
२१ माघ, काठमाडौं । आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सर्वाधिक ७ पटकको च्याम्पियन इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।
गोलकिपर गावास्कीले दुई पेनाल्टी रोक्दै नायक बनेपछि इजिप्टले घरेलु टोली क्यामरुनलाई दोस्रो सेमिफाइनलमा ३-१ ले पराजित गरेको हो ।
यसअघि अन्तिम १६ को खेलमा आइभरीकोष्टलाई पराजित गर्दा पनि गावास्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
मोहमेद सालाहको इजिप्टले अब उपाधिका लागि साडियो मानेको सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो ।
पेनाल्टीमा इजिप्टका अहमेद सायद, मोहमद अब्देलमोनेम र मोहनद लाश्हेनले गोल गरे ।
क्यामरुनका कप्तान भिसेन्ट अबुबाकरले गोल गरे । हारोल्ड मोउकोदी, जेम्स लिए सिलिकीको प्रहार इजिप्टका गोलकिपर गावास्कीले रोके । क्लिन्टन एनजीले प्रहार पोष्टभन्दा बाहिर गएको थियो ।
अब इजिप्ट र सेनेगलबीच फाइनल खेल आइतबार क्यामरुद्दको राजधानी योउन्डेस्थित ओलेम्बे स्टेडियममा हुनेछ । फाइनललाई सालाह भर्सेस मानेको रुपमा समेत हेरिएको छ ।
यी दुवै प्रिमियर लिग क्लब लिभरपुलबाट व्यवसायिक फुटबल खेल्छन् भने वर्तमान समयमा अफ्रिकाको उत्कृष्ट फुटबलरको रुपमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4