+
+

मेलम्ची खानेपानी : चक्रपथभित्र अझै साढे ६०० किलोमिटर पाइप बिछ्याउन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते ९:४३

२४ माघ, काठमाडौं । काठमाडौंको चक्रपथभित्रका क्षेत्रमा अझै करिब साढे ६ सय किलोमिटर सडकमा पानीको पाइप बिछ्याउन बाँकी रहेको देखिएको छ ।

काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्न नयाँ पाइप बिछ्याउने परियोजनाअन्तरगत निर्माणाधीन ८ सय किलोमिटर क्षेत्रको काममा करिब १५० किलोमिटर क्षेत्रको काम भएको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रवक्ता उज्वल प्रजापतीका अनुसार काठमाडौं महानगरपालिका र सडक विभागसँग क्रमैसँग सडक खन्ने अनुमति लिएर काम भइरहेको छ ।

अहिले धुम्बाराही, महाराजगञ्ज, सामाखुसी, नयाँबजार, कलंकी, कालीमाटीलगायत क्षेत्रमा पाइप बिछ्याउन ठेक्का लागेर काम भइरहेको छ । सो क्षेत्रमा करिब डेढ सय किलोमिटरमा पाइप बिछ्याउने काम सकिएको र ६५० किलोमिटर क्षेत्रमा काम गर्न बाँकी रहेको प्रवक्ता प्रजापतीले बताए ।

तर, सडक विभागले तुरुन्तै सडक मर्मत गर्ने प्रतिवद्धता नगरे पीआईडीलाई अनुमति नदिने बताइरहेको छ । सडक विभागका महानिर्देशक शिवहरि सापकोटा पुरानै शैलीमा सडक खन्ने र अलपत्र छाड्ने काम भइरहेकाले यथास्थितिमा अनुमति दिन नसकिने बताउँछन् ।

पीआईडीका अनुसार सन्दरीजलदेखि चाबहिलसम्म नयाँ थोक वितरण लाइन बिछ्याउन पनि ठेक्का लागेको छ । यसरी पाइप बिछ्याउँदा विगतकै जसरी सडकमा धुलो र हिलोको समस्या बढेको छ ।

अहिलेसम्म पीआईडीले ७७ किलोमिटरको थोक वितरणलाइन र १ हजार किलोमिटर वितरणलाइन बिछ्याउने काम गरिसकेको छ । १० वटा पानी ट्यांकी पनि बनाएको छ । पीआईडीले करिब ४ सय किलोमिटर पाइपलाइन परीक्षणको काम गरिसकेको छ ।

गत असार २०७८बाट मेलम्चीको पानी आउन बन्द भएकाले पानी अभावले नयाँ वितरणलाइन परीक्षणको काम सुस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?