+
+

भागरथी भट्टको बलात्कारपछि हत्याका दोषीलाई साढे १२ वर्ष कैद

दोषी ठहर गर्दा डीएनएलाई पनि आधार मानियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १७:०१

९ फागुन, काठमाडौं । जिल्ला अदालत बैतडीले बलात्कारपछि हत्याको एउटा मुद्दामा डीएनए परीक्षणलाई समेत आधार मानेर आरोपितलाई दोषी ठहर गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या मुद्दामा जिल्ला अदालत बैतडीले डीएनए परीक्षणलाई आधार मानेर उनका सहपाठी दिनेश भट्टलाई दोषी ठहर गरेको हो ।

जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित भट्टले प्रहरी र अदालतमा गरेको साविती बयानका साथसाथै डीएनए परीक्षणलाई समेत आधार मानेर फैसला गरेका हुन् । जिल्ला अदालतले दिनेशलाई १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।

के थियो घटना ?

२१ माघ २०७७ मा भागरथी विद्यालय गएकी थिइन् । विद्यालयमा विदा भएपछि दिउँसो २ बजे उनी नजिकैको खोचलेक बजारमा पुगेको पुष्टि हुन्छ तर त्यसपछि सम्पर्कविहीन हुन्छिन् । उनको मोवाइल पनि स्वीच अफ हुन्छ । भोलिपल्ट नजिकैको जंगलमा सडकबाट करिव सय मिटर तल उनको शव भेटिएको थियो ।

टाउकोमा चोट, घाटी दबिएको, अनि खुट्टाको औलामा घाउ भएको र गुप्तांगमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो । शव नजिकै उनको मोवाइल फेला परेको थियो ।

घटनापछि पक्राउ परेका युवक दिनेश भट्टले आफूले भागरथीलाई धकेलेर लडाएको, त्यसपछि बाटो तल पु¥याएको र बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए ।

प्रहरीमा गरेको बयान नफेरि उनले अदालतमा पनि उस्तै प्रकृतिको बयान गरे । दुवै ठाउँमा गरेको बयानका आधारमा जिल्ला अदालत बैतडीले उनलाई कसुरदार ठहर गर्‍यो । त्यसक्रममा गरिएको डीएनए परीक्षणलाई समेत आधार मानेको छ ।

आरोपित भट्टले बयानका साथै भगरथीको स्वास्थ्य परीक्षण गर्दा समेत बलात्कार भएको भन्दै जिल्ला अदालतले डीएनए परीक्षणबाट समेत त्यसको पुष्टि भएको औंल्याएको हो । अनुसन्धानका क्रममा प्रहरीले मृतकको भजाइनल स्वाब निकालेर परीक्षण गरेको थियो ।

अनि उनको नङमा लागेको मासु समेत परीक्षण भएको थियो । अनि हत्याको आरोप लागेका दिनेशको पनि डीएनए परीक्षण गरिएको थियो । परीक्षण गर्दा मृतकको शरीरमा भेटिएको नमुना र दिनेशको डीएनए मेल खाएको थियो ।

गत मंसिर १९ गते भएको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘डीएनए परीक्षण प्रतिवेदनबाट किशोरले मृतकलाई जबर्जस्ती करणी गरेको हो भन्ने वैज्ञानिक परीक्षणबाट समेत पुष्टि भएको पाइयो ।’

जिल्ला अदालतले आरोपित भट्टमथि जबर्जस्ती करणी (बलात्कार) का साथसाथै हाडनाता करणी र ज्यान मारेको आरोपमा दोषी ठहर गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा ४१ मा जबर्जस्ती करणी गरी ज्यान मारेमा जन्मकैदको सजाय गर्दा आरोपित जीवित रहेसम्म सजाय गर्नुपर्छ भन्ने व्यवस्था छ ।

तर हत्याको आरोप लागेका दिनेश नाबालक रहेको ठहर गर्दै जिल्ला अदालतले २५ वर्षको आधा अर्थात १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?