारा गोल्डकप : मनाङ र एपीएफमा कसले उचाल्ला ट्रफी ?

विकास रोकामगर विकास रोकामगर
२०७८ माघ १४ गते १३:११

१४ माघ, पोखरा । सहारा क्बल पोखराले आयोजना गर्दै आएको मोफसलकै प्रतिष्ठित आहारारा गोल्डकपको २०औं संस्करण शनिबार सकिँदैछ । यसपटकको फाइनलमा विभागीय टोली एपीएफ र मनाङ मर्स्याङ्दी उपाधिका लागि भिड्दैछन् ।

बुधबार र बिहीबार भएको सेमिफाइनल खेलमा एपीएफले थ्रीस्टारलाई १-० गोलअन्तर र मनाङ मर्स्याङ्दी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।

२ दशक लामो इतिहास बोकेको आहारारा गोल्डकपको यस पटकको फाइनलमा अघिल्ला वर्षमा झैं प्यारापिटभरि दर्शक भरिभराउ हुने छैनन् । आ-आफ्ना टिमलाई समर्थन गर्दै दर्शकदीर्घाबाट चर्को हुटिङ हुने छैन । सीमित दर्शकको बीचमा शनिबार उपाधिका लागि मनाङ मर्स्याङ्दी र एपीएफ भिड्नेछन् ।

आयोजक सहाराले कोरोना महामारीका कारण क्वार्टरफाइनलसम्मका खेल दर्शकविहीन खेलाएको थियो त । तर, सेमिफाइनलदेखि प्यारापिटको कुल १६ हजार ५ सय क्षमताको एक तिहाइ दर्शकले मात्रै प्रत्यक्ष खेल हेर्ने मौका पाएका थिए । सो संख्या फाइनलमा पनि बढ्ने छैन ।

आहारारा गोल्डकपको २० औं संस्करणको अन्तिम खेल फाइनल मा पुगेका दुवै टिमका लागि महत्वूर्ण छ । यसर्थ पनि दुवै टिम जसरी पनि उवाधि आफ्नो पोल्टामा पारेर इतिहास रच्ने दाउमा छन् ।

१४ वर्षपछि दोस्रोपल्ट फाइनलसम्म पुगेको विभागीय टोली उपाधि रक्षासँगै पराजित इतिहासलाई उल्ट्याउने स्वर्णीम मुडमा छ भने सर्वाधिक गोल्डकप उचालेको मनाङ मर्स्याङ्दी कीर्तिमान कायम राख्ने दाउमा छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

आहारारामा मनाङ र एपीएफको भेट

मनाङ र एपीएफ आहाराराको २० औं संस्करणमा आइपुग्दा अहिलेसम्म ५ पटक भिडेका छन् । मनाङ र एफिएफ अहिलेसम्म चौंथो, पाँचौं, आठौं, नवौं र सत्रौं आहारारा गोल्डकपमा आमने-सामने भएका छन् । जसमा मनाङले एक खेलबाहेक अन्य सबैमा हाबी भएको छ ।

मनाङ र एपीएफ २०६२ सालमा आहारारा गोल्डकपमा पहिलोपल्ट आमने सामने भएका थिए । उक्त खेलमा नकआउट चरणमै मनाङले २–१ ले जित निकालेको थियो ।

त्यस्तै, ०६३ सालमा सेमिफाइनलमा ३–१, ०६६ सालको नकआउट चरणमा ३–१, ०६७ सालको नकआउट चरणमै २–०, ०६७ सालको नकआउट चरणमा २–० गोलअन्तरले मनाङले जित निकालेको थियो ।

२०७५ को नकआउट चरणमा भने एपीएफले मनाङमाथि जित निकालेको थियो । उक्त खेलमा मात्रै एपीएफले मनाङलाई १–० को संघर्षपूर्ण जित निकालेको थियो । संयोग के भने, १४ वर्षअघि एपीएफ पहिलोपल्ट आहाराराको फाइनलमा पुग्दा मनाङ मर्स्याङ्दी प्रतियोगितामा सहभागी थिएन ।

