
१ फागुन, काठमाडौं । १४ फ्रेबुअरी अर्थात् प्रेम दिवस । विश्वभरका मायालु जोडीले यो दिनलाई माया साटेर मनाउने गर्दछन् । नेपालमा पनि प्रेम दिवसको रौनकले छोएको लामै समय भइसकेको छ ।
प्रेम दिवसलाई लक्षित गरेर चलचित्रदेखि म्युजिक भिडियो रिलिज गर्ने क्रम पनि बढेको छ । फागुन २ गते ‘माया’ बोलको गीत सार्वजनिक हुँदैछ । ट्री इन्टरटेन्मेन्टले सार्वजनिक गर्न लागेको गीतको भिडियोमा राज, डेलविस, प्रियना आचार्य र पूनम गौतमले मोडलिङ गरेका छन् ।
प्रेम दिवसको विषयमा यी कलाकारहरुको पनि आ-आफ्नै बुझाइ छ । मोडल तथा कलाकार प्रियना आचार्य आफू अहिलेसम्म प्रेममा नपरेको दाबी गर्छिन् । उनले आफूलाई माया गर्ने मानिसमा परिवारसँगको निकटता पनि हुन आवश्यक रहेको बताइन् । मोडल पूनम गौतमले पनि भ्यालेन्टाइन्स डेमा गीतको प्रमोसन गरेरै बिताउने बताइन् । तर उनले आफूलाई माया गर्ने, पेशालाई सम्मान गर्ने र केयर गर्ने युवकले आकर्षित गर्ने बताइन् ।
केही म्युजिक भिडियोमा काम गरिसकेका मोडलद्वय राज र डेलविसले यो भ्यालेन्टाइन्स डेमा खासै केही नयाँ योजना नभएको सुनाए । यसपटक गीत रिलिज हुने भएकाले पनि आफूहरु यसमै व्यस्त हुने उनीहरुको भनाइ छ ।
गीतको भिडियोमा राजसँग प्रियना र डेलविससँग पूनमको जोडी हेर्न सकिन्छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4