+
+

नयाँ सारथी लघुवित्तका शाखा प्रबन्धकसहित ४ जना जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते २१:२१

३ फागुन, वीरगञ्ज । पर्सामा नक्कली ऋणी खडा गरी साढे ५ करोडभन्दा बढी रकम निकाल्ने एक लघुवित्तका प्रबन्धकसहित ४ जना कर्मचारी जेल चलान भएका छन् ।

बढनिहारस्थित नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहारसहित चार जना कारागार चलान भएका हुन् ।

नक्कली ऋणी खडा गरी संस्थाको ५ करोड ५७ लाख ४२ हजार दुई सय ७४ रुपैयाँ झिकेको कसुरमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले ठाकुरलाई पुर्पक्षको लागि कारागार पठाउने फैसला सुनाएको हो ।

संस्थाका कर्मचारी समेत रहेका पर्सागढी नगरपालिका-७ का २४ वर्षीय  गेनालाल पटेल, वीरगञ्ज महानगरपालिका-२७ का २६ वर्षीय प्रदीप कुमार पटेल र सोही ठाउँका २४ वर्षीय शेषनाथ कुशवाहालाई जनही १-१ करोड धरौटीमा छाड्न आदेश दिएको थियो । तर तीनै जनाले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् ।

उनीहरुविरुद्ध काभ्रेको धुलिखेल नगरपालिका-३ मा रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले २४ मंसिर २०७८ मा उजुरी दिएको थियो ।

अन्य कर्मचारिको सहयोगमा शाखा प्रबन्धक लोहारले ३०८ जना वचतकर्ताको नाममा नक्कली ऋणी खडा गरी ५ करोड ३४ लाख ५५ हजार ४७९ रुपैयाँ हिनामिना गरेको भन्दै संस्थाले जाहेरी दिएको थियो । संस्थाका अनुसार लोहार २० पुस २०७४ देखि शाखा प्रबन्धकमा कार्यरत थिए ।

लोहारले विभिन्न मितिमा ३०८ जना वचतकर्ता सदस्यहरूको जानकारीबिना निजहरूको नामको नक्कली ऋण आवेदन र अन्य नक्कली कागजात तयार गरी ऋण स्वीकृत आफैँले गरेर उक्त रकम निकालेको संस्थाले बताएको छ ।

संस्थाको उजुरपछि प्रहरीले लोहारलाई २४ मंसिरमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले अन्य ६ जना व्यक्तिलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा अन्य ३ जना कर्मचारीको सहयोगमा लोहारले नक्कली ऋणी खडा गरी कीर्ते सहीछाप र नक्कली कागजात तयार गरी रकम झिकेको खुल्न आएको थियो । उनीहरुले प्रवाह गरेको ऋण रकम, १५ जना वचतकर्ताको वचत रकम र कर्जाको ब्याज बापतको रकम समेत गरी उक्त रकम हिनामिना गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।

अनुसन्धानपछि प्रहरीले पक्राउ परेका व्यक्तिहरु र मिसिल जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा पेश गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय, पर्साको २६ माघको निर्णय अनुसार ३ जना व्यक्तिमाथि मुद्दा नचल्ने निर्णय भएको थियो ।

लोहारसहित अन्य ४ जना विरूद्धको अभियोगपत्र दायर भएकोमा २ फागुनमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले लोहारलाई पुर्पक्षको लागि कारागार पठाउने फैसला सुनाएको थियो भने अन्य तीन जनालाई जनही १-१ करोड धरौटीमा छाड्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?