+
+
ब्लग :

‘बा’ को विकल्प ‘देउवा’ कि ‘युवा’ ?

आसन्न निर्वाचनको भरपुर लाभ लिन नसक्ने हो भने हाम्रो पुस्ता पुन: पाँच वर्षको लागि राजनैतिक अस्थिरताको जाल भित्र फस्नुपर्ने हुन्छ । तसर्थ, सकेसम्म यही निर्वाचनको पूर्वसन्ध्यामा युवाहरूले मोर्चा खडा गरी अगाडि बढ्ने र निर्वाचनको क्रममा आफ्नै मनलाई प्रश्न गर्ने कि ? ‘बा’ को विकल्प ‘देउवा’ कि ‘युवा’ ? 

संगम पोख्रेल  संगम पोख्रेल 
२०७८ माघ १६ गते ११:२७

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको पदबाट पदच्युत भई बालुवाटारबाट आफ्नो निजी निवास बालकोटतर्फ प्रस्थान गर्दाको एउटा तस्वीर एकदमै रोचक थियो । सत्ताबाट पदच्यूत गरिएका एउटा शासकलाई सहानुभूति प्रकट गर्न उनका शुभचिन्तकहरूको (विशेषत: कार्यकर्ताहरू) ठूलो र्‍याली लागेको थियो । त्यो र्‍यालीमा ओलीलाई ‘बा’ को संज्ञा दिने विद्यार्थी र युवाहरूको ठूलो हिस्साले भाग लिएको थियो ।

‘बा’ उनको निजी निवास पुगेपछि आफ्नो पक्षमा समर्थन जनाउन तथा सत्ता बहिर्गमनको पीडामा मल्हम लगाउन आइपुगेका कार्यकर्तालाई सम्बोधन गर्न निवासको बार्दलीमाथि चढेर मन्द मुस्कान सहित हात हल्लाएको तस्वीरलाई प्रमुख सञ्चारमाध्यमले बडो महत्त्वका साथ प्रकाशन गरे । त्यो एकदमै रोचक तस्वीर थियो ।

बार्दलीबाट ‘बा’ले आफ्ना कार्यकर्ताहरूलाई सम्बोधन गर्दै मुलुक विकासका लागि आगामी योजनाहरू प्रस्तुत गरेनन् । करीब साढे तीन वर्षको आफ्नो दोस्रो शासनकालमा भएका/शुरूआत गरिएका कार्यक्रमहरूका विषयमा समीक्षा गरेनन् । र संविधान माथि आफ्नो ठाडो बलात्कारको विषयमा पनि बोलेनन् । तर सत्ताबाट च्यूत हुनुपरेको पीडा कुण्ठाको रूपमा भने बगिरहेको थियो । उनले कार्यकर्ताहरूलाई उत्तेजित तुल्याउने मनोभावना पोख्दै गइरहेका थिए ।

संगम पोख्रेल

त्यो भीडमा बाहुल्य रहेको युवा तथा विद्यार्थीको ठूलो तप्काले संविधानलाई कुल्चिने दुस्साहसका निम्ति प्रश्नचिन्ह खडा गर्ने साहस गरेन । बरु उल्टै ‘आई लभ यु ओली बा’ को नाराले ‘बा’ को उत्तेजक भाषणमा घ्यू थपिरह्यो । अहिलेसम्मकै सबैभन्दा बलियो बहुमतको सरकारको नेतृत्व गरिरहेका ‘बा’ लाई आफ्नो सत्तालाई स्थायित्व दिन नसकेको तथा जनताले ती साढे तीन वर्षको कालखण्डमा पाएको सास्तीका बारेमा जवाफ माग्न ती तमाम युवाहरूको चेतनाले उचित नठान्नु एकदमै रोचक तथा विडम्बनापूर्ण कुरा हो ।

संविधान निर्माणको कार्यदिशा सकिएपछि जनताले स्थायी सरकार र त्यसको नेतृत्वमा दिगो विकासका लागि तत्कालीन वामगठबन्धनलाई करीब दुई तिहाइ मत दिएका थिए । ब्लाइन्ड नेशनालिज्मको नाराले उदाएका नव-नोकरशाही तथा सामन्तवादी ओली र जनयुद्धको रापतापले राजनीतिको केन्द्र बिन्दुमा पुगेर वैचारिक स्खलन भएका प्रचण्डले कम्युनिष्ट एकता नामको दुई मिटरको टालोले जनताको आँखामा पट्टी बाँध्ने प्रयास गरे ।

अल्पशिक्षित बाहुल्य नेपाली समाजले वैचारिक रुपमा विपरीत ध्रुव तथा राजनैतिक रूपमा ‘कुकुर र बिरालो’ प्रवृत्ति बोकेका दुई दल वा दुई व्यक्ति विशेष: केपी शर्मा ओली ‘बा’ र पुष्पकमल दाहाल ‘प्रचण्ड’को असान्दर्भिक कम्युनिष्ट एकता नामको वाम गठबन्धन अथवा सत्ता महत्वाकांक्षाको गोप्य आलोपालोको सहमतिलाई अनुमोदन गरिदियो । जसले राजनैतिक मुद्दालाई विश्राम दिएर अगाडि बढ्नुपर्ने समाजलाई थप केही समयका लागि बन्धक बनाउने काम गर्‍यो ।

‘बा’ को साढे तीनवर्षे कार्यकाल मतदाताले सोचेअनुरुप सञ्चालन भएन । बहुमतको दम्भ र अहंकारको सम्मिश्रणले ‘बा’लाई सबै सन्तानलाई समानरूपमा प्रेम गर्ने ‘बुवा’ बनाएन । बरु मुलुकमा आसेपासे पूँजीवादी व्यवस्थालाई भित्र्याएर आफ्ना सीमित कार्यकर्ताहरूको ‘बा’ बन्ने मनोविज्ञानलाई प्रश्रय दिंदै गयो । आसेपासे पूँजीवादको चास्नीमा डुब्न पाएका ती तमाम झिंगाहरूको समूहले एउटा सीमित व्यक्तिलाई देवत्वकरण गर्ने दुष्प्रयत्न गर्‍यो । आलोचनात्मक चेतना विकास गरेर नेतृत्वलाई सजग तथा सतर्क बनाउँदै जनहितमा परिचालन गर्नेतर्फ केन्द्रित नभएर प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्ने कार्यकर्ताहरूको त्यो दस्ताले झनै असफल पुष्टि भइसकेको नेतृत्वको ढाकछोप गर्दै भजन गाउन मात्रै केन्द्रित भयो ।

भ्रष्टाचार र नव-तानाशाहीको आतंकले ग्रस्त भएको समाजले सरकारको कार्यकाल पूरा हुनुपूर्व नै विकल्प खोज्न थाल्यो । ‘बा’को संरक्षणमा हुर्किएका विद्यार्थी तथा युवाहरूको दमन, हस्तक्षेप तथा साइबर हमला र कोभिड-१९ को त्रासदीका बीच सत्ताको ‘स्ट्र’ बाट जनताको इच्छा, चाहना तथा खुशीको ‘जुस’ चुसिरहेका ‘बा’ का विरुद्धमा सचेत युवाहरूले ‘इनफ इज इनफ’, ‘१३ अर्ब खोइ सरकार ?’ जस्ता नाराहरू लिएर सडक आन्दोलन नै गरे । राजनैतिक दलहरूको सहयोग विना युवाहरूले स्वतन्त्रतापूर्वक यसरी विद्यमान सत्ताका विरुद्धमा प्रदर्शन गर्नु नेपालको इतिहासमा पहिलोपटक नै हो । जुन एकदमै प्रशंसनीय छ ।

तत्कालीन समयमा ‘बा’ को सत्ता साझेदार प्रचण्डले गोप्य आलोपालो सहमति भङ्ग गरेको कारण ‘बा’सँग टाढिंदै पार्टीभित्र असहयोगको वातावरण तयार गर्ने तथा घेराबन्दी गर्ने रणनीति अगाडि सारे । साथै, कोभिड-१९ का कारण बन्दाबन्दीको प्रभावमा परेर श्रमजीवी वर्गको भोकले सडकमै मृत्यु भइरहेको कारुणिक दृश्यले सत्ताको हृदयलाई छोएन । बरु कोभिड-१९ आफैंमा भ्रष्टाचारको लागि सुनौलो अवसर बनिदियो र ‘बा’ को सत्ताले त्यता ध्यान केन्द्रीकृत गर्दै गयो । शासकको रबैया देखेर वाक्क भएको समाजले विस्तारै सरकारको उर्दीका विरुद्धमा, शासनशैलीका विरुद्धमा प्रश्न खडा गर्दै गयो ।

फलस्वरूप आम जनता, प्रतिपक्षी दलहरू मात्रै नभएर आफ्नै पार्टीभित्रको असहयोगका कारण ‘बा’ को सत्ता धरासायी बन्दै गयो । अन्ततः पटकपटक संविधान उल्लंघन गर्दै सत्ताको आयु बढाउने प्रयत्न गरेका ‘बा’लाई सर्वोच्चको अकुंश सँगसँगै प्रतिनिधिसभाको अविश्वासको मतले बालुवाटारबाट बालकोटको बार्दलीसम्म ल्याइपुर्‍यायो । जसले जर्मनीमा अन्धो राष्ट्रवादको नाराले उदाएका हिटलर जस्तै नेपालमा जन्मिएका केपी शर्मा ओलीको शासनलाई विधिवत् रूपमा बिदाइ गर्‍यो ।

आसन्न निर्वाचनको भरपुर लाभ लिन नसक्ने हो भने हाम्रो पुस्ता पुन: पाँच वर्षको लागि राजनैतिक अस्थिरताको जाल भित्र फस्नुपर्ने हुन्छ । तसर्थ, सकेसम्म यही निर्वाचनको पूर्वसन्ध्यामा युवाहरूले मोर्चा खडा गरी अगाडि बढ्ने र निर्वाचनको क्रममा आफ्नै मनलाई प्रश्न गर्ने कि ? ‘बा’ को विकल्प ‘देउवा’ कि ‘युवा’ ?

तर, केपी शर्मा ओलीको शासन अन्त्य भइसके तापनि ओली प्रवृत्तिको अन्त्य भने भइसकेको छैन । हाम्रो देशको राजनैतिक दौडले पटकपटक असफल सिद्ध भैसकेका ‘देउवा’लाई ‘बा’को विकल्पको रूपमा पुनः खडा गरेको छ । वर्तमान राजनैतिक संकटमा भलै शेरबहादुर देउवालाई संविधानको रक्षाका निमित्त बाध्यतावश स्वीकार्नु परेको अवस्था होस्, ‘बा’ र ‘देउवा’को विकल्प खोज्न नसक्नु अहिलेको संसदीय अभ्यासकै त्रुटिको विषय हो । यसले, ‘बा’को विकल्प ‘देउवा’ कि ‘युवा’ ? भन्ने प्रश्नलाई जोडतोडका साथ सतहमा लैजानुपर्ने कुरालाई पुष्टि समेत गरेको छ ।

‘बा’ को विकल्प ‘देउवा’ हुनै सक्दैनन् । ‘बा’ को विकल्प भनेको ‘युवा’ नै हो । अहिलेको संसदीय वृत्तमा सरसर्ती हेर्ने हो भने जनताले विश्वास गर्न सक्ने नेतृत्वको अभाव एकदमै महसूस हुन्छ । वर्तमान संसदीय प्रणालीभित्र प्राय ‘टेस्टेड एन्ड फेलर’ नेतृत्वको मात्रै वर्चस्व कायम रहेको देखिन्छ । जसले नेपालको राजनीतिले अब नयाँ नेतृत्व तहको आवश्यकता महसूस गरिरहेको एउटा स्पष्ट सन्देश दिन्छ । त्यो नेतृत्व विशुद्ध रूपमा आडम्बरी राजनैतिक चिन्तनबाट मुक्त २१औं शताब्दीका ज्ञान-विज्ञानका तथ्य र सत्यसँग परिष्कृत वैज्ञानिक राजनैतिक व्यवस्थाको चित्र कोर्न सक्ने र त्यो व्यवस्था स्थापनाको रोडम्याप बहसको रूपमा आम-युवाहरूको माझमा पुर्‍याउन सक्ने हुनुपर्छ ।

तर, युवाहरूलाई राजनीति भन्दा अन्य विषयहरूमा रुचि चाहना बढी हुने तथा स्वभावैले उमेर नै अपरिपक्व हुने हुँदा उचित र आवश्यक राजनैतिक ज्ञान प्रसारित गरी मुलुकमा योग्य शासन शैली स्थापना गर्न जटिल देखिन्छ । पहिले नै विद्यमान राजनैतिक दल तथा तिनका भ्रातृ संगठनहरूमा आवद्ध भएका अधिकांश विद्यार्थी/युवाहरू राजनैतिक रूपमा सतही ज्ञान मात्रै भएका तथा आसेपासे पूँजीवादी चिनीको बाक्लो चास्नीमा डुबुल्की मार्न बानी परेका हुन्छन् । ती युवा/विद्यार्थी नेताहरू चास्नीको स्वाद छोडेर जोखिम राजनैतिक यात्रामा अग्रसर हुन संकोच मान्ने अथवा पुनः संघर्षमा समय खर्च हुने भयले पछाडि हट्ने गर्दछन् । अर्को, युवाहरूको एउटा दस्ता, जो सामाजिक रूपमा चेतनशील छ । तर सामाजिक हितका सिम्बोलिक कार्यक्रमहरूबाट नै समग्र समाजको उन्नयन तथा विकास हुन्छ भन्ने मान्यता राख्दछ । यसलाई सामाजिक रूपमा परिपक्व तर राजनैतिक रूपमा अपरिपक्व पनि भन्न सकिन्छ ।

ती युवाहरूको क्रियाकलापलाई मनोवैज्ञानिक तवरले अध्ययन गर्ने हो भने उनीहरूको समूहलाई प्रचारात्मक युवा पिंढी मान्न सकिन्छ । उनीहरू एक दुई जना मानिस, परिवार आदिको सहयोग वा आवश्यकता पूर्ति गरेर आत्मसन्तुष्टि प्राप्त गर्छन् । र, यस्तै कार्यक्रमबाट समाज आफैं अगाडि बढ्छ वा परिवर्तन हुन्छ भन्ने सोच राख्छन् । यो सरासर गलत एवम् हास्यास्पद तर्क हो । हामी राज्यले सबै नागरिकलाई समतामूलक तबरले सहयोग गर्नुपर्छ अथवा आवश्यकता पूरा गर्नुपर्छ । त्यो राजनैतिक दायित्व राज्यको मूल प्रश्न हो भन्ने कुरामा विश्वास गर्छौं ।

साथै, अहिलेका सबै स्थान तथा वर्गका युवाहरूलाई आफ्नो रुचिको विषय भिन्न भए तापनि राजनैतिक स्वच्छताका निमित्त राजनीतिमा प्रत्यक्ष सहभागिता नजनाए पनि मताधिकारको सदुपयोग, राज्यको नागरिकप्रतिको दायित्व, सरकार कार्यप्रणालीको ज्ञान, अधिकार र कर्तव्य, राज्यद्वारा प्रदान हुने सुविधा आदिका विषयमा अध्ययन गर्न र राजनीतिमा उचित नेतृत्वलाई चयन तथा सहयोग गर्न यसको गहन अध्ययन आवश्यक हुन्छ भन्ने कुरा बुझाउन सक्नुपर्छ ।

युवाहरूमा राजनैतिक ज्ञानको सञ्चार तीव्र गतिमा प्रसारित भइसकेपछि नेतृत्व तहमा यो तप्कालाई पुर्‍याउने बाटो पनि तयार गर्नुपर्ने आवश्यकता हुन्छ । वर्तमान संविधान, ऐन तथा कानूनहरूले विभिन्न उमेरहदका प्रावधानहरू राख्दै हाम्रो राजनैतिक पहुँचको अधिकारलाई कुण्ठित तुल्याएको छ । यिनीहरूलाई परिमार्जित गर्न सडक संघर्षदेखि लिएर मताधिकारको प्रयोग समेत गर्नुपर्ने हुनसक्छ । अर्थात् आवश्यकता अनुसार गान्धीको अहिंसाको बाटो अथवा माओको संघर्षको बाटो चयन गर्नुपर्ने हुनसक्छ । त्यसको लागि मानसिक रूपमा तयार भई युवा पुस्ता राजनैतिक स्थायित्व तथा सुशासन, सदाचार, समानुपातिक, समाजवादी व्यवस्था स्थापनाको मार्गमा मार्चपास गर्दै बढ्नुपर्छ ।

तर, सर्वप्रथम आसन्न निर्वाचनको भरपुर लाभ लिन नसक्ने हो भने हाम्रो पुस्ता पुन: पाँच वर्षको लागि राजनैतिक अस्थिरताको जाल भित्र फस्नुपर्ने हुन्छ । तसर्थ, सकेसम्म यही निर्वाचनको पूर्वसन्ध्यामा युवाहरूले मोर्चा खडा गरी अगाडि बढ्ने र निर्वाचनको क्रममा आफ्नै मनलाई प्रश्न गर्ने कि ? ‘बा’ को विकल्प ‘देउवा’ कि ‘युवा’ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?