+
+
विशेष रिपोर्ट :

सिके राउतले राजनीतिक ‘स्पेस’ खोज्दा मधेशमा नयाँ द्वन्द्व

अहिले मधेशमा नौलो माग र अनौठो शैलीमा आन्दोलन भइरहेको छ । मधेशको अस्तित्व, नागरिकता, जनसंख्याका आधारमा प्रतिनिधित्व जस्ता माग होइन किसानलाई मल र भ्रष्टाचारीलाई कारबाही आन्दोलनका मुद्दा छन् । के मधेशमा नयाँ दलको उदय हुन खोज्दैछ ?  

श्रवण देव श्रवण देव
२०७८ माघ १७ गते २१:५५

१७ माघ, जनकपुरधाम । हिजो–आज मधेशमा अकस्मात् नारा, जुलूस हुन्छ, तोडफोड गरिन्छ र आगजनी गराइन्छ । १२ माघ बिहान १० बजेतिर पनि त्यस्तै भयो । जनमत पार्टीका १०० जना जति कार्यकर्ता हातमा बाँसका भाटा लिएर नाराबाजी गर्दै जनकपुरधामस्थित तिरहुतिया गाछीनिर पुगे । राष्ट्रिय सभाको निर्वाचन भइरहेको महेन्द्रनारायण निधि भवनतर्फ उनीहरू मोडिन खोजेपछि प्रहरीले रोक्यो । नमानेपछि प्रहरीले लाठीचार्ज गर्दै अश्रुग्याँस प्रहार गर्‍यो । १० मिनेटपछि त्यो ठाउँ शान्त भयो ।

यसरी शान्त भएको आधा घण्टा नबित्दै राम चोकतर्फबाट आएको जनमत पार्टीको भीड पुनः तिरहुतिया गाछी हुँदै निर्वाचनस्थलतर्फ जान खोजेपछि फेरि झडप भयो । त्यो ठाउँमा लगातार तीन पटक झडप भयो । तीनै पटक प्रहरीले अश्रुग्याँस प्रहार गर्‍यो । त्यहाँ जनमत पार्टीका कार्यकर्ताले प्रहरीले फ्याँकेको अश्रुग्याँसको सेल प्रहरीतिरै फालेका थिए भने प्रहरीले लाठी प्रहार गर्दा आफूहरूले बोकेको बाँसको भाटाले रोक्न खोजेका थिए ।

अरू दिन जस्तै यस दिन पनि आफ्नो प्रदर्शनबारे जनमत पार्टीले पूर्व सूचना दिएको थिएन । एक्कासी लाठी, भाटा सहित निस्किएका यो पार्टीका कार्यकर्ताले आठ जना जनप्रतिनिधिको गाडी तोडफोड गरे । गाडीमा प्रहार गर्दा जनता समाजवादी पार्टी (जसपा) का प्रदेश सांसद अशोक यादवको हातमा चोट लाग्यो । सर्लाहीको हरिऔन नगरपालिकाका मेयर गणेश प्रसाईंको टाउकोमा पनि चोट लाग्यो ।

जनमत पार्टीका कार्यकर्ताले सोही दिन जलेश्वर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सतिश साह चढेको गाडी तोडफोड गर्दै उनीमाथि पनि आक्रमण गरे । बर्दिवासतर्फ जाँदै गर्दा जनकपुरधामको पिडारी चोकमा गरिएको आक्रमणबाट घाइते भएका डा. साहको मुखमा ८ वटा टाँका लगाउनुपरेको छ । त्यसबेला प्रहरीको लाठी प्रहारबाट जनमत पार्टीका केही कार्यकर्ता पनि घाइते भएका थिए ।

किसानको हक–अधिकारका लागि भनेर जनमत पार्टीले पछिल्लो एक महीनायता मधेशमा आन्दोलन गर्दै आएको छ । जनकपुरधाममा भएको तोडफोड र क्षति त्यसको एउटा घटना थियो ।

यसअघि पनि सिरहाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाइ गरेपछि केही किसानले आफैं लिएर गएका थिए । २०७८ पुसको पहिलो साता किसानले गहुँ लुटेको आरोपमा प्रहरीले चार जना विरुद्ध मुद्दा दायर गर्दै एक जनालाई पक्राउ गरेपछि जनमत पार्टीले किसान आन्दोलन शुरू गरेको हो ।

