+
+

जब पासपोर्ट र टिकटविनै एक व्यक्ति विमान चढ्न पुगे…

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १३:४४
फाइल तस्वीर

११ फागुन, काठमाडौं । गत सोमबार (९ फागुन) राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल एयरलायन्सको विमानको ढोकामा एक व्यक्ति विना बोर्डिङपास उभिए । शंकास्पद व्यवहारसहित लगभग विमानभित्र पसिसकेको अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले उनलाई भेटे ।  तर, न उनले बोर्डिङपास देखाउन सके, न अन्य कागजपत्र ।

त्यसलगत्तै नेपाल एयरलाइन्सका कर्मचारीले सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीहरुलाई बोलाए । ती व्यक्ति ह्याङ्गरबाट निकाल्न लागिएको विमानसम्म कसरी पुगे भन्ने तथ्य प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेपछि मात्रै खुल्यो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल प्रशासन, सुरक्षा निकाय र विमानस्थलमा खटिएका अन्य निकायहरुलाई चक्मा दिने गरी विमानसम्म पुग्ने व्यक्ति रौतहटका असरफ आलम रहेको खुलेको छ ।

सोमबार राति पौने १० बजे आयल निगमको हवाई इन्धनको डिपो नजिकबाट विमानस्थलको फलामे तारबार (फेन्सिङ कम्पाउन्ड) नाघेर त्यहाँ पुगेको देखिएको ठाकुरले जानकारी दिए । विमानस्थलले सीसी टीभी फुटेजहरुमार्फत अनुसन्धान गर्दा उनी बार नाघेर विमानस्थलको पार्किङसम्म पुगेको देखिएको हो ।

तर, उनले बार नाघेको र विमानस्थलको पार्किङसम्म पुगेको सुरक्षाकर्मीले पनि पत्तो पाएनन् । उनी विमानस्थलको टर्मिनल भवन प्रयोग नगरी सोझै यात्रु ‘बोर्ड’ गरिरहेको विमानसम्म पुगेका थिए ।

अनुसन्धानमा उनी एक महिनाअघि पनि बार नाघिसकेको अवस्थामा समातिएको खुलेको छ । तर, उनको मानसिक अवस्था ठीक नभएको पाइएको भन्दै कारबाही नगरी छाडिएको थियो ।

तर, यसपटक आलममाथि विस्तृत अनुसन्धान हुने विमानस्थल प्रमुख ठाकुले बताए । उनका अनुसार आलमको गाउँमा नै पुगेर उनको पृष्ठभूमिबारे अनुसन्धान हुनेछ ।

‘एकपटक मानसिक सन्तुलन ठीक नभएको भनेर छाडिएको व्यक्तिले फेरि सोही हर्कत दोहोर्‍याउनु निकै गम्भीर विषय हो,’ उनले भने, ‘उनले कुनै खालको रेकी गर्न या अन्य कुनै स्वार्थसहित त्यसो गरिरहेका छन् कि भनेर अनुसन्धान हुन्छ ।’

आलम अहिले गौशाला प्रहरीको हिरासतमा छन् । उनी निकटका व्यक्तिहरुले भने आलमलाई विमान चढ्न निकै रहर भएकाले उनी त्यसका लागि पटक-पटक यस्ता हर्कत गरेको हुनसक्ने बताएका छन् ।

विमानस्थल प्रमुख ठाकुरका अनुसार यो निकै गम्भीर घटना भएको बताउँछन् । यसले मुख्य रुपमा विमानस्थलको सुरक्षामाथि प्रश्न उठ्ने उनको भनाइ छ ।

‘सुरक्षा निकायहरुले पनि यो घटनापछि निकै गम्भीरता देखाएका छन्, यदि कुनै विष्फोटक पