+
+
गाउँ–समाज :

चौंरीगोठमा हुर्किएका कर्साङको दुनियाँ

बिहानै गाईलाई फुकाएर खर्क पठाएपछि कर्साङ केही फुर्सदिलो हुन्छन् । त्यसपछि काखमा टुङना राखेर बजाउन थाल्छन्, सँगै गाउँछन् पनि । त्यही धुनसँगै घरधन्दामा व्यस्त थिइन् उनकी श्रीमती बुद्धि ।

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ माघ १५ गते २०:२०

१५ माघ, काठमाडौं । मध्यबर्खाको समय । सुन्दरीजलबाट शिवपुरी हुँदै गोसाइँकुण्डमा मेला भर्न जानेहरुको घुइँचोले पदमार्ग निकै व्यस्त थियो । गोसाइँकुण्ड यात्रामा निस्किएकाहरु झण्डै डेढ दिनको हिँडाइपछि ३ हजार २१० मिटर उचाइमा रहेको मागिन गोठ पुगे । हामी पनि त्यही गतिमा मागिन गोठको यात्रामा पुग्यौं ।

सिमसिम पानी परिरहेको थियो । यात्रीले त्यस दिनको यात्रामा बिराम खोजिरहेका थिए । कोही कोही अर्काे स्टेसनसम्म पुग्ने जमर्को पनि गर्दै थिए । हामीले भने त्यस दिनको यात्रा मागिन गोठमा नै टुंग्याउने निर्णय लियौं ।

पानीले बाहिर निस्कने माहोल थिएन । टिनको छानोले छाएको ‘मागिन गोठ होटल ग्रीन भ्यु एण्ड लज’को प्रतीक्षालयमा हाम्रो भेट भयो, नुवाकोट कडैनीका कर्साङ लामासँग ।

गाउँको बाटोमा जुकाको बिगबिगी थियो । निकुञ्जको बीचमा गोठ राखेर बर्खे बसाइ धानिरहेका उनी एक वर्षमा कम्तीमा चार ठाउँमा बसाइँ सर्छन् । असारमा मात्रै उनी मागिन गोठ आएका हुन्, अबको एक महिनापछि फेरि बेंसी झर्ने तयारीमा थिए ।कर्साङ लामा अर्थात् कर्साङ दावा भक्ताल ।

शरीरमा दौरा सुरुवाल, टाउकोमा कालो टोपी, कम्मरमा खुकुरी र खुट्टामा जुत्ता भिरेर होटलमा थकाइ मारिरहेका कर्साङको मिजासिलो र मजाक गरिरहने शैलीले हामी छिट्टै उनीसँग परिचित हुन पायौं । आधा घण्टाजति हामीसँग गफिएपछि उनले झट्ट गोठको गाई र याक सम्झिए । धेरै समय बस्न फुर्सद थिएन, साँझ गोठमा आउन निम्ता दिएर उनी गोठको नियमित धन्दातिर लागे ।

सात भाइमध्येका माहिला हुन् कर्साङ । उनले पुर्ख्यौली सम्पत्तिको रुपमा १० वटा चौंरी पाएका थिए । सानै उमेरदेखि गोठाले जीवन बिताएका कर्साङको त्यही गोठालो बाहेक अरु दुनियाँ पनि छैन । बर्खा मौसममा मौका पर्दा उनी मेला भर्न आउने तीर्थालुसँग ‘दोस्ती’ गाँस्छन् । अन्यथा गोठको बसाइ, गोठाले जीवनशैली र साथ दिने श्रीमती । यति नै हो उनको दुनियाँ ।

पुर्ख्यौली गोठ अलिक लेकमा थियो । १० वटा चौंरी भनेको कम्ती पनि होइन । तर उनले चौंरी पाल्ने झन्झट व्यहोर्न चाहेनन् । ठाडेपाटीमा राखिएको गोठमा उनलाई चौंरीको स्याहार गर्न मन लागेन । उनी अलि तल झरेर गर्मीयाम र बर्खायाममा मागिन गोठमा बस्छन् भने जाडो शुरु भएपछि समुद्रटारतिर झर्छन् । माघको दोस्रो साता आइपुग्दा उनी आफ्नै स्थायी घर भएको कडैनीमा बसिरहेका छन् । माघको तेस्रो साता उनी अलिकति माथि उक्लिने तयारीमा छन् । मागिन गोठको खर्क पुग्न भने असार नै कुर्नुपर्छ ।

कर्साङको दैनिकी मागिन गोठको पेरीफेरीमा बित्छ । उनलाई शहरको सुख र गाउँको दुःख, दुवैको रत्तिभर चिन्ता छैन । बिहानै गाईलाई फुकाएर खर्क पठाएपछि उनी केही फुर्सदिलो हुन्छन् । त्यसपछि काखमा टुङना राखेर बजाउन थाल्छन्, सँगै गाउँछन् पनि ।

भोलिपल्ट बिहानै अगेनाको डिलमा बसेर टुंगनाको धुनमा आफ्नो दुःखको धुन बजाइरहेका थिए, कर्साङ । त्यही धुनसँगै घरधन्दामा व्यस्त थिइन् उनकी श्रीमती बुद्धि ।

कर्साङ र बुद्धिबीचको प्रेम पनि अचम्मको छ । ३० वर्ष भयो विवाह भएको । उनीहरुको विवाहपूर्व चिनजान त थिएन, तर विवाहपछि प्रगाढ प्रेम शुरु भयो । आफूहरुबीच अहिलेसम्म खटपट समेत नभएको कर्साङ बताउँछन् । बुद्धि दूध दुहुने र आफूहरुका लागि खानाको जोहो गर्छिन् । कर्साङ गाईको स्याहारसुसार गर्छन् र दिनभरि गोठालो जान्छन् ।

कर्साङको गोठमा अहिले सानाठूला गरी २५ वटा गाई छन् । भर्खर जन्मिएको तीनवटा चौंरी बेचेर उनले एक लाख रुपैयाँ कमाइसके । उनी भन्छन्, ‘चौंरी पायो भने त धेरै मोल पाइन्छ, झुपो पायो भने त ठूलो भएपछि बेच्दा पनि धेरै मोल आउँदैन ।’

****

बाक्लो जुँगा, बोके दारी र गोरो अनुहार । देख्दा हट्टाकट्टा देखिने कर्साङ लामा सधैंजसो आफ्नो मौलिक पोशाकमा सजिएर बस्छन् । गोठबाट बाहिर निस्किँदा उनको कम्मरमा खुकुरी कहिल्यै छुट्दैन । अहिलेसम्म गाई पाल्ने र गोठालो लाग्नेबाहेक केही पनि पेशा नअपनाएको सुनाउने कर्साङ दौरा–सुरुवाल र कालो भादगाउँले टोपी शेर्पाको मौलिक पहिचान रहेको बताउँछन् ।

‘खुकुरी दौरा–सुरुवाल लगाउँदा मात्रै भिर्न मिल्छ । सर्ट पाइन्ट लगाउनेले भिर्न मिल्दैन,’ उनी भन्छन्, ‘दौरा सुरुवालमाथि बख्खु लगाउनुपर्ने हो । तर मसँग चाहिँ बख्खु छैन ।’

अहिले कर्साङका सात भाइमध्ये पाँच भाइले गाई पाल्छन् । दुई भाइ अरु नै पेशामा छन् । पर्वते गाईमा याकको क्रस गराएर जन्मिएको चौंरीलाई पहाडतिर पठाउने गर्छन् । भाले पायो भने त्यसलाई झुपो भनिन्छ । त्यो भारी बोक्नका लागि प्रयोग हुन्छ । एउटा वयस्क याकको मूल्य ३५ हजार रुपैयाँसम्म पर्ने कर्साङ बताउँछन् । चौंरी भयो भने जन्मिनेबित्तिकै ३५-४० हजार पर्छ । कर्साङ भन्छन्, ‘चौरी पाउँदै पाएन । चौंरी पाएको भए त म त साहु हुन्थें नि ।’ चौंरी पायो भने दुई वर्ष नहुँदै बेच्ने गरिन्छ ।

मागिन गोठमा कर्साङको ‘दोस्ती’

बीच जंगलमा गाई पालेर बस्ने कर्साङको सुख-दुःखको साथी भनेकी नै श्रीमती बुद्धि हुन् । तर श्रीमतीबाहेक पनि अर्को कोही सुखदुःखको कुरा सुनाउने मान्छे छ भने ती हुन् कालु शेर्पा ।

उनीहरुबीचको दोस्तीको पनि झण्डै दुई दशक पुग्न लागिसकेको छ । कालु शेर्पाको मालिङ गोठमा होटल छ तर उनी कर्साङको गोठमा गएर मीठो मसिनो पाकेको खान्छन् । उनको दुःख सुन्छन्, उनले बजाएको टुंङनाको धुनमा रमाउने गर्छन् । उनीहरुको दोस्ती श्रीकृष्ण र सुदामाको जस्तै छ भन्दा पनि फरक नपर्ला ।

हिउँदको ३–४ महिना कालु र कर्साङबीच खासै भेटघाट हुँदैन । कालु कुटुम्साङतिर झर्छन् भने कर्साङ समुद्रटार, चुली, कडैनी, शिखरबेंसी, महादेव स्थानतिर झर्छन् । तर उनीहरुको सम्बन्ध भने अपूर्व छ ।

तस्वीर/भिडियो चन्द्र आले

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?