+
+

एपीएफका दीपेश र विजितको जोडी सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते १९:०९

७ फागुन काठमाडौं । एपीएफका दीपेश धामी र बिजित थापा मगरको जोडी लिनिङ ११ औं पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । उनीहरुले सेनाका नविन श्रेष्ठ र प्रफुल महर्जनको जोडीलाई २१–१६, २१–१० ले पराजित गरे ।

अब धामी र थापाको जोडीले फाइनल प्रवेशका लागि कास्कीका विधान अधिकारी र भुवन गुरुङको जोडीसँग खेल्नुपर्नेछ । विधान र भुवनको जोडीले पुलिसका विष्णु कटुवाल र अनिष श्रेष्ठको जोडीलाई २१–१५, २१–१३ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

यस्तै सेमिफाइनल प्रवेश गर्ने अर्को जोडीमा पुलिसका जीवन आचार्य र सुनील जोशी रहेका छन् । यो जोडीले बाँकेका इरफान अन्सारी र धातुका सुदीप सेढाईलाई २१–१५, १७–२१, २१–१३ ले पराजित गरे ।

आचार्य र जोशीको जोडीले फाइनल प्रवेका लागि सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडी संग प्रतिस्पर्धा गर्नेछन् । महर्जन जोडीले ललितपुरका सशिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै आचार्य र महर्जनको जोडीसंग जम्काभेट गरेका हुन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ, नेपाल तथा नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल (उच्च १६ वरियता बाहेक) को प्रतिस्पर्धामा सेनाका दिवश शंकरले सेनाका विवेक चौधरीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

शंकरले चौधरीलाई १८–२१, २१–८, २१–११ ले पराजित गरेका हुन् । अब शंकरले सेमिफाइनलमा सेनाका पविन लिनथेपको सामना गर्नेछन् । पविनले सेनाकै आयुष्मान नागरीलाई २१–१२, २१–१९ ले पराजित गरेका हुन् ।

यस्तै सेमिफाइनल प्रवेश गर्ने अर्को खेलाडीमा कास्कीका विधान अधिकारी रहेका छन् । अधिकारीले १६ फिदरका क्षितिज खनाललाई २१–१९, २१–१४ ले पराजित गरे । अव उनको भिडन्त मोरङका भोजबहादुर गुरुङसंग हुने छ । भोजबहादुरले साइनोका सुजन थापालाई १४–२१, २१–१०, २१–१५ ले पराजित गर्दै अधिकारी संगको भेट पक्का गरेका हुन् ।

प्रतियोगिताको महिला एकल (उच्च वरियता १२ बाहेक) मा एनआरएनकी सानिया चन्दले जित हात पारिन् । चन्दले सेमिफाइनल प्रवेश गर्ने क्रममा सुनसरी ब्याडमिन्टन एकेडेमीका रोजी राईलाई २१–११, २१–१२ ले पराजित गरिन् ।

यस्तै सेनाकी प्रेक्षा राईले सर्लाहीका निकिता लामालाई २२–२०, १६–२१, २१–१८ ले पराजित गर्दै सेमफाइनलमा चन्द संगको भेट पक्का गरिन् । पाल्पाकी दिया शाक्यले सेमिफाइनल प्रवेश गर्ने क्रममा कञ्चनपुरकी निलिमा महरालाई १५–२१, २२–२०, २१–१२ ले पराजित गरिन् । यस्तै कैलालीकी एनिला सुनारले सेनाकी प्रियान्सी बमबाट वाकओभर प्राप्त गर्दै सेमिफाइनलमा दिया संगको भेट पक्का गरिन् ।

नखिपोट युथ क्लबको कभर्ड हलमा भएको प्रतियोगिताको यु-१७ पुरुष तर्फको खेलमा सिल्क ग्रुपका नरेन्द्र बलमे जित निकाले । उनले कपिलवस्तुका राज बर्मालाई २६–२४, २१–१३ ले पराजित गरे ।

अर्को खेलमा सेनाका डेभिड थापा मगरले सेनाकै विवेक चौधरीलाई १५–२१, २१–११, २१–१३ ले पराजित गर्दै नरेन्द्र संगको भेट पक्का गरे । सेमिफाइनल प्रवेश गर्ने क्रममा १६ फिदरका क्षितिज खनालले पाल्पाका सुरोज तिमिल्सिनालाई २१–१३, २१–८ ले पराजित गरे । अब उनले सेनाका आयुष्मान नागरीसंग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । नागरीले सनौला रइनीलाई २१–८, २१–११ ले पराजित गरे ।

यु-१७ महिलातर्फ राष्ट्रिय च्याम्पियन रसिला महर्जनले एनआरएन सानिया चन्दलाई पराजित गरिन् । रसिलाले चन्दलाई २१–२, २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा कैलालीकी एलिना सुनारसंग प्रतिस्पर्धा गर्ने भएकी हुन् । एलिनाले सेनाकी प्रेक्षा राईलाई २१–१३, २१–१२ ले पराजित गरेकी हुन् ।

यस्तै सेमिफाइनल प्रवेश गर्ने अर्का खेलाडीहरुमा सेनाका प्रार्थना देउवा र रोज पाण्डे रहेका छन् । प्रार्थनाले सुनसरी ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–३, २१–५ ले तथा रोजले कञ्चनपुरकी विष्णा विष्टलाई २१–९, २१–१६ ले पराजित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?