+
+

‘स्थानीय तहले प्रविधियुक्त दमकल किन्नुपर्छ’

चन्दन श्रेष्ठ, प्रमुख, जुद्ध बारुण यन्त्र कार्यालय चन्दन श्रेष्ठ, प्रमुख, जुद्ध बारुण यन्त्र कार्यालय
२०७८ फागुन २ गते १६:४२

आगलागी नियन्त्रण भन्ने वित्तिकै दमकल सुरुमा आउने विषय हो । आगो विभिन्न खाले हुन्छन्, आगो अनुसार फर्म, पानी वा के प्रयोग गर्ने त्योसहितको सामग्री भएको उपकरण दमकल हो ।

अहिले नेपालमा दमकल विना आगलागी नियन्त्रण सोच्नै सकिन्न । सहरमा हुने आगो नियन्त्रणमा लिन दमकल नभई हुँदैन । आगलागी नियन्त्रणका लागि दमकल सबैभन्दा प्रभावकारी विधि हो ।

स्थानीय निकायले आफ्नो दमकल राख्यो भने नजिक पर्छ, अपनत्व वहन पनि हुन्छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण ऐनले पनि हरेक स्थानीय तहमा दमकल अनिवार्य गरेको छ । आगलागीका घटनामा दमकल जति चाँडै पुग्न सक्यो, त्यति क्षति कम हुने हो । त्यसैले पनि स्थानीय तहमा दमकल राख्नुपर्छ भनिएको हो ।

काठमाडौंकै कुरा गरौं न, तारकेश्वर, गोकर्णेश्वर नगरपालिका लगायतमा भएको आगलागीमा पनि हामी गइरहेका हुन्छौं । तर, पुग्न समय लाग्छ । यदि दमकल त्यहीं भएको भए, हामी पुग्नुभन्दा पहिल्यै आगो निभिसक्थ्यो । त्यसले क्षति कम गर्न सक्थ्यो ।

आफ्नो ठाउँको दमकल भएपछि जवाफदेही पनि हुन्छ । आगलागीको बेला कसरी चाँडो गएर निभाउने भन्नेमा ध्यान हुन्छ । कहिलेकाहीं समयमा जानकारी नपाउँदा पनि समस्या हुने गर्छ । काठमाडौंमा अहिले फोन आएको तीन मिनेटमै निस्किसक्छौं । तर काठमाडौं बाहिर समस्या पनि देखिने गरेको छ ।

हामीसँग अहिले जुन खालका दमकलहरू छन्, ती आधुनिक र अन्तर्राष्ट्रियस्तरमा प्रयोग हुने खालका भने छैनन् । नेपालमा प्रयोग हुने दमकलमा न्यूनतम सुविधा मात्रै छन्, त्यसैले बरु आधुनिक प्रविधियुक्त दमकलको खरिदमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।

अहिले मैले नेतृत्व गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालय, नेपालको सबैभन्दा पहिलो दमकल सेवा हो । यो १९९४ सालमा स्थापना भएको हो । मन्त्रिपरिषद्ले ९ भदौ २०६५ मा निर्णय गरे अनुसार यो अहिले काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालनमा छ ।

कुनै ठाउँमा आगो निभाएर आउने वित्तिकै जतिसुकै बेला अर्को ठाउँमा जानुपर्ने हुनसक्ने भएकाले पहिल्यै दमकललाई तयारी अवस्थामा राख्ने गर्छौं । फोन आएको ३ मिनेटभित्रमा दमकल निस्किसक्छ । काठमाडौंको हकमा दमकल ढिलो आयो भन्ने गुनासो सुनिंदैन । हुन त कहिलेकाहीं साँघुरो बाटोले पनि समस्या हुन्छ ।

जस्तै, केहीअघि रातोपुलमा आगलागी भयो, त्यहाँ दमकल छिरेन । तीन वटा लामो पाइप विछ्याएर काम चलायौं । तर आगो नियन्त्रणका लागि पानीको फोर्सको भूमिका हुन्छ । लामो पाइप हुने वित्तिकै फोर्स पुग्दैन ।

उपत्यकामा हुने आगलागीमा जुद्ध बारुण यन्त्र सुरुमा पुग्छ । आगलागी भएको ठाउँमा आवश्यकता अनुसार स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सहयोगमा नियन्त्रणको काम गर्छौं ।

दमकलमा काम गर्ने अग्नि नियन्त्रकहरू अनुशासित हुनुपर्छ । उनीहरू २४ सै घन्टा तयारी अवस्थामा हुनुपर्छ । खासमा दमकलका लागि छुट्टै विशिष्ट युनिट चाहिने हो । अहिले हरेक ठाउँमा आ–आफ्नै तरिकाले दमकल चलाइएका छन् । यी सबैलाई जोड्ने एउटा युनिट चाहिन्छ ।

अन्तर्राष्ट्रिय रूपमा पनि अग्नि नियन्त्रकको छुट्टै युनिट हुन्छ, त्यो अभ्यास नेपालमा पनि गर्न जरूरी छ । यसले दमकलको सेवालाई प्रभावकारी बनाउँछ । दमकल सञ्चालन गर्ने छुट्टै युनिटको व्यवस्थापन, ‘फायर फाइटर’ हरूलाई तालिम, पाठ्यक्रमको विकासलगायत विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।

नियमित रूपमा अग्नि नियन्त्रकलाई कसरी परिचालन गर्ने भन्ने पनि हालसम्म स्पष्ट नीति छैन । अहिले काठमाडौंमा विभिन्न पालिकालाई तालिम पनि दिइरहेका छौं । केहीअघि दुधौली नगरपालिकाका ८ जनालाई तालिम दियौं । तर, त्यतिले मात्र पर्याप्त हुँदैन । यसलाई व्यवस्थित गर्नुपर्छ ।

दमकलमा काम गर्दा तालिम लिएका र नलिएकामा धेरै फरक हुन्छ । प्राविधिक कुरा हो, यसलाई चलाउन जानेन भने राम्रो काम गर्न सक्दैन । पाइप समाउने नै एकातिर हुन्छ, पूरा फोर्समा खोल्यो भने पाइपसँगै मान्छेलाई पनि क्षति गर्न सक्छ । त्यसैले तालिम अनिवार्य हो ।

(जुद्ध बारुण यन्त्र कार्यालय, काठमाडौंका प्रमुख श्रेष्ठसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?