एपीएफ यसअघि पहिलो पटक २०६४ को छैठौं आहारारा गोल्डकपको फाइनलमा पुगेको थियो । तर, फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिससँग २–० गोल अन्तरले पराजित हुन पुगेको थियो । त्यसयता १७ औं र १९ औं संस्करणमा सेमिफाइनलसम्म पुगे पनि माथि उक्लन सकेन ।

२०७५ सालको सेमिफाइनलमा एपीएफ थ्रीस्टारसँग टाइब्रेकरमा ४–२ ले स्तब्ध हुन पुगेको थियो । निर्धारित समयावधिमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । तर, पेनाल्टीमा एपीएफले आफ्नो प्रभावकारी प्रस्तुति देखाउन सकेन ।

२०७७ सालमा पुनः एपीएफ सेमिफाइनलसम्म पुगेको थियो । तर, उक्त खेलमा पनि संकटा क्लब जितका लागि बाधक बनिदियो । संकटासँग एपीएफ २–० ले हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिन पुगेको थियो । तर, अघिल्ला खेलभन्दा जारी प्रतियोगितामा खेलाडीको प्रस्तुतिबाट आफू सन्तुष्ट रहेको प्रशिक्षक कुमार थापा बताउँछन् ।

‘अबियस्ली मनाङ बलियो र राम्रो टिम हो । उहाँहरुलाई हामी रेस्पेक्ट गर्छौं,’ प्रतियोगिताको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक थापाले भने, ‘तर, ग्राउन्डमा हाम्रो पनि उपस्थिति छ भनेर देखाउँछौं । खेलाडीको पर्फमेन्सबाट मचाहिँ सन्तुष्ट छु ।’

टिमका कप्तान नवीन लामा पनि जित आफ्नो पोल्टामा पार्ने रणनीतिमा छन् । मनाङलाई जसरी पनि हराएर सपना पूरा गर्ने लक्ष्य रहेको उनी सुनाउँछन् । भन्छन्, ‘१४ वर्षपछि प्रेसरमा छौं । केही प्रेसर त छ । तर, भोलिको म्याच हामी जितेर जान्छौं । उस (मनाङ)लाई बिट गरेर ट्रफी लाने सोच छ ।’

कमजोर छैन मनाङ पनि

आहारारा गोल्डकपको इतिहासमा सर्वाधिक उपाधि विजेताको कीर्तिमान बनाएको मनाङमर्स्याङ्दी पनि बलियो टिम हो । जारी प्रतियोगितासँगै १२ पटक फाइनल यात्रा तय गरेर ६ पटक उपाधि उचालिसकेको छ ।

सर्वाधिक उपाधि जित्नेमा मनाङ एक्लो टिम भने होइन । विभागीय टोली नेपाल पुलिस क्लबले पनि समान ६ पटक नै ट्रफी उचालिसकेको छ । तर, मनाङले जारी प्रतियोगिताको क्वार्टरफाइनलमै नेपाल पुलिसलाई २–० ले पराजित गर्दै कीर्तिमान नजिक पुगेको हो ।

आफूहरुले सुरुदेखि नै फाइनलको आशा राखेको र त्यो पूरा भएको प्रशिक्षक फुजा तोपे बताउँछन् । उनले एपीएफले पछिल्लो समय खेल सुधारेर आएको समेत उनले समीक्षा गरे । ‘यसपालि हाम्रो प्रतिद्वन्द्वी एपीएफ छ । एपीएफले खेल सुधारेको छ । यसमा हामीलाई केही गाह्रो पक्का हुनेछ,’ उनले भने ।

पोखरा मनाङको गृहमैदान भएकाले पनि कुनै प्रकारको दबाब नहुने कप्तान विमल राना सुनाउँछन् । ४ जना खेलाडी राष्ट्रिय टिमको प्रशिक्षणमा रहेको र नयाँ खेलाडीले टिम ‘सेटअप’ हुने प्रक्रियामा रहेको उनले बताए । ‘तर, खेलमा दबाब पनि छैन । यो गेम हो । आफ्नो ठाउँमा खेल्दा दबाब कुनै दबाब हुँदैन,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?