+
+

चितवनको ठिमुरामा पुल नबनाए आन्दोलन गर्ने स्थानीयको चेतावनी

सुवास पण्डित सुवास पण्डित
२०७८ माघ २८ गते १८:४३

२८, माघ, चितवन । चितवनको भरतपुर महानगरपालिका-१ ठिमुराबाट तनहुँको देवघाट गाउँपालिका घिनटार जोड्न त्रिशुली नदीमाथि पक्की पुल बन्न थालेको ७ वर्ष भयो । पुल निर्माणको क्रममा दुईपटक भत्कियो ।

बन्दै गरेको पुल भत्किएपछि फेरि पुल बन्ने वा नबने अनिश्चित छ । पुल अनिश्चित भएपछि ठिमुरा चितवन देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिले संघर्ष गर्ने चेतावनी दिएको छ । गएको वर्ष चैत २४ गते विहानै ठिमुरातर्फ कंक्रिटका भर्खर ढलान गरिएका दुईवटा स्पान भत्किएका थिए । त्यसको एक महिना पनि नहुँदै वैशाख १२ गते पुलको बीच भागमा बनिरहेको ८० मिटर लम्बाइको स्टिल स्पान मजदुरले काम गरिरहेको बेला भत्किएको थियो ।

काम गरिरहेका दुई मजदुरहरूको मृत्यु भयो भने, केही घाइते भए । त्यसपछि पुल निर्माणको काम झनै अनिश्चित बन्यो । उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले पुल निर्माणमा हदैसम्म लापरबाही गरिएको अब संघर्षको विकल्प नभएको बताए ।

उनले भने, ‘हामीले पटक पटक तनहुँ चितवनका सबै जसो ठूला नेता, सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, पालिका प्रमुखहरूलाई भन्यौं, गुनासो पोख्यौं, तर कहिँ कतैबाट पुलको अगाडि बढाउनेतर्फ अग्रसरता लिएको देखिएन, अब हाम्रो धैर्यता सकियो ।’

उनले पुल बनाउन ढिला गर्ने, गुणस्तरहीन काम गर्ने, पेटी ठेक्का लगाएर झुलाउने काम गर्दा पनि सडक डिभिजन कार्यालयले कारबाही नगरेको बताए । अध्यक्ष पौडेलले फागुनको पहिलो हप्तासम्म द्रूत गतिमा काम नथाले सडक डिभिजन कार्यालयमा उपभोक्ताहरू आएर ताला लगाउने चेतावनी दिए ।

‘हामी अझै कुरिरहेका छौं, फागुन पहिलो सातासम्मको समय दिएका छौं, यो बीचमा तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारी, जिसस प्रमुख र सडक डिभिजन र ठेकेदारका प्रतिनिधिबीच बैठक राख्न खोजेका छौं’ उपभोक्ता समिति अध्यक्ष पौडेलले भने, ‘ठेकेदारले हदैसम्म दुःख दियो ।’

चितवन र तनहुँ मात्रै नभएर बागमती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८.५ मिटर फराकिलो र २२० मिटर लामो छ। डिजाइनअनुसार पुलका चारवटा स्पान रहने र त्यसमा कंक्रिटका ४०/४० मिटरका तीनवटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ ।

चितवन ठिमुरातर्फ दुईवटा र देवघाटतर्फ एउटा कंक्रिटको स्पान रहनेछ । निर्माणको जिम्मा लिएको इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले पुल भत्किएपछि खासै काम गरेको छैन । निर्माण कम्पनीले १० करोड जतिको क्षति भएको बताउँदै आएको छ । ठेकेदार कम्पनीले बीमाबाट आउनुपर्ने रकम नआउँदा काम सुरु गर्न ढिलाइ भएको बताउँदै आएको छ । अहिले ठेकेदारले साइटमा सामान्य ग्राभेल पुर्ने काम गरिरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरले पनि बीमा रकम भुक्तानीका लागि सहजीकरण गरिरहेको डिभिजन कार्यालयका सूचना अधिकारी शिव खनालले बताए ।

यो पुल बनाउन २०७१ कात्तिक २० मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार तीन वर्षभित्र (२०७४ कात्तिक १९) सम्म पुल बनिसक्नुपर्थ्यो । तर, सम्झौता सकिए पनि विभिन्न बहानामा चार पटकसम्म म्याद थप गर्दै आएको ठेकेदार कम्पनीको म्याद २०७८ असार १२ सम्म तोकिएको थियो। तर, कोभिड-१९ को महामारीका कारणले २०७८ चैतसम्मको समय दिइएको छ ।

ठेकेदार कम्पनीले भत्किएको पुल पुनः बनाउनभन्दा पनि बीमाको रकम ताकेर बसेको छ । ‘चैतसम्म पुल सकिने भन्ने कुरा त अब सम्भव भएन, त्यसपछि हामीले म्याद थप्न पनि सक्दैनौं, के गर्ने हो मन्त्रिपरिषद‍्बाट नै निर्णय भएर आउनुपर्छ’ डिभिजन कार्यालयका सूचना अधिकारी खनालले भने, ‘ठेकेदारले टेको लगाउने पैसा पनि छैन भन्छ, बर्खा आउन धेरै महिना पनि बाँकी छैन, फेरि काम गर्न मुश्किल देख्छु ।’

सम्झौता हुँदा पुलको निर्माण लागत १९ करोड १० लाख रुपैयाँ रहेकामा पछि भेरियसन गरेर २१ करोड ६८ लाख पुर्‍याइएको थियो । त्यसको झण्डै ७५ प्रतिशत रकम ठेकेदार कम्पनीले लगिसकेको छ ।

बीमाको रकम भुक्तानी नभए पनि ठेकेदारले आफ्नै रकमले पुल बनाउनुपर्नेमा कार्यालय दृढ रहेको सूचना अधिकारी खनालले बताए । अब सरकारले थप रकम दिने भन्ने कुरा नहुने उनको भनाइ छ ।

पुलको स्टिल स्पान निर्माणको जिम्मा पाएको जलप नेपाल प्रालिले बीमा दावीको सुनिश्चितता नभएकोले काम गर्न नसक्ने जनाएको छ । कम्पनीले ठेकेदार एलिट एडभेन्चर इन्द्रेणी जेभीलाई पत्र माघ १० गते पत्र लेखेर साइट मोविलाइजेसन नभएको खण्डमा यस बर्ष पुल निर्माणको काम गर्न नसकिने जनाएको छ ।

कम्पनीले दुर्घटना भएको झण्डै एक वर्ष हुन लाग्दासमेत मुख्य ठेकेदार कम्पनी, बीमा कम्पनी र सडक डिभिजनले कुनै चासो नदिएको दुखेसो गरेको छ । बीमा दावी भुक्तानीमा अन्यौल देखिएकोले थप काम अघि बढाउन नसकिने कम्पनीको भनाइ छ ।

गत वैशाख १२ गते पुलको स्टिल संरचना भत्कदा कामदार मजदुर, स्टिलको सबै भाग, आवश्यक औजार र अन्य सामग्रीको क्षति भएको जलप नेपालको भनाइ छ । पुलको बीच भागको स्टिल संरचना निर्माण गर्न ठेकदार कम्पनी र जलप नेपाल बीच २०७६ पुस २ मा सम्झौता भएको थियो ।

पुल भत्केपछि सडक विभाग, इन्जिनियरहरूको एशोसिएसनले छानबिन गरेको थियो । तर, सबै प्रतिवेदनमा असावधानीका कारण पुल भत्किएको निष्र्कष निकालिएको छ । तर, प्रतिवेदन भने सार्वजनिक नगरिएको उपभोक्ता समितिको गुनासो छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?