+
+
मारमा गौरवको आयोजना :

तामाकोशीलाई उर्दी : रोल्वालिङको पूर्वतयारी रोक्नू, अनुमतिविना संरक्षण क्षेत्र नपस्नू

तामाकोशीको बिजुली बढाउने आयोजनाको पूर्वतयारीमा रोक

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ माघ २३ गते २०:५१

२३ माघ, काठमाडौं । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत कम्पनीअन्तर्गत पहिचान भएको २२ मेगावाटको रोल्वालिङ जलविद्युत् आयोजनाको पूर्वतयारीको काम रोक्न निर्देशन दिएको छ । माथिल्लो तामाकोशी र त्यसको क्यासकेड तामाकशी-५ जलविद्युत् आयोजनाको विद्युत उत्पादन क्षमता बढाउन यो आयोजनाको पहिचान भएर निर्माणका लागि पूर्वतयारीको काम चलिरहेको छ ।

निर्माणस्थल रहने भनिएको स्थानमा अनुगमन गर्दा भौतिक निर्माणको काम भइरहेको देखिएकाले काम रोक्न भन्दै राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगतको आयोजनाले गत ७ माघ २०७८मा ‘काम नरोके कानुन बमोजिम हुने’ भन्दै चेतावनी पनि दिँदै पत्र काटेको छ । आयोजनाले १७ माघ, २०७८मा लेखेको अर्को पत्रमा आफ्नो क्षेत्रमा कुनै कारणवश प्राविधिकहरू पठाउनुपरेमा प्रवेश गर्नुअघि अनुमति लिन पनि अपर तामाकोशी जलविद्युत कम्पनीलाई निर्देशन पनि दिएको छ ।

निर्माणको पूर्वतयारीको लागि पुल, गोरेटो, घोडेटो, अडिट सुरुङलगायतका पूर्वाधार बनाउने काम सुरु भएलगत्तै आयोजनाले रोल्बालिङ आयोजनाको पूर्वतयारी रोक्न भन्दै माथिल्लो तामाकोशी जलविद्युत कम्पनीलाई लिखित निर्देशन दिएको हो ।

तामाकोशी जलविद्युत आयोजनाले रोल्बालिङ जलविद्युत आयोजनाको पूर्वतयारीका कामका लागि ठेक्का सम्झौता गरेर एक वर्षदेखि काम गरिरहेको थियो । कम्पनीले स्थानीय कामदार परिचालन गरेर पहुँचमार्ग र अडिट टनेल बनाउने लगायत विभिन्न पूर्वतयारीका काम गरिरहँदा संरक्षण आयोजनाले काम रोकेको हो । आयोजनाले बाटो मर्मत थालेपछि स्थानीयहरू उत्साहित थिए ।

तर, आयोजनाले गत ७ माघमा तामाकोशीलाई लेखेको पत्रमा वातावरणीय प्रतिवेदन स्वीकृत भएपश्चात तथा आयोजनाको कार्यालयले स्वीकृति दिएपछि मात्रै काम सुरु गर्न निर्देशन दिइएको छ ।तर, तामाकोशी जलविद्युत आयोजनाका एक अधिकारी पूर्वतयारीकै चरणमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन माग्नु उचित नभएको बताउँछन् । ‘वातावरणीय असर नपर्ने गरी सामान्य तवरको पूर्वतयारीभित्रका निर्माणका काम सुरु भएको हो, आयोजना निर्माणको मूल कामको ठेक्का लागेको छैन,’ ती अधिकारीले भने,’आयोजना स्थलतर्फ जाने पुल बनाउने, गोरेटो बाटो बनाउने र अडिट टनेल बनाउने लगायतका काम थाल्दा नै आयोजनाको पत्र आएको छ, यो उचित हैन ।’

आयोजनाका अनुसार वातावरणीय प्रतिवेदन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अध्ययन र पूर्वतयारीको चरणमा रहेको आयोजनाको हात बाँधिदिनु गलत भएको भन्दै ती अधिकारीले आयोजनाले आफ्नो क्षेत्राधिकार मिचेर निर्देशन दिएको आरोप लगाए ।

‘आयोजना निर्माण्को लागि वातावरणीय प्रतिवेदन स्वीकृत गरेर मात्रै ठेक्का लाग्छ,’ ती अधिकारीले भने,’अध्ययनकै क्रममा  कुनै आयोजनामा वातावरणीय प्रतिवेदन मागिएको हामीलाई जानकारी छैन ।’

उर्दीमाथि उर्दी

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले प्रसारणलाइनहरुको निर्माण, सञ्चालन तथा मर्मत अनुगनका लागि संरक्षण क्षेत्रमा प्रवेश गर्नुअघि अनुमति लिन पनि तामाकोशी जलविद्युत कम्पनीलाई निर्देशन दिएको छ । उसले कम्पनीमा कार्यरत कर्मचारीको विवरण समेत मागेको छ ।