किसान पक्राउ गरेको विरोधमा ११ पुसमा सिरहा बन्दको घोषणा गरेको यो पार्टीका कार्यकर्ताले सोही दिन पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिकामा ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगो लगाइदिएका थिए ।

किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, वर्षाले क्षति भएको अन्नबालीको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको बीमा गर्नुपर्ने जस्ता किसान हितका मागबाट शुरू भएको यो आन्दोलनका क्रममा धनुषा, सिरहा र सप्तरीमा आधा दर्जन ट्रकमा आगो लगाइसकिएको छ । यस बीचमा मधेशमा विभिन्न जिल्लामा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भइरहेको छ ।

मधेशमा चलिरहेको आन्दोलनको केन्द्रमा छन् डा. सिके राउत । अमेरिकामा बसोबास गर्दै आएका डा. राउत सन् २०११ मा नेपाल फर्किएका थिए । सप्तरीको महादेवा घर भएका उनी नेपाल फर्किएलगत्तै ‘स्वतन्त्र मधेश गठबन्धन’ गठन गरी स्वतन्त्र मधेशको माग राखेर शान्तिपूर्ण संघर्ष शुरू गरेका थिए । त्यस क्रममा धेरै पटक पक्राउ परे ।

२४ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग ११ बुँदे सम्झौता गर्दै उनले ‘स्वतन्त्र मधेश गठबन्धन’ विघटन गरे । डा. राउतले सो गठबन्धन विघटन गरेको विषयलाई ओलीले अहिले पनि आफ्नो कार्यकालको एक प्रमुख उपलब्धिको चर्चा गर्दै अब देशमा ‘विखण्डनकारी’ नरहेको बताउने गरेका छन् ।

सिरहाको लहानमा ४ चैत २०७७ मा भएको राष्ट्रिय परिषद् बैठक मार्फत डा. राउतले जनमत पार्टी गठन गरे । नयाँ पार्टी गठन गरेपछि सामान्य गतिविधि गर्दै आएको यो पार्टीले ४ कात्तिक २०७८ देखि आफ्ना गतिविधिलाई तीव्र बनाएको छ । ४ कात्तिकमा जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहलाई कालोमोसो दलेर नगर परिक्रमा गराएर सार्वजनिक रूपमा अराजक गतिविधि गर्दै आएको यो पार्टी लोकप्रिय मुद्दाको खोजीमा छ भन्ने स्पष्ट हुन्छ । सो घटनामा पनि जनमत पार्टीका कार्यकर्ताको तर्क थियो, ‘भ्रष्टाचार गरेकाले कुशवाहलाई यस किसिमको कारबाही गरिएको हो ।’ घटनामा संलग्न रहेको भन्दै प्रहरीले जनमतका १७ जना कार्यकर्तालाई मुद्दा चलाए पनि उनीहरू सबै रिहा भइसकेका छन् ।

मधेश मुद्दा छैनन् एजेण्डा

डा. सिके राउतको जनमत पार्टीले मधेशमा आन्दोलन गरिरहेको छ । तर आश्चर्यको कुरा उसको आन्दोलनको केन्द्रमा यसअघि मधेशमा उठ्ने मुद्दाहरू छैनन् । जनसंख्याको आधारमा प्रतिनिधित्व, समग्र प्रदेश एक प्रदेश, नागरिकताबाट वञ्चित भएकालाई नागरिकता उपलब्ध गराउनुपर्ने, समानुपातिक समावेशी नीति लागू गरिनुपर्ने सहितका विषय मधेशमा बारम्बार उठ्ने लोकप्रिय मुद्दा हुन् । वेदानन्द झादेखि गजेन्द्रनारायण सिंहले उठाएका यी मागहरू अहिले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताले अगाडि बढाइरहेका छन् ।

काठमाडौंको सत्तासँग राखिंदै आएका यी माग पूरा गराउन मधेशमा विभिन्न पटक आन्दोलन भएका छन् । आन्दोलनका क्रममा १०० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । आन्दोलन पछि पटक–पटक सरकारसँग सम्झौताहरू पनि भएका छन् । अहिलेसम्म पनि ती विषयमा सिंहदरबार र मधेशमा दलहरूबीच कुरा मिल्न सकेको छैन ।

मुलुक संघीयतामा आएपछि केही मुद्दा सम्बोधन भएका र केही मुद्दा अझै बाँकी छन् । समग्र मधेश एक प्रदेशको माग गरे पनि मधेशले ८ जिल्ला मात्रै पाएको छ । नागरिकता समस्या अहिले पनि समाधान हुनसकेको छैन । जसका निम्ति अहिले पनि मधेशवादी दलहरूले संविधान संशोधनको माग उठाइरहेका छन् ।

सिके राउत

तर मधेश भूमिबाट राजनीति शुरू गरेका सिके राउतले यी मागलाई कहिल्यै पनि उठाएनन् । शुरूमा मधेशलाई स्वतन्त्र बनाउने अभियान शुरू गरेका राउतले जनमत पार्टी बनाएपछि पहिलो पटक भ्रष्टाचार मुद्दालाई उठाएका छन् । भ्रष्टाचार गरेको भन्दै उनले जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहलाई कालोमोसो दले । अहिले उनी किसानका मुद्दा उठाएर पार्टी राजनीतिलाई समग्र मधेशीको जनजीविकासँग जोड्ने प्रयास गरिरहेका छन् ।

वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल वर्षौंदेखि मधेशमा अधिकार प्राप्तिका लागि भएको आन्दोलन सामाजिक न्यायको लडाइँ पनि भएको बताउँछन् । ‘अहिले पनि यो लडाइँलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ’ उनी भन्छन्, ‘तर सिके राउतको आन्दोलनले यता हेरेको छैन । त्यसैले यो मधेश आन्दोलनलाई निस्तेज पार्ने एक योजना हो ।’

रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरका प्राध्यापक अजय यादव मधेश मुद्दा अहिले पनि बाँचेकै अवस्थामा रहेको बताउँछन् । ‘यो रहिरहन्छ र चल्छ पनि’ उनी भन्छन्, ‘सामूहिक विकासका लागि आन्दोलन हुनुपर्नेमा सिके राउतको आन्दोलन त्यसतर्फ केन्द्रित देखिएको छैन ।’

सिके राउतको आन्दोलनमा सहभागी भएकाहरूको मुख्य माग नै बुझिनसक्नु रहेको भन्दै यादव भन्छन्, ‘मात्रै सिके राउतको एजेन्डा सही छ भनेर कुनै निचोडमा पुग्न सकिंदैन ।’ कालोमोसो दलेर विकास हुँदैन भन्ने कुरा जनमत पार्टीलाई बुझाउनुपर्ने उनको तर्क छ । उनी भन्छन्, ‘यस्ता कामको परिणाम कहिल्यै राम्रो आउँदैन । परिणाम बुझ्ने कसैले पनि यस्तो कामै गर्दैन ।’

बल प्रयोग गर्दा, उग्र रूप प्रदर्शन गर्दा आन्दोलन निष्कर्षमा पुग्छ भन्ने यो पार्टीको मनसाय देखिएको उनको भनाइ छ । यादव भन्छन्, ‘हिंसात्मक विद्रोह क्षणिक हुन्छ, उसको धेरै आयु रहँदैन । यो हामीले देखिसकेका छौं ।’

विश्लेषक चन्द्रकिशोर सिके राउतकै कारण विगतमा पनि मधेशमा समस्या बढेको र अहिले पनि बढिरहेको बताउँछन् । मधेशमा राम्रा विद्यालय, कलेज, अस्पताल खोलिनुपर्नेमा समग्र मधेशमा सैनिकीकरणको विस्तार भएको उनको भनाइ छ ।

‘आज जुन किसानको सवाल उठाइएको छ ठीक हो, तर सिके राउतकै कारण मधेशमा रहेका सरकारी कृषि फर्महरूमा सैनिकीकरण भएको छ’ राउतले स्वतन्त्र मधेशको माग गर्दा ती फर्ममा कतै सेना बसेका छन् त कतै सशस्त्र प्रहरी बसेका छन् ।’

मधेशको जनजीवनमा राज्यले सैनिकीकरण गर्न र सैनिक संरचनाको सञ्जाल विस्तार गर्न सिके राउत आधार बनेको उनको तर्क छ । स्वतन्त्र मधेशको माग उठाउने सिके राउतलाई देखाएर राज्यले मधेशमा सैनिकीकरण गरेको हो । ‘कृषकको मुद्दा उठाउने राउत राज्यले कृषि फर्मलाई सैनिकीकरण गर्दा केही बोलेका छन् ?’ झाको प्रश्न थियो ।

लोकप्रिय मुद्दा, आन्दोलनको गलत शैली

पछिल्लो पटक जनमत पार्टीले उठाएको किसानको मुद्दालाई मधेशमा अधिकांशले सही भनेका छन् । तर, माग पूरा गराउन उनले शुरू गरेको आन्दोलनमा भने धेरैको विमति छ । पूर्व–पश्चिम राजमार्ग बन्द गरेर सडक जाम गर्नु, सर्वसाधारणको गाडी तोडफोड र आगजनी गर्नु जस्ता कामले उनले उठाएका किसानका मुद्दालाई ओझेलमा पारेको ठान्नेहरू पनि मधेशमा थुप्रै छन् ।

आफूलाई गान्धी र बुद्धको बाटोमा रहेको भन्ने व्यक्तिले जुन ढंगले हुलहुज्जत, अर्काे व्यक्तिको स्वतन्त्रताको हनन गरिरहेको छ यो मिल्दै नमिल्ने कुरा हो । विश्लेषक चन्द्रकिशोर सिके राउतलाई प्रश्न गर्छन्, ‘तपाईं कुन ढंगको राजनीति गर्न खोज्दै हुनुहुन्छ ?’

अहिलेको सिके राउतको राजनीतिले नेपालको राजनीतिमा वर्चश्वशाली पक्षलाई लाभ पुगिरहेको चन्द्रकिशोरको ठम्याइ छ । मधेशका सीमान्तकृत जनतालाई सचेत गर्नुभन्दा वर्चश्वशाली समुदायलाई यो आन्दोलनले लाभ पुर्‍याइरहेको उनी बताउँछन् ।

मधेशमा भएको तीन वटा ठूला आन्दोलनको कोर एजेन्डासँग सिके राउतले कहिल्यै पनि आफूलाई नजोडेको र मधेश आन्दोलनमा कतै पनि उनको हिस्सेदारी नदेखिएको विश्लेषक चन्द्रकिशोरको भनाइ छ । सिके राउतको ओली सरकारसँगको सम्झौतापछिको नयाँ संदिग्ध राजनीति रहस्यपूर्ण किसिमको रहेको उनको भनाइ छ ।

वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल सिके राउतले उठाएका किसानको मुद्दा जायज भए पनि आन्दोलनको तरिका गलत रहेको बताउँछन् । ‘किसानले बीउ, मलखाद अहिले पनि पाइरहेका छैनन् । उनीहरूमाथि उत्पीडन र विभेद छ । त्यही भएर यो मुद्दा जायज छ’ उनी भन्छन्, ‘तर जुन ढंगले आन्दोलन गइरहेको छ, यहाँबाट कहीं पनि पुगिंदैन, यो तरिका गलत छ ।

शान्तिपूर्ण आन्दोलन नगरे सिके राउतको आन्दोलन समाप्त हुने मण्डल बताउँछन् । ‘यसबारे जनमत पार्टीको नेतृत्वले सोच्नुपर्छ । तर यो पार्टीमा यसरी सोच्ने कति जना छन् भन्ने मलाई थाहा भएन’, उनी भन्छन् ।

स्पेस खोज्ने प्रयास

अहिले मधेशमा सिके राउतको पार्टीले जे गरिरहेको छ त्यसलाई दलहरू निर्माण हुँदै गर्दाको प्राथमिक अवस्थाको बाध्यता भनेर बुझ्नेहरू पनि छन् । कुनै पनि राजनीतिक दलले आफू उदाउने बेलामा आफ्नो ‘स्पेस’ खोज्ने गर्छ । विश्लेषक चन्द्रकिशोर सिके राउत पनि अहिले मधेशमा आफ्ना लागि ‘स्पेस’ खोज्नेतर्फ लागेको बताउँछन् ।

चन्द्रकिशोर

‘कुनै पनि राजनीति गर्ने मान्छेले आफ्नो स्पेस खोज्छन् । स्पेसका लागि नयाँ–नयाँ एजेन्डा, नयाँ–नयाँ तरिकाहरू अपनाउँछन् । नयाँ दल आउन चाहन्छ भने नयाँ तरिकाले आउनु पनि पर्छ । जनमत पार्टीले पनि यही तरिका अपनाएको हुन सक्छ’ उनी भन्छन् ।

तर मधेशमा राज्यको अनुदार व्यवहार खासगरी नेकपा एमालेको अनुदार व्यवहारका बारेमा जनमत पार्टीले कहिल्यै केही नबोलेको, कांग्रेसको बारेमा पनि कुनै प्रतिक्रिया नदिएको र मधेशमा बलियो रहेको जसपाको बारेमा मात्रै बोलिरहेकोमा धेरैलाई अनौठो लागेको छ । विश्लेषक चन्द्रकिशोर जसपामाथि प्रहार गरेर उसको आधार कमजोर बनाउने र आफू स्थापित हुने सिके राउतको रणनीति हुनसक्ने बताउँछन् ।

वरिष्ठ राजनीतिज्ञ मण्डल पनि दुई पटक ओलीले संसद विघटन गर्दा सारा देश एक ठाउँमा रहेको बेला राउतले त्यस बारेमा केही नबोलेको र अहिले अकस्मात् किसान आन्दोलन शुरू गर्नु अलिक नमिल्दो देखिएको बताउँछन् ।

‘सिके राउत जुन ढंगले मूल धारमा आए, ओलीसँगको सम्झौतापछि आएका हुन्’ मण्डल भन्छन्, ‘अर्काे कुरा अरू विषयमा मौन रहनु र अहिले आएर किसानको मुद्दा उठाउनु मधेशलाई कमजोर बनाउनु हो ।’ मण्डल त सिके राउत एमालेका लागि काम गरिरहेको हुनसक्ने ठान्छन् । बिहारमा चुनाव हुँदा चिराग पासवानलाई बीजेपीले ललिपप देखाए झैं सिके राउतको अवस्था हुनसक्ने मण्डलको आकलन छ ।

मधेशमा जसपा–जनमत पार्टी द्वन्द्व

सिके राउतले किसान आन्दोलन शुरू गरेपछि जसपासँगको द्वन्द्व सतहमा आएको छ । जनकपुरधाममा खानेपानी तथा ढल निकास कार्यालयका प्रमुखलाई कालोमोसो दलेपछि जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले जनमत पार्टी विरुद्ध प्रदर्शन गर्दै उसको कार्यालयको बोर्ड तोडफोड गरेका थिए ।

अहिले पनि यी दुई दलका कार्यकर्ता भौतिक रूपमा मात्रै होइन, सामाजिक सञ्जालमा पनि एकअर्कासँग भिडिरहेका छन् । जसपा नेतृ समेत रहेकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा. सिके राउतलाई गौर हत्याकाण्डमा जस्तै मारिदिने धम्की पनि दिएकी छन् ।

तर, जसपाको उत्तेजना ठीक नभएको मधेशका बुद्धिजीवीहरूको भनाइ छ । ‘रेणुको अभिव्यक्तिलाई कुनै पनि विवेकशील व्यक्तिले समर्थन गर्न सक्दैनन्’ वरिष्ठ राजनीतिज्ञ मण्डल भन्छन्, ‘हर व्यक्तिले सधैं सोचविचार गरेर बोल्नुपर्छ । त्यसमा पनि पदमा रहेका व्यक्तिले त झन् गम्भीर रूपमा सोचविचार गरेर मात्रै बोल्नुपर्छ । म आफैंले त्यो भिडियो हेरें, उहाँ यति उत्तेजित हुनुहुँदैनथ्यो ।’

मण्डल मधेशवादी दलहरूले पनि किसानको समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिनु जरूरी रहेको ठान्छन् । ‘उत्तेजनामा आउनुभन्दा राउतसँग कुरा गरेर आन्दोलनको दिशा बदल्नु जरूरी छ’, उनी भन्छन् ।

विश्लेषक चन्द्रकिशोर राउतको पार्टीले किसानको सवाल उठाउँदा राज्यले दमन गर्ने भन्दा पनि समस्या समाधानतर्फ ध्यान दिनु जरूरी रहेको बताउँछन् । उनी भन्छन्, ‘अन्य दलले पनि प्रतिवाद गर्ने होइन समस्या समाधानतर्फ ध्यान दिनुपर्छ । जनमत पार्टीमा केही आकर्षण बढेको हो भने आफूहरूले कहाँ गल्ती गरियो भनेर त्यसतर्फ विचार गर्नुपर्छ ।’

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?