+
+

को हुन् आईपीएलका अक्सनर एडमेड्स ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते १३:१५

२९ माघ, काठमाडौं । विश्वकै चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणको लागि शनिबार र आइतबार बेंगलरुमा मेगा अक्सन हुँदैछ ।

चार वर्षपछि हुन लागेको मेगा अक्सनमा ६०० खेलाडी समावेश छन् ।

गत सिजन नै मेगा अक्सन हुनुपर्ने भएपनि कोभिड-१९ महामारीका कारण हुन सकेन । त्यसैले यस पटक आईपीएलका फ्रेन्चाइजहरु मेगा अक्सनबाट नयाँ टिम निर्माण गर्ने तयारीमा छन् ।

अक्सनमा ३८० भारतीय र २२० विदेशी खेलाडी समावेश छन् । नेपालबाट कप्तान सन्दीप लामिछाने मात्र अक्सनमा समावेश छन् ।

मेगा अक्सन भएकाले यस पटकको अक्सन बहुप्रतिक्षित बनेको छ । विश्वका नाम चलेका खेलाडीहरु पनि यस पटक अक्सनमा पुगेका छन् ।

विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको अक्सनमा को खेलाडी लिलामी होलान्, कुन टिमले को खेलाडी भित्र्याउला, कस्तो टिम बन्ला भनेर अनेक अड्कलबाझी भइरहेको छ ।

खेलाडी र टिमको बारेमा धेरै नै चर्चा हुने गर्छ । तर यहाँ चर्चा गर्न लागेको विषय भने खेलाडी र टिम होइन । यो त समग्र अक्सनलाई सञ्चालन गर्ने, खेलाडीको नाम अक्सनमा प्रस्तुत गर्ने अनि कुन खेलाडी कुन टिममा अनुबन्ध भए भनेर भन्ने व्यक्तिको बारेमा हो । जसले समग्र अक्सनलाई पारदर्शी ढंगले सञ्चालन गर्छ । अक्सन गर्नेलाई अक्सनर भनिन्छ ।

यस पटक बेंगलरुमा दुई दिनको आईपीएल अक्सन सञ्चालन गर्नेछन् ब्रिटेनका ह्युग एडमेड्सले । जो संग अक्सनमै ३६ वर्षको अनुभव छ ।

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले सन् २०१८ मा रिचर्ड म्याडलीको स्थानमा एडमेड्सलाई अक्सनरको रुपमा नियुक्त गरेको थियो ।

उनै एडमेड्सले दुई दिनको मेगा अक्सन सञ्चालन गर्नेछन् । २०१८ मा उनै एडमेड्स अक्सनमा चर्चित बनेका छन् ।

३६ वर्षे लामो अक्सन करियरमा एडमेड्सले विश्वभर विभिन्न २ हजार ५०० भन्दा बढी अक्सन गरिसकेका छन् ।

एडमेड्स अन्तर्राष्ट्रिय फाइन आर्ट, क्लासिक कार र च्यारिटी अक्सनर हुन् । जसले समग्रमा अक्सनबाट ३ लाख भन्दा बढी वस्तु बिक्री गरिसकेका छन् ।

उनी अन्तर्राष्ट्रिय अक्सनर हुन् ।  एडमेड्ससंग चित्रकला, राम्रो फर्निचर, सेरामिक, चलचित्र र खेलकुदसहित विभिन्न वस्तुहरुको अक्सन गरेको अनुभव छ ।

सन् २००४ मा उनले एरिक क्ल्याप्टनसँग सम्बन्धित ८८ गिटारहरूको लिलामी सञ्चालन गरे र कुल ७४ लाख ३८ हजार ६२४ अमेरिकी डलर उठाए ।

एड्मेड्सले सन् २००५ मा बालबालिकाको सहायताका लागि बीबीसीको टेलिभिजन सेलिब्रेटी अक्सन सञ्चालन गरे । यस्तै २००८ मा लण्डनमा भएको नेल्सन मन्डेलाको ९०औं जन्मदिनको अवसरमा उनै एडमेड्स अक्सनर थिए ।

उनले विश्वका ३० सहरहरूमा ८५० भन्दा बढी परोपकारी कोष सङ्कलनका लागि लिलामी पनि सञ्चालन गरेका छन् ।

एड्मेड्स यस पटक आईपीएलको मेगा अक्सन सञ्चालन गर्न उत्साहित छन् । यसअघि धेरै फ्रेन्चाइजले ठूला खेलाडी रिटेन गरिसक्ने भएकाले अक्सनमा थोरै खेलाडी मात्र हुन्थे ।

तर यस पटक भने धेरै खेलाडीहरु अक्सनबाट लिलामी हुनेछन् । ‘म धेरै उत्साहित छु । मेरो यसअघिका आईपीएल अक्सनमा ठूला खेलाडी आफ्ना टिममा रिटेन भइसकेकाले ६० को हाराहारीमा मात्र स्थान खाली हुन्थ्यो । यस वर्ष २१७ स्थान खाली छ । धेरै ठूला नामहरु छन्,  जसलाई मैले यसअघि अफर गर्ने अवसर पाएको थिइन’ एडमेड्सले स्पोरर्टस् स्टारसंग भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?