त्यसैगरी आयोजनाले गत मंसिरमा गौरीशंकर संरक्षण क्षेत्रबाट उपयोग गरेको ढुंगागिट्टी र बालुवाको परिमाण अनुसार दस्तुर दाखिला गर्न कम्पनीलाई निर्देशन दिएको थियो । तर, आयोजनाले आफूले स्थानीय तहलाई नै त्यस्तो राजस्व तिर्ने गरेको जवाफ दिँदै आएको छ ।

गौरीकशंकर संरक्षण क्षेत्र आयोजनाको यस्ता गतिविधिलाई तामाकोशी जलविद्युत आयोजनाले ‘दादागिरी’ भनेको छ ।  ‘आयोजनामा जति बेलामा पनि समस्या आउन सक्छ, यो देशभरको विद्युत् आपूर्तिको सवाल हुन्छ, आवश्यक पर्दा तुरुन्तै कम्पनीभन्दा बाहिरबाट प्राविधिकहरु बोलाएर काम गर्नुपर्ने हुनसक्छ ‘ आयोजनाका ती अधिकारीले भने,’प्रसारणलाइनमा समस्या आउँदा फिल्डमा जान कसैको अनुमति चाहिन्छ भन्ने कुरा खेदजनक छ ।’

तामाकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठ आयोजनासँग छलफल गरेर विवादका विषय टुंगो लगाइने बताउँछन् । वातावरणप्रति आफूहरु पनि सम्वेदनशील रहेकाले  आयोजनासँग मिलेरै रोल्बालिङको काम अघि बढाउने उनको भनाइ छ । 

किन महत्वपूर्ण रोल्वालिङ ?

नयाँ आयोजना बन्न लागेको रोल्वालिङ खोला छोरोल्पा हिमतालबाट निस्केको पानी बग्ने खोला हो । यो खोलाको पानी अहिले माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा तल खस्छ । यो आयोजना बनेपछि भने रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा माथि लगेर खसाइनेछ र २२ मेगावाट बिजुली पनि उत्पादन गरिनेछ । यसबाट तामाकोशीमा हिउँदमा पनि पानीको मात्रा बढेर माथिल्लो तामाकोसी आयोजनाको विजुलीको उत्पादन बढ्नेछ । यसले भारतबाट पिक आवरमा विद्युत आपूर्ति गर्नुपर्ने बाध्यता हटाउन सघाउँछ ।

विद्युत विकास विभागबाट २०७४ को भदौमा नै २२ मेगावाटको रोल्वालिङ जलविद्युत आयोजना निर्माण गर्ने अनुमति पनि तामाकोशीले नै पाएको थियो । रोल्वालिङको पानी तामाकोशीको रिजर्भ्वायरमा खसाल्दा तामाकोसीबाट हिउँदमा पनि उत्पादन बढ्नेछ ।

तामाकोशीको जलाशयको सतहभन्दा करिब दुई सय मिटरमाथिबाट रोल्वालिङ डाइभर्सनको सुरुङ आउँछ । उक्त ‘वाटर हेड’ प्रयोग गरी २२ मेगावाटको अलग्गै आयोजना निर्माण गर्न लागिएको छ । यसबाट हिउँदमा १६ करोड ९० लाख युनिट बिजुली थपिने अनुमान छ । यसले २ सय गिगावाट आवर थप विजुली प्राप्त गर्न सहयोग गर्ने छ ।

करिब ८० मेगावाटका आयोजनाबाट उत्पादन हुने बराबरको विद्युत रोल्वालिङ डाइभर्सनबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । त्यसका लागि करिब सात किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यसको विस्तृत अध्ययन भएर अडिट टेनल निर्माणको तयारी सुरु भएकै अवस्थामा काम रोकिएपछि आयोजनाको भविष्य अन्योलमा परेको छ ।

माथिल्लो तामाकोशीमा ऋण लगानी गरिरहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकायले यसमा लगानी गरेका छन् । रोल्वालिङ डाइभर्सनको बाँधस्थल विकट क्षेत्रमा रहेकाले त्यहाँसम्म समान आपूर्ति गर्न घोडेटो र रोप-वे निर्माणको काम गर्नुपर्ने छ ।

तर, गौरीशंकर आयोजनाले अनेक बाहाना बनाएर पूर्वतयारीकै क्रममा आयोजनालाई दुःख दिन थालेपछि यो आयोजनाको भविष्यबारे तामाकोशीका अधिकारीहरु चिन्तित छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?