+
+

भन्सार सहजीकरणका लागि विभागसँग नाडाको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १७:५०

९ फागुन, काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार सहजीकरणका लागि आवश्यक वातावरण बनाइदिन भन्सार विभागसँग अनुरोध गरेको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि टोलीले भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईसँगको भेटमा यस्तो अनुरोध गरेको हो । भट्टराईसँगको भेटमा टोलीले भन्सार मूल्यांकनमा देखिएका विभिन्न समस्याहरुबारे जानकारी गराउँदै भन्सारसम्बन्धी नीतिगत सुझाव समेत पेश गरेको छ ।

भेटमा नाडाका अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा भन्सार मूल्यांकन सन्दर्भ सूची नै खारेजगरी भन्सारमा माल वस्तुको यथार्थ घोषणा र सही वर्गीकरण गराई भन्सार मूल्यांकन पद्धतिलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गरी दिनु आग्रह गरे ।

भेटमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको वर्गीकरणमा केही परिमार्जन गरिनु पर्नेमा जाेड दिए । आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढिलाइ भइरहेको भन्दै उनले त्यसको समाधानका लागि अनुरोध समेत गरे ।

अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा परिरहेको समस्याबारे जानकारी गराउँदै एउटै वस्तुमा भिन्न-भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, ब्रेक लाइनिङ जस्ता अत्यावश्यकीय वस्तुमा पनि सतप्रतिशत नगद मार्जिन राखी एलसी खोल्नु पर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले समाधानका लागि पहल गरि दिन अनुरोध गरे ।

भेटमा महासचिव सुरेन्द्र उप्रेतिले २६ असार २०७३  मा भन्सार विभाग र नाडाबीच भएको सहमतिबारे अवगत गराएका थिए । विभागले अनलाइन पेमेन्टलाई मान्यता दिएसँगै नेपाल राष्ट्र बैंकको चेकलाई पनि मान्यता दिने व्यवस्था मिलाउन उनले आग्रह गरे । महासचिव उप्रेतिले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरु बढदै गएको क्रममा सबै किसिमका सवारी साधनहरुमा प्रयोग हुने ब्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न सबै प्रकारका कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।

नाडाको सुझाब सुनेपछि महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएका सहमतिमा केही विषय संशोधन गर्नु परेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने बताए । नाडाले दिएको आवश्यक सुझाबल कार्यान्वयनका लागि आवश्यक पहल गरिने आश्वासन भट्टराईले दिए ।

भेटमा नाडाका सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एसोसिएसन सचिव सुरेन्द्र प्रधान लगायतको उपस्थिति रहेको नाडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?