+
+

ए डिभिजन लिगमा रेलिगेसन ब्याटल झन् रोमाञ्चक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १८:४७
फाइल तस्वीर

३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार रेलिगेसनबाट बच्न संघर्षरत चार टोलीबीच खेल भयो । दशरथ रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लबबीच खेल भयो एन्फा कम्प्लेक्समा फ्रेन्डस र जाउलाखेल क्लबबीच खेल भयो । तर दुबै खेल बराबरीमा सकिएपछि रेलिगेसन ब्याटल झन् रोमाञ्चक बनेको छ ।

यस वर्ष ए डिभिजन लिगबाट अन्तिमको दुई टोली रेलिगेसनमा पर्नेछन् अर्थात् बी डिभिजनमा घटुवा हुनेछन् । त्यसैले मंगलबार खेलेका चारवटै टिम अन्तिमको दुई स्थान छाडेर ए डिभिजनमै सुरक्षित हुन चाहन्थे । तर नतिजा उनीहरुको अपेक्षा अनुसार आएन ।

बीबीसी र च्यासलले गोलरहित बराबरी खेले भने फ्रेन्डस् र जाउलाखेलबीच ३-३ गोलको बराबरी भयो । मंगलबारको नतिजाले चारवटै टिमलाई घाटा लागेको छ । किनभने लिग तालिकामा उनीहरुको स्थानमा कुनै फेरबदल आएन ।

जाउलाखेलले जित नजिक पुगेर पनि अंक बाँड्नुपर्दा दुई स्थान सुधार गर्ने मौका गुमायो । ११ खेलपछि १० अंक जोडेर जाउलाखेल ११ औँ स्थानमा छ । अन्तिम समयमा अंक खोस्न सफल फ्रेण्ड्स सात अंकसहित १२ औँ स्थानमा छ । समान अंक भएपनि हेड टु हेडमा पछि परेको ब्रिगेड ब्वाइज क्लब १३ औँ स्थानमा छ भने च्यासल युथ ६ अंकसहित १४ औं अर्थात् पुछारमा छ ।

ब्रिगेड ब्वाइज क्लबका प्रशिक्षक सनोज श्रेष्ठले आफूहरु रेलिगेसनको खतरामै रहेको बताए । ‘एक अंक लिन सफल भयौँ तर पनि रेलिगेसन जोनमै छौं’ श्रेष्ठले भने, ‘आजको खेल जितेको भए सहज हुन्थ्यो ।’

प्रशिक्षक श्रेष्ठले अघिल्लो खेलमा फ्रेण्ड्ससंग बराबरी खेल्दा घाटा लागेको बताए । ‘त्यो खेल राम्रो भएको भए रेलिगेसनबाट बच्ने सम्भावना थियो’ उनी भन्छन् । श्रेष्ठले रेलिगेसनको खतराबाट बच्ने सम्भावना ५०-५० रहेको बताए । ‘५०-५० चान्स छ । बच्न गाह्रो नै छ, जे पनि हुन सक्छ’ उनले भने ।

च्यासलका टेक्निकल डिरेक्टर लेइ मानसनले पनि बराबरीबाट निराश भएको बताए । उनले आफूहरु रेलिगेसनबाट बच्ने प्रयासमा रहे पनि खेल राम्रो हुन नसकेको बताए । ‘सर्भाइभल रेसमा छौँ । आज ३ अंक आएको भए राम्रो हुने थियो । महत्वपूर्ण कुरा खेल हारेनौँ र क्लिनसिट र १ अंक लियौँ त्यो सकारात्मक पाटो हो’ मानसनले भने ।

मानसनले अब फ्रेण्ड्ससंग शनिबार हुने खेल गर या मरको अवस्थामा रहेको बताए । उक्त खेलमा जित हात पार्न सके रेलिगेसनबाट जोगिन सक्ने उनले बताए । ‘अर्को खेल फ्रेण्ड्ससंग छ । त्यो खेल डु अर डाई छ । त्यो खेलमा हामी बराबरी वा हार चाहँदैनौँ, हामीले जित्नैपर्छ, शनिबार हाम्रो लागि ठूलो गेम हुनेछ’ मानसनले भने ।

उता ३ गोलले पछि परेर पनि फ्रेन्डसले पुनरागमन गर्दै जाउलाखेलसँगको खेल बराबरीमा टुंग्यायो । प्रशिक्षक मृगेन्द्र मिश्र जित्नैपर्ने दबाब भए पनि कम्तीमा हारबाट जोगिएको बताउँछन् । ‘जित्नैपर्ने खेल थियो । हामीले पुनरागमन गर्‍यौँ । त्यो राम्रो हो, पहिलो हाफमा पछि परेपनि दोस्रो हाफमा फर्काउन सक्ने विश्वास थियो’ उनले भने ।

रेलिगेसनबाट बच्न अब बाँकी खेल जित्नैपर्ने उनले बताए । ‘अब आउने सबै खेल जित्नैपर्छ सुरक्षित हुनका लागि’ उनले भने । फ्रेण्ड्सले अर्को खेल च्यासलसंग खेल्नेछ भने अन्तिम खेल हिमालयन शेर्पासंग खेल्नेछ ।

यस्तै जाउलखेलका प्रशिक्षक किशोर केसीले तीन गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा दबाब भएको बताउँछन् । ‘पहिलो हाफमा तीन गोलको अग्रता बनाउँदा पनि जोगाउन सकेनौँ । फुटबल हो जे पनि हुन सक्छ । आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्छौँ’ उनले भने ।

जावलाखेलले अब हिमालयन शेर्पा र संकटासंग खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?