+
+

यस्तो पो जनप्रतिनिधि !

रामशरण सिम्खडा रामशरण सिम्खडा
२०७८ फागुन ९ गते १५:३५

म चुनाव जितेपछि वडा सदस्यले समेत नमस्कार नफर्काउने देशमा जन्मिएको नागरिक । सन् २००७ को ग्रीष्म ऋतु, एक व्यस्त दिनमा एउटा नौलो नम्बरबाट फोन आयो । सामान्य तरिकाले फोन उठाएँ, उताबाट आवाज आयो, ‘म डायना कड, स्लाउ बरो अन्तर्गतको लेङ्ली-सेन्ट मेरी वार्डको काउन्सिलर ।’

अचम्मित हुँदै मैले आफ्ना कान ठाडो बनाएँ । उताबाट आवाज आइरहेको थियो, ‘ल बधाई छ हाम्रो शहर (टाउन) मा यति राम्रो रेस्टुरेन्ट सञ्चालनमा ल्याएछौ । मैले के-कसरी सहयोग गर्न सक्छु, म तिमीलाई भेट्न चाहन्छु, कुन दिन समय मिल्छ ? मेरो दलको एउटा वार्षिक एक च्यारिटी कार्यक्रम पनि त्यहीं गर्ने इच्छा छ ।’

जोखिम मोलेरै राम्रै लगानीसहित भर्खरै मात्रै व्यवसाय सुरु गरेको मेरा लागि काउन्सिलरको त्यो किसिमको सहयोगको प्रस्ताव वास्तवमै अपेक्षाकृत थिएन वा भनौं त्यो मेरा लागि आठौं आश्चर्य थियो । त्यो पल मैले महसुस गरेको अनौठो अनुभवलाई अहिले शब्दमा वर्णन गर्नु त्यति न्यायोचित नहोला ।

मैले एक पल पनि नसोची फ्याट्ट जवाफ फर्काएँ, ‘भोलि, तपाईंको के कसो छ ? समय मिले ३ देखि ५ बजे सम्मको कुनै समयमा भेटौं न ।’

दुवैको सहमतिमा भोलिपल्टै भेट गर्ने तय भयो । मैले उनको बारेमा काउन्सिलको वेबसाइटमार्फत आवश्यक जानकारी लिइसकेको थिएँ ।

भोलिपल्ट ३ बज्नै लाग्दा हाईस्ट्रीटमा रेस्टुरेन्टतिर हेर्दै हिंडिरहेकी महिला देखेपछि अनुमान लगाएँ- यिनै होलिन् काउन्सिलर । उनी जेब्रा क्रसिङ पार गर्दै के थिइन्, एउटा ट्याक्सी बत्तिएर आयो । म झसङ्ग भएँ । धन्न ड्राइभरले बेलैमा ब्रेक लगाएछ ।

उनी सवालजवाफ गर्न थालिन् । म रेस्टुरेन्ट प्रतीक्षालयको सिसाबाट ती सबै कुरा नियालिरहेको थिएँ । ५-७ मिनेटको भनाभनपछि उनले आफ्नो नोटबुकमा केही टिपोट गरिन् र रेस्टुरेन्टतर्फ अघि बढिन् ।
‘तिमी राम हौ ?’ मैले हात अघि बढाएँ, ‘हजुर’ ।

एकैछिनको औपचारिकता पछि अघि भर्खरै घटनाको बारेमा कुरा भयो । उनका कुरालाई समर्थनसहित मैले घटनाप्रति सान्त्वनाभाव व्यक्त गरें । त्यस घटनाप्रति उनी निकै आक्रोशमा थिइन् ।

‘त्यो जेब्राक्रसिङमा पैदलयात्री पहिलो प्राथमिकतामा हुन्छ (एम्बर लाईट फ्लास भइरहेको छ) । मेरो ठाउँमा कोही ज्येष्ठ नागरिक भएको भए, अशक्त वा बालबालिका भएको भए के हुनेथियो ?’ मतिर प्रश्न तेर्स्याउँदै उनले भनिन्, ‘यसलाई म कोर्टमा लान्छु । तिमी साक्षी बस्न तयार छौ ?’

म अक्क न वक्क परें । मनमनै सोचें, ‘अहो, यो के फन्दामा पर्ने भएँ ।’ त्यतिबेला मैले उनको प्रश्नको जवाफ सकारात्मक नै दिनुपर्छ भन्ने लाग्यो । किनकि म उनको प्रस्ताव र सहकार्य अनि सम्भावित हाई-प्रोफाइल पार्टी गुमाउन चाहन्नथें ।
मैले जवाफ फर्काएँ, ‘मैले प्रत्यक्ष देखेको छु, हुन्छ भइहाल्छ नि ।’ उनले मेरो नाम, ठेगाना, जन्ममिति सबै टिपिन् ।

माहोल केही सामान्य बन्यो, उनले एउटा भिजिटिङ कार्ड मेरो हातमा थमाइन् । कार्डमा लेखिएको थियो, ‘डायना भिक्टोरिया कड, काउन्सिलर लेङ्ली-सेन्ट मेरी वार्ड, स्लाउ काउन्सिल तथा कन्जरेटिभ पार्टी पार्लियामेन्ट उम्मेदवार २०१० स्लाउ निर्वाचन क्षेत्र ।

काउन्सिलर वर्तमान पद त कार्डमा हुनु स्वाभाविक हो तर तीन वर्ष पछि हुने संसदीय निर्वाचनको उम्मेदवार अहिले नै तय र सोही अनुसार प्रचार पनि गर्ने राम्रो प्रणाली देखेर म मनमनै घोत्लिए !

म अचम्मित हुँदै पत्र पढिरहें । उनले लेखेकी थिइन्, ‘सर्वसाधारणप्रति गैरजिम्मेवार र लापरबाही गर्नेलाई छाड्यौं भने अपराध बढ्छ भन्ने लागेरै मैले एउटा सन्देश दिन खोजेकी हुँ- कुनै वैरभाव वा व्यक्तिगत दुश्मनीले होइन ।’

राम्रै कुराकानी भयो– केही महिनापछि उनको पार्टीको केन्द्रीय अध्यक्ष तथा केही उच्च पदस्थ अधिकारीसहितको च्यारिटी कार्यक्रमको भव्य आयोजना भयो । त्यसपछि पनि हाम्रो सहकार्य र सम्बन्ध सहयोगपूर्ण नै रह्यो ।

केही समयपछि अदालतबाट पत्र आउन थाल्यो । दुई पटक काउण्टी कोर्टको चक्कर काटें । २ वर्ष ८ महिनापछि उनै डायनाबाट मेरो घरको ठेगानामा पत्र आयो । पत्रमा लेखिएको थियो, ‘तिम्रो सहयोगको लागि धन्यवाद । ऊ कानुनको दायरामा आयो र तिम्रो सहयोगले यो कानुनी लडाईंमा मलाई ठूलो सहयोग मिल्यो, हामीले यो मुद्दा जित्यौं ।’

म अचम्मित हुँदै पत्र पढिरहें । उनले लेखेकी थिइन्, ‘सर्वसाधारणप्रति गैरजिम्मेवार र लापरबाही गर्नेलाई छाड्यौं भने अपराध बढ्छ भन्ने लागेरै मैले एउटा सन्देश दिन खोजेकी हुँ- कुनै वैरभाव वा व्यक्तिगत दुश्मनीले होइन ।’

यो घटनाले मलाई करिब एक दशकअघि आफन्तको परिवारमा घटेको एउटा घटना मानसपटलमा आयो । छोरा-बुहारी भेट्न आउनुभएका ८० वर्षीय बुवा एक दिन एक्लै हिंडडुल गर्दैगर्दा बाटो बिराउनुभएछ । २-४ घण्टा सम्म पनि नफर्केपछि वरपर आफन्त खोजियो, छिमेकतिर भनिएछ ।

मसम्म पनि खबर आयो । हामीले ढिलो नगरिकनै प्रहरीकोमा खोजीका लागि सम्पर्क गर्‍यौं । फेरि मनमा कताबाट स्थानीय जनप्रतिनिधिलाई घटनाबारे बताउनुपर्छ भन्ने सोच आयो। लगत्तै मैले सोही क्षेत्रको सांसद ब्यारी गार्डनलाई घटना सविस्तार सुनाएँ ।

उनीबाट बुवाको नाम र सामान्य हुलिया सोधियो न कि देश, धर्म वा पार्टी । बरु आफ्नो निर्वाचन क्षेत्रको ठेगानामा बस्ने हो कि होइन भन्ने एउटा चासो चाहिं थियो किनकि त्यहाँ क्षेत्राधिकारको सवाल हुने गर्दो रहेछ । जुन क्षेत्र हो त्यहीं सहयोगका लागि समन्वय गर्ने भएर पनि होला ।

रात छिप्पिन थालेकोले सबै चिन्तित थियौं, बुबा पहिलो पटक एक्लै घरबाहिर निस्कनुभएको थियो त्यो पनि बिरानो देशमा । उहाँको कान कम सुन्ने समस्या समेत थियो । बेलुका ९ बजेतिर फोनको घण्टी बज्यो । उनै सांसद ब्यारीले हामीलाई सो क्षेत्रस्थित ९ वटा हस्पिटलको इमर्जेन्सीमा फोन गर्दा पनि बुबाको नाम र हुलिया मिल्दो कुनै बिरामी नपुगेको जानकारी गराए । यसको मतलब हुन्थ्यो कुनै दुर्घटना भएको छैन भनेर ।

प्रहरी वा स्थानीय तहले यस्तो घटनामा सबैभन्दा पहिले दुर्घटना हो कि होइन भन्ने निर्क्योल गर्दो रहेछ । त्यसैले पनि सबैभन्दा पहिले अस्पतालको इमर्जेन्सीबाट जानकारी लिने गरिंदो रहेछ । फोनमा हामीलाई सान्त्वना दिंदै सांसद ब्यारीले थपे, ‘मैले लण्डन प्रहरीसँग कुरा गरेको छु- के कसरी सहयोग गर्न सकिन्छ आधा–आधा घण्टामा जानकारी गराउँदै जानेछु ।’

केही समयपछि करिब २०० प्रहरी जवान र २ वटा हेलिकप्टरसहित रातैभर पूरै क्षेत्र (क्याचमेण्ट एरिया) भित्र खोजतलासमा राज्य जुट्यो । विदेशमा यतिसम्मको ढाडसको अर्थ ठूलो हुने रहेछ । प्रहरी र सिभिल ड्रेसमा रहेका ती अधिकारीहरूसँगै हामीले पनि खोजी कार्यमा रात काट्यौं ।

प्रत्येक आधा–आधा घण्टामा फोन गरिरहने सांसद ब्यारी भोलि बिहान ८ बजे नै वेष्टमिनिष्टरमा संसदीय समितिको बैठकमा सहभागी हुनुपर्ने भन्दै बाँकीको जिम्मेवारी आफ्ना सचिवलाई सुम्पँदै राति ११ बजे बिदा मागे । उनले यतिसम्म गरे कि भोलिपल्टको बैठक सकेर पनि हामीलाई सम्पर्क गरे । अझै बुबा नभेटिएकोमा दुःख व्यक्त गर्दै छिटै बुबा भेटिने आश्वासन पनि दिए ।

अर्को दिनको अपरान्ह ४ बजे सोचेभन्दा अलि टाढै बुबा सकुशल भेटिनुभयो । हामीले व्यारीलाई फोन गर्दै बुबा भेटिनुभएको जानकारी गरायौं र उनको सहयोगप्रति आभार व्यक्त गर्‍यौं । बुबा भेटिंदाको खुसी साट्न उनी एकाध घण्टाको समयमा घरै आए ।

त्यतिबेला मनमा लागेको वा भनौं आज सम्झँदा पनि मलाई लाग्छ वाह् यस्तो पो जनप्रतिनिधि त ?

उनै ब्यारी महाभूकम्पको तेस्रो दिनमा घरमा आएछन् – म सोही दिन बिहान नेपाल उडेको थिएँ । घरपरिवारलाई नेपालमा रहेका आफन्तजन सुरक्षित भए नभएको र क्षति लगायतमा चासो राख्दै नआत्तिन आग्रह गरेछन् ।

नेपालबाट फर्केपछि इमेलमा धन्यवाद व्यक्त गरें । उनकै अनुरोधमा कतै क्याफेमा भेटिएर कफीसँगै गफियौं । हामी नेपालीहरूकै अनुरोधमा उनी छाया अन्तर्राष्ट्रिय सहयोग मन्त्री पनि भएकोले महाभूकम्पपछि नेपाललाई बेलायतले दिनुपर्ने वैदेशिक सहयोगमा बढोत्तरीको लागि संसदमा आवाज समेत बुलन्द गरे ।

अहिले पनि वर्षको दुई-चार पटक उनी सम्बन्धित लेबर पार्टीले मेरो घर नजिकैको ४–५ ठाउँमा गार्डनिङ गर्छ, ब्यारी पानी भर्ने छहारी सहित ढोकामा आई घण्टी बजाउँछन् । खिस्स हाँस्दै ‘तिमी त नेपाली एशोसिएसनमा धेरै व्यस्त होलाऊ’ लगायतका सवाल गर्छन् । म पनि उनको सामु ‘व्यस्त छैन’ भन्दै ठिक्क पार्छु ।

उनले पानी लान्छन्, वडाका अन्य सदस्यहरूसँगै गार्डेनिङ गर्छन् । अहिले पनि म बस्ने संसदीय क्षेत्रको सांसद उनै छन् । केही पर्दा शासक हैन सेवकको रूपमा उनी परिचित छन् र सेवा पनि गर्छन् ।

यी माथिका प्रसंग र घटना सम्झँदै गर्दा मलाई एउटा उक्ति खुब याद आउँछ ।

गाउँमा एउटा स्कूल बन्दै थियो रे, कामदारहरू तल खोला किनारबाट ढुंगा र काठ ओसार्दै थिए रे । एकजना सन्तले बाटोमा कामदारलाई सोधेछन्- के गर्दैछौ ?

पहिलोले झर्केर भन्यो- देखेनौ ? यी ढुंगा बोक्दैछु, माथि लगेर थुपार्छु ।

त्यही प्रश्नमा दोस्रोले शान्त भावमा भन्यो- ‘के गर्नु हजुर, गरीब भएकोले मजदूरी गर्दैछु, स्कूल बन्दैछ भन्ने सुनेको हुँ ।

तेस्रोले उत्साहित हुँदै भन्यो- ‘म बालबालिका पढाउने विद्यालय बनाउनमा मद्दत गर्दैछु, मेरै पनि छोराछोरी पढ्ने स्कुल, परिश्रमको ठीक ढंगले सदुपयोग भइरहेको छ ।’

काम एउटै छ, ज्याला पनि समान नै छ तर उनीहरूको सोचमा कत्रो अन्तर छ ? ठीक यही अन्तर आज हाम्रा नेतागण र यताका जनप्रतिनिधिहरू बीच छ । विचार, सिद्धान्त र कर्तव्यमा सबै उस्तै देखिए पनि मनोभाव, सोच र मनोवृत्तिमा आकाश–पातालको अन्तर छ र यही नै आज निर्णायक कुरा भएको छ । हाम्रोमा चुनाव हुनु अघि मात्र नेता जनताको घरमा जाने, चुनाव पछि त शहर अझै राजधानी केन्द्रित, राप-ताप र शान अर्कै ।

जनतामा पुग्ने विरलै भेटिन्छन् । यसरी जन-जनको सुख–दुखमा साक्षात्कार विरलैले गर्लान् । म सोच्छु, कहिले हाम्रा शासकहरू डायना कड जसरी स्थानीय व्यापार व्यवसाय प्रवर्धन गर्न सामान्य जनताको दैलोमा पुग्लान् ? कहिले उद्दण्ड ड्राइभरलाई सबक सिकाउलान् ? अनि कहिले ब्यारीले झैं घटनाको गाम्भीर्यलाई बुझ्दै आफैं घण्टौंसम्म सेवामा जुट्लान् र जनताको दुखमा मल्हम लगाउलान् ? कहिले तिम्रो जहान-परिवार ठीक छ भनेर घरैमा ढाडस दिन आउलान्, अनि कहिले बुझ्लान् कि जनतालाई शासक बनेर शासन गर्ने होइन सेवक बनेर सेवा गर्नुपर्छ भनेर? कहिले मेरो देशले डायना जस्तो वडा सदस्य र ब्यारी जस्तो सांसद (जनप्रतिनिधि पाउला) खै ?

लेखकको बारेमा
रामशरण सिम्खडा

लन्डनमा बसोबास गरिरहेका सिम्खडा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय उप-महासचिव हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?