+
+

लताको प्रार्थनामा शाहरुखले फुकेका थिए, तर बहसमा ‘थुक’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १४:४१

२४ माघ, काठमाडौं । ‘जिरो’ रिलिज भएको तीन वर्ष भइसक्दा नयाँ चलचित्र दर्शकमाझ नल्याएका बलिउड अभिनेता शाहरुख खान सामाजिक सञ्जाल र सञ्चारमाध्यममा खासै देखिंदैनन् ।

पछिल्ला वर्षमा शाहरुख सामाजिक सञ्जाल र युट्युबमा सर्वाधिक धेरै ‘टार्गेट’ गरिएका अभिनेता हुन् । अझ केही महिनाअघि छोरा आर्यन खानलाई ड्रग्सको मुद्दामा पक्राउ गरिएपछि भने शाहरुख सामाजिक सञ्जालबाट पूर्ण रुपमा टाढा छन् ।

शाहरुख आइतबार लोकप्रिय गायिका लता मंगेशकरको अन्तिम संस्कारमा श्रद्धाञ्जली दिन मुम्बईको शिवाजी पार्कमा पुगेका थिए । त्यसक्रममा शाहरुखले लतालाई जुन तरिकाले प्रार्थना गरे, त्यो विषयमा सत्तारुढ भाजपाका एक पदाधिकारीले प्रश्न उठाएका छन् । अहिले ती पदाधिकारीको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

शिवाजी पार्कमा लताको अन्त्येष्टिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साथै विभिन्न दलका नेता, खेलाडी र बलिउडकर्मी पुगेका थिए । अभिनेता शाहरुख पनि आफ्नो सेक्रेटरी पूजा ददलानीको साथमा पुगेका थिए । लतालाई अन्तिम श्रद्धाञ्जली दिने क्रममा शाहरुखले मुस्लिम संस्कृतिअनुसार हात उठाएर प्रार्थना गरिरहेका थिए भने पूजाले पूजाले हात जोडेर नमस्कार गर्दै अन्तिम श्रद्धाञ्जली दिएकी थिइन् ।

शाहरुखले प्रार्थनाको अन्तिममा झुकेर मास्क हटाए र लताको पार्थिव शरीरमा फुकेका थिए । यही विषयले सामाजिक सञ्जालमा बहस निम्त्याएको हो । भाजपा हरियाणाका आईटी सेल अरुण यादवले ट्विटरमा लेखे, ‘के शाहरुखले थुकेका हुन् ?’

उनको ट्विट आएसँगै शाहरुखले त्यतिबेला के गरेका थिए भन्ने बहस चुलियो । तर, अरुणको ट्विट सार्वजनिक भएसँगै उनको चर्को आलोचना सुरु भयो । समाचार अनलाइन वायरका संस्थापक वरिष्ठ पत्रकार सिद्धार्थ वरदराजनले अरुणको ट्विटको आलोचना गर्दै समाजमा घृणा फैलाउनमा कसको हात छ भनेर अब कुनै शंका नभएको उल्लेख गरे । उनले समाजमा विष फैलाउनु अगाडि वास्तविकता बुझ्न आग्रह गरे ।

भारतका पत्रकार, रेडियोकर्मी, बलिउडकर्मी र शाहरुखका फ्यानले अरुणको ट्विटको चर्को आलोचना गर्दै भारतमा धार्मिक सहिष्णुता फैलाउनमा कसको हात छ भनेर बुझ्न आग्रह गरेका छन् ।

प्रार्थनामा किन फुकिन्छ ?

इस्लाम धर्मावलम्बीहरुले कसैको निधन वा अन्य कुनै अवसरमा फुकेर प्रार्थन गर्ने परम्परा छ । यो प्रार्थना मुस्लिमहरुको पवित्र धार्मिक ग्रन्थ कुरान शरीफमा उल्लेख छ । कसैको निधनमा गरिने प्रार्थनामा दिवंगत व्यक्तिको आत्माको लागि शान्ति मागिन्छ । यसका साथै कसैको दीर्घ जीवन, सफलता वा अन्य कामका लागि पनि प्रार्थना गर्ने गरिन्छ ।

प्रार्थना गरिसकेपछि जसका लागि प्रार्थना गरिन्छ, अनि उसको नजिक गएर फुक्ने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?