+
+

लोकतान्त्रिक विधिप्रति प्रतिबद्ध भएर अघि बढौं : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते ६:००

७ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन् । अब यी उपलब्धिलाई संस्थागत गरेर अघि बढ्न जरुरी रहेको उनले बताएका छन् ।

नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासनको अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उनले स्मरण गरेका छन् ।

आजको दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन गरेसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको भन्दै उनले त्यसका लागि हामी सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औंल्याएका छन् ।

लोकतन्त्र सिद्धान्तसँगै संस्कार हो : सभामुख

यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले पनि प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन् ।

उनले भनेका छन्, ‘लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो । थप सजग र सचेत भएर लोकतन्त्रको संस्थागत अभ्यास सुनिश्चित गर्न सक्दा नागरिकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छु ।’

लोकतन्त्र सिद्धान्तसँगै हाम्रो चिन्तन, जीवन पद्धति, व्यवहार र पुस्तान्तरणको महत्वपूर्ण संस्कारसमेत भएको बताउँदै सभामुख सापकोटाले यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहनु अनिवार्य हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?