
२ फागुन, काठमाडौं । अभिनेता राजेश हमालले चार वर्षपछि साइन गरेको चलचित्र ‘सत्यम्’को छायांकन सुरु हुन सकेको छैन । चलचित्र अब बन्दैन भन्ने चर्चा पनि निक्कै चलेको छ ।
अभिनेता हमालले उत्साहित भएर साइन गरेको यो चलचित्र के होला भन्ने चासो आमदर्शकमा छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘के अब सत्यम् नबन्ने नै हो’ भन्ने प्रश्नमा राजेशले भने, ‘कोभिडको माहोलका कारण यस्तो हुन गएको हो । अर्कोतिर निर्माताको व्यक्तिगत केही समस्याका कारण पनि चलचित्र निर्माणमा अलमल भएको हो । तर चलचित्र नबन्ने भन्ने होइन । ढिलो चाँडो चलचित्र बन्छ ।’
यो चलचित्रमा राजेशको जोडीको रुपमा अभिनेत्री निरुता सिंहलाई पनि अफर गएको थियो । तर निरुताले भने चलचित्र साइन गरिसकेकी थिइनन् । निरुताले भनिन्, ‘यो विषयमा मसँग कुराकानी भएको हो । उहाँहरुले कुराकानीपछि फोन गर्छु भन्नुभएको थियो । त्यसपछि मेरो कुरा भएको छैन ।’
महंगो बजेटमा बन्ने भनिएको यो चलचित्रमा राजेशसँगै पल शाह र अनुपविक्रम शाहीले पनि काम गर्ने पक्का भएको थियो ।
प्रतिक्रिया 4