+
+

कामदार सङ्क्रमित हुँदा नागढुङ्गा सुरुङ निर्माण सुस्त

रासस रासस
२०७८ माघ १६ गते १६:२६

१६ माघ, काठमाडौँ । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुङ्गाको निर्माण सुस्त भएको छ । यहाँ कार्यरत १२७ जनामा सङ्क्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो ।

सङ्क्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन । कामदार निर्माणस्थलमा नै ‘आइसोलेसन’ मा बसिरहेको र अरु कर्मचारी आ–आफ्नो घरमा नै रहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

शारीरिक रुपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए ।

उनले भने, ‘स्वास्थ्य मापदण्डका आधारमा पनि सक्छु भने पनि नेगेटिभ नआएसम्म काममा लगाउन सकिँदैन ।’ निर्माणस्थलमा सामान्य अवस्थामा ५६० जना कार्यरत रहेकामा अहिले त्यो सङ्ख्या चार सय हाराहारीमा छ ।

निर्माणस्थलमा नै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरुबाट अलग बस्ने गरेको आयोजनाले जनाएको छ । आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकामा अहिले जनशक्ति कम भएकाले दैनिक ६/ ७ मिटर मात्रै खनिरहेको  प्रमुख शाक्यले बताए ।

सुरुङ खन्न शुरु भएदेखि नै दैनिक सात मिटर सुरुङ खन्ने योजना बनाएको भए पनि गत वर्षमा कोभिडका कारण लक्ष्यअनुसार काम हुन नसकेको उनले बताए । उनले भने, ‘निर्धारित समयमा काम सकाउन दैनिक १० मिटर गरेर महिनामा ३०० मिटर खन्ने गरिएकामा अहिले सङ्क्रमण बढेकाले केही समस्या भएको छ ।’

आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झण्डै डेढ महिना ढिला छ । निर्माणको काम गरिरहेको जापानी कम्पनीले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने बताइरहेको प्रमुख शाक्यले जानकारी दिP .

अबको पाँच महिनामा सुरुङ खनिसकिने गरी योजना बनाइएको छ । साउननसम्ममा सुरुङ खन्न सकिएमा त्यसपछिको एक वर्षमा अन्तिम काम (फिनिसिङ) हुनसक्छ । अबका दिनमा अरु कुनै अवरोध नभएर सरासर काम भएमा अवधिभन्दा धेरै ढिला नहुने उनले बताए ।

कोरोना र अरु अवरोधका कारणले बाधा पुर्‍याएमा भने अवधि सकिँदा काम बाँकी रहनसक्छ । आयोजना प्रमुख शाक्यले भने, ‘अहिले एक हप्ता जसरी नै ढिला भएमा अझै पछाडि जानसक्छ ।’

निर्माणस्थलमा जग्गाको विवाद रहेकामा अहिले त्यो समाधान भइरहेको छ । धादिङतर्फ पूरानो विवाद बाहेक नभएको र काठमाडौँतर्फ बलम्बुमा जग्गा अधिग्रहणको काम अघि बढिरहेको प्रमख शाक्यले बताए । सो स्थानमा ३० करोड रुपैयाँ मुआब्जाबापत बाँडिरहेको र अब ३५ करोड रुपैयाँ आउन लागेको छ ।

त्यसपछि २० करोड रुपैयाँ आएपछि काम गर्न पर्याप्त हुने उनले बताए । धादिङमा अख्तियारमा उजूरी परेका पाँच जग्गा बाहेक अरुतिर जग्गा प्राप्तिको समस्या छैन । उनले भने, ‘सानातिना समस्या बाहेक जग्गा अधिग्रहणको धेरै समस्या समाधान भइरहेको छ ।’

आयोजनासँग जोडेर बीचबीचमा स्थानीयवासीको गुनासो आउने गरेको छ । कहिले पानी सुक्यो त कहिले सडकका विषयमा स्थानीयवासीको गुनासो आउँदा सम्बोधन गर्दै निर्माण अघि बढाइएको प्रमुख शाक्यले बताए । स्थानीयवासीको पानीको समस्या समाधानका लागि पानी ट्याङ्की बनेको छ । पाइप विच्छाउने कामका लागि आयोजनाले बजेट दिएर नगरपालिकाले गर्ने भएको छ ।

मुआब्जाको चित्त बुझेन भनेर पनि कहिलेकाहीँ स्थानीयवासीले गुनासो गरेपनि आयोजनाले त्यसको समाधान गरिरहेको छ । यसपछिका दिनमा बलम्बुमा जग्गा प्राप्ति भएपछि बिजुलीको लाइन सार्नुपर्ने छ । जग्गा नलिइ बिजुली सार्न नमिलेको र जग्गा प्राप्त गरेर निर्माणस्थल खाली गरिएपछि आयोजनाले अझै गति लिने उनले बताए ।

आयोजनास्थलमा अहिले नेपाली र विदेशी गरी झण्डै ५६० जना रहेका छन् । जापानी निर्माण कम्पनीका तर्फबाट झण्डै २० र तीन जना परामर्शदाता कम्पनीका तर्फबाट छन् । निर्माण कम्पनीबाट तीन जना फिलिपिनो छन् भने त्यसभन्दा बाहेक नेपाली रहेका छन् ।

विसं २०७६ असोजमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी हाज्मा आङ्दो कर्पोरेसनसँग ठेक्का सम्झौता गरिएको थियो । सोही वर्ष कात्तिकमा आयोजनाको शिल्यान्यास भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिक रुपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै सवारीसाधन र व्यक्ति अलपत्र पर्ने गरेकामा समाधान हुनेछ । सोको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।

आयोजना अन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । आयोजनाअन्तर्गत दुई ‘फ्लाइओभर’, एक सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक रहेका छन् । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ ।

अन्तरराष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रिदा दुइटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुनेछ भने कमजोर ढुङ्गामाटालाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क र तरकारी सङ्कलन केन्द्रलगायत कक्ष हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनीबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना छ । मुख्य सुरुङको लम्बाइ दुई दशमलव ६६ किमी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?