+
+

अनिश्चित बन्यो याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउने योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १६:१३

८ फागुन, काठमाडौं । काठमाडौंमा आगामी नयाँ वर्ष (वैशाख, २०७९) सम्म फेरि मेलम्चीको पानी ल्याउने योजनासहित काम हुँदैछ । गत १ असार २०७८ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजना क्षति त पुगेकै छ, त्यसले मेलम्चीको सुरुङ हुँदै सिन्धुपाल्चोकका थप दुई वटा खोलाबाट काठमाडौंमा थप खानेपानी ल्याउने योजनामा पनि ‘ब्रेक’ लगाइदिएको छ ।

१ असारमा मेल्चीमा बितण्डा नमच्चिएको भए चालु आर्थिक वर्षमा नै मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी पनि मेलम्चीमा मिसाउने गरी ‘मेलम्ची खानेपानी आयोजना–२’ को निर्माणको लागि ठेक्का प्रक्रिया थाल्न सक्थ्यो ।

यही सम्भावनालाई हेरेर २० चैत, २०७७ मा काठमाडौंमा मेलम्चीको पानी उद्घाटन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षभित्र याङ्ग्री र लार्के खोलाको पानी काठमाडौंमा ल्यानउने घोषणा गरेका थिए । तर, मेलम्चीका आएको बाढीले याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउने योजनालाई अनिश्चियको भुमरीमा धकेलिदिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासु पौडेलका अनुसार मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले मेलम्चीको मुहान क्षेत्रमा अध्ययन गरिरहेको छ । यही अध्ययनले औंल्याउने सुझाव र निष्कर्षको आधारमा मेलम्ची–२ आयोजनाबारे थप निर्णय लिने बताउँछन् । एडीबी बाढी आउनुअघि दोस्रो परियोजनामा पनि ऋण लगानी गर्न इच्छुक थियो ।

पौडेलका अनुसार मेलम्ची खानपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन मन्त्रालयमा स्वीकृतिका लागि पेश भइसकेको छ । तर, डीपीआर अनुसार तत्कालै आयोजना अघि बढाउन भने समस्या पर्ने अवस्था देखिएको पौडेल बताउँछन् ।

डीपीआरअनुसार याङ्ग्री र लार्केको पानी सुरुङ बनाएर मेलम्चीमा ल्याएर मिसाउने र तयार रहेका मेलम्चीको विद्यमान संरचनाबाट पानी काठमाडौं ल्याउने योजना थियो ।

तर, मेलम्ची खानेपानी आयोजनाको हेडवर्कस (पानी सुरुङमा हाल्ने क्षेत्र) मा नै बाढीले बितण्डा मच्चाएको छ । ‘हामीले सुरुङमा पानी हाल्न बनाएका संरचना नै काम लाग्ने अवस्थामा छन्/छैनन् भन्ने यकीन छैन,’ पौडेलले भने, ‘भविष्यमा मेलम्ची खानेपानी आयोजनामा हुनसक्ने जोखिम पनि स्पष्ट छैन, त्यसैले सबै कुरामा स्पष्ट भएपछि मात्रै मेलम्चीको देस्रो परियोजना अघि बढाउँछौं ।’

उनका अनुसार याङ्ग्री र लार्केको पानी ल्याउने गरी भएको परियोजनाको डीपीआर नै पुनरावलकोन गर्नुपर्ने हुनसक्छ । त्यसो भएमा आयोजनाको अहिले गरिएको परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ ।

हालको डिजाइनमा दुवै खोलाको पानी सुरुङबाट ल्याएर हाल्दा हुनसक्ने समस्याबो अध्ययन भएपछि मात्रै मेलम्ची–२ आयोजनाको काम अघि बढाउने योजना समितिको छ ।

आयोजना अधिकारीहरुका अनुसार अब याङ्ग्री र लार्केको पानी ल्याउन बनाउने सुरुङ मेलम्चीको हाल तयार रहेको सुरुङमा सिधै जोड्नुपर्ने हुनक्छ । त्यो गर्नु परेमा याङ्ग्री र लार्केमा आ–आफ्नै ‘पानी छान्ने संयन्त्र’ बनाउनुपर्ने हुनसक्छ ।

समितिका कार्याकायरी निर्देशक पौडेल अहिले मुख्य ध्यान मेलम्चीको पानी काठमाडौं ल्याउने र आयोजनाको निर्माण सक्नेतर्फ केन्द्रित गरिएको छ । ‘अहिले एडीबीसँग पनि मेलम्चीको दोस्रो आयोजना सुरु गर्नेबारे छलफल हुन सकेको छैन,’ उनले भने,‘मेलम्ची क्षेत्रको जोखिमको मूल्यांकन गरेर मात्रै नयाँ आयोजना निर्माणको प्रक्रिया अघि बढ्छ ।’

मेलम्ची खानेपानी पूर्व आयोजना घनश्याम प्रमुख उपाध्याय बनिसकेको सुरुङ जोगाएर याङ्ग्री र लार्केको पानी ल्याउने विकल्प जीवितै राख्नुपर्ने बताउँछन् ।

‘मेलम्ची आयोजना बनाउँदा हामीले माथिल्लो तटमा तीन किलोमिटरभन्दा माथि गएर भौगर्भिक अवस्था हेरेनौं,’ उनले भने, ‘अब याङ्रगी लार्केमा हामीले माथिल्लो तटीय क्षेत्रको पनि गहन अध्ययन गरेर मात्रै काम गर्नुपर्छ ।’

मेलम्ची खोलाबाट झण्डै १२ किलोमिटर टाढा रहेको याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाउन ११ किलोमिटर लामो सुरुङ खन्नुपर्ने देखिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यो आयोजना बनाउन ४ वर्ष लाग्ने देखिन्छ ।

यसका लागि झण्डै ३० करोड अमेरिकी डलर अर्थात झण्डै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ । हाल मेलम्चीबाट १७ करोड लिटरले काठमाडौं आएको छ भने याङ्ग्री र लार्के खोला मिसाएपछि यो ५१ करोड लिडर पुग्ने प्रक्षेपण छ ।

आयोजनाका लागि सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा जग्गा अधिग्रहणको काम चलिरहेको छ । आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडवर्क्स, क्याम्पसाइट, माटो थुपार्ने ठाउँ लगायतका लागि जग्गा अधिग्रहण थालिएको हो ।

तर, अब अहिले मेलम्चीको संकटले यो परियोजनालाई केही वर्ष पछाडि धकेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?