+

मानसिक स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्ने क्रम बढ्दैछ

२०७८ फागुन  ४ गते १२:५७ २०७८ फागुन ४ गते १२:५७
मानसिक स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्ने क्रम बढ्दैछ

४ फागुन, काठमाडौं । ‘आफैंलाई मानसिक स्वास्थ्य समस्या भएको स्वीकार्न समय लाग्यो । आफैंले भोग्नु परेपछि उपाय खोजें, बुझेपछि मात्रै आमाबुवालाई भन्न सकें’ सातदोबाटोकी अर्पणा थापाले आफ्नो अनुभव सुनाइन् । एक निजी कम्पनीमा कार्यरत अर्पणालाई के कारणले मानसिक स्वास्थ्य समस्या सुरु भयो भन्ने अझै पहिचान हुनसकेको छैन ।

कहिले टाउको, कहिले पेट दुख्ने, थकाइ लाग्ने, झर्को लाग्ने भएपछि अस्पताल पुगेकी अर्पणालाई सबै जाँचपछि मनोचिकित्सक कहाँ जाँच्न सिफारिस गरियो । त्यसबेला उनी आफैंले स्वीकार गर्न सकिनन् । डाक्टरले केहीबेर परामर्श गरेपछि मात्रै उनी मनको जाँच गर्न तयार भइन् । जाँचपछि चिकित्सकले सामान्य औषधि खाएपछि निको हुने सल्लाह बमोजिम औषधि लेखिदिए । चिकित्सकको सल्लाह अनुसार औषधि खान थालिन् ।

अस्पताल गएको कुरा उनका आमाबुवालाई थाहा थियो । डाक्टरले के भने भनेर उनका आमाबुवाले सोधे तर उनले वास्तविक समस्या नभनी अरू नै कुरा सुनाइन् । भन्छिन्, ‘आफैंलाई स्वीकार गर्न गाह्रो परिरहेको बेला आमाबुवाले के बुझ्ने हुन् अथवा कस्तो असर गर्ने हो भन्ने सोचका कारण अरू कारण बताएकी थिएँ ।’ साथी श्रुतिको सहयोगमा त्यसबीच मनोविद्हरूसँग पनि परामर्श लिने, कुरा बुझ्ने गर्न थालिन् । औषधि नियमित खाने र मनोविद्हरूको परामर्शका कारण करिब ६ महिनापछि हलुका महसुस गरिन् ।

केही समयअघि पूर्व मिस नेपाल एवं सञ्चारकर्मी माल्भिका सुब्बाले त्यसअघि नायिका नम्रता श्रेष्ठले भोगेको मानसिक स्वास्थ्य समस्याबारे बताएका थिए । उनीहरू मानसिक स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्ने र अन्य स्वास्थ्य समस्या जस्तै भएकोले उपचारमा जानुपर्ने सुझाव समेत दिइरहेका हुन्छन् ।

२७ वर्षीय अर्पणालाई साथी श्रुतिको साथ र सहयोग महत्वपूर्ण रह्यो । आफूलाई परेपछि मानसिक स्वास्थ्य सम्बन्धी कुराहरू अध्ययन गरिन् । मनोविद्सँग परामर्श लिइन्, मानसिक स्वास्थ्य समस्या भोगेका सार्वजनिक व्यक्तित्वहरूको कुरा सुनिन् । त्यसपछि उनलाई मानसिक स्वास्थ्य समस्या लुकाउने चिज होइन भन्ने बुझिन् । त्यतिन्जेल उनको समस्या ९० प्रतिशत ठीक भइसकेको थियो । त्यसपछि बेला–बेला आमाबुवासँग मानसिक स्वास्थ्यसम्बन्धी कुरा गर्न थालिन् । सामान्य लेखपढ गरेका उनका आमाबुवालाई झट्टै सुनाउँदा बुझाउन नसक्ने बुझेकीले नै प्रसंगवश कुरा गर्न थालिन् ।

उनी भन्छिन्, ‘आफ्ना धेरै कुराहरू आमाबुवालाई सुनाउने गर्छु । बुझाउने कोशिश गर्छु । तर मानसिक स्वास्थ्यको बारेमा कहिल्यै कुरा हुँदैनथ्यो । किनभने म आफैं पनि यसबारेमा अनभिज्ञ थिएँ ।’ उनले मानसिक स्वास्थ्य समस्याको विषयमा कुरा गर्न थालेको करिब दुई महिनापछि मात्रै आफू पनि मानसिक स्वास्थ्य समस्या भोगिरहेको सुनाएकी थिइन् । अर्पणा आफैंले यो समस्या भएको र औषधि खाइरहेको सुनाउँदा सुरुमा पत्याएनन् । तर, औषधि देखाएर नै भनेपछि केहीबेर प्रतिक्रियाविहीन बनेको आमाबुवालाई आफूलाई ठिक भइसकेको र मानसिक स्वास्थ्य अन्य स्वास्थ्य समस्या जस्तै हो भनेर बुझाउन थप समय लागेको बताउँछिन् । अहिले अर्पणा आफूलाई मानसिक स्वास्थ्य समस्या छ भन्न कत्ति पनि हिच्किचाहट नहुने जिकिर गर्छिन् । अझै केही समय औषधि खानुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

अर्पणा जस्तै अहिले आफूले भोगेको मानसिक स्वास्थ्य समस्याबारे खुलेर भन्ने, उपचार खोज्नेहरूको संख्या बढिरहेको मनोचिकित्सक तथा मनोविद्हरू बताउँछन् । कोभिड–१९ पछि मानसिक स्वास्थ्य समस्या बढेको तर त्योसँगै अन्य शारीरिक स्वास्थ्य समस्या जस्तै यो मानसिक स्वास्थ्य समस्या पनि हो भन्ने सचेतना बढेको उनीहरूको भनाइ छ ।

यो विषयमा सचेतना सामाजिक सञ्जालको प्रयोग, सञ्चारमाध्यमको कभरेज, समस्याबाट गुज्रिरहेका र निको भएर आफ्नो भोगाइबारे खुलेर भन्नेहरूका कारण पनि जनचेतना बढ्दै गइरहेको उनीहरूको अनुभव छ । आफैं स्वास्थ्य समस्या पहिचान गरेर अस्पताल आउने अथवा उपचारको लागि सिफारिस गर्दा स्वीकार गर्नेहरूको संख्या बढेको मानसिक अस्पतालका निर्देशक अनन्त अधिकारी बताउँछन् । उनी भन्छन्, ‘अहिले सामाजिक सञ्जाल, संचारमाध्यममा मानसिक स्वास्थ्य समस्या बारेमा पढ्छन्, सुन्छन्, हेर्छन् । आफूले भोगेको समस्या मिल्दोजुल्दो भए जाँच गर्न आउँछन् अथवा फोनबाट बुझ्न खोज्ने क्रम बढेको छ ।’

सार्वजनिक वृत्तमा हुने खुला बहस, सार्वजनिक व्यक्तित्व अथवा सेलिब्रिटीले आफूमा भएको मानसिक स्वास्थ्य समस्याबारे खुलेर कुरा गरिदिनाले पनि सामाजिक लाञ्छना कम हुँदै गएको शिक्षण अस्पतालका मनोरोग तथा मानसिक स्वास्थ्य समस्या विभागका प्रमुख प्रा.डा सरोज प्रसाद वझा बताउँछन् । उनी भन्छन्, ‘कोभिड–१९ पछि यसको बहस बढ्दै गयो । सरकारले पनि प्राथमिकता दिन थालेपछि जनचेतना धेरै बढेको छ । तर अझै धेरै काम गर्नुपर्छ ।’ उनको भनाइ अनुसार तुलनात्मक रूपमा जनचेतना बढिरहे पनि एकदम सामान्य तरिकाले बढिरहेको छ । मानसिक स्वास्थ्य समस्या, मनोसामाजिक स्वास्थ्य समस्या अन्य शारीरिक स्वास्थ्य समस्या सरह हो उपचार गर्नुपर्छ, उपचारबाट निको हुन्छ भन्ने चेतना अझै ठूलो संख्याको नागरिकमा नरहेको र त्यसका लागि काम गर्नुपर्ने उनी बताउँछन् ।

केही समयअघि पूर्व मिस नेपाल एवं सञ्चारकर्मी माल्भिका सुब्बाले त्यसअघि नायिका नम्रता श्रेष्ठले भोगेको मानसिक स्वास्थ्य समस्याबारे बताएका थिए । उनीहरू मानसिक स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्ने र अन्य स्वास्थ्य समस्या जस्तै भएकोले उपचारमा जानुपर्ने सुझाव समेत दिइरहेका हुन्छन् ।

कोभिड–१९ संक्रमणका कारण भएको लकडाउनमा आफूहरूले सामाजिक सञ्जालमार्फत, अनलाइनमार्फत चलाएको जनचेतनामूलक कार्यक्रम, अनलाइन परामर्शले जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलेको मनोविद् गोविन्द ढकाल दाबी गर्छन् । उनी भन्छन्, ‘हामीले कोभिडपछि हुनसक्ने जोखिमलाई ध्यानमा राखेर लकडाउनको समयदेखि निरन्तर अनलाइन एवं टेलिफोन परामर्श, सामाजिक सञ्जालहरूमार्फत जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएका छौं । जसले गर्दा धेरै हदसम्म जनचेतना फैलाउन सक्यौं ।’

सामाजिक सञ्जालमार्फत धेरैको पहुँचमा पुग्न सकिने भएकोले मानसिक स्वास्थ्यमा काम गरिरहेका विभिन्न संघ–संस्थाले सामाजिक सञ्जाल, अनलाइनलाई माध्यम बनाएर परामर्श दिने, जनचेतना जगाउने काम गरेको ढकालको भनाइ छ । उनी भन्छन्, ‘यस्ता कार्यक्रमहरूका कारण जनचेतना धेरै बढेको छ । आफैं उपचार खोज्ने, खुलेर कुरा गर्ने क्रम बढेको छ ।’

यस विषयमा सार्वजनिक व्यक्तित्वहरूले खुलेर बोलिदिंदा लुकेर उपचार गरिरहेकाहरूलाई पनि खुल्न अथवा सहज रूपमा लिन उत्प्रेरित गर्ने मनोविद् ढकाल बताउँछन् । मानसिक स्वास्थ्य समस्या, मनोसामाजिक समस्यालाई सामाजिक लाञ्छना लगाउनेहरू कम हुँदै गइरहे पनि पूर्ण रूपमा हट्नका लागि समय लाग्ने उनको भनाइ छ । भन्छन्, ‘तर पछिल्लो समय खुलेर कुरा गर्नेहरूको संख्या बढेको देख्दा विस्तारै सामान्यीकरण हुँदै गइरहेको छ । जुन अत्यन्तै सकारात्मक कुरा हो ।’

मानसिक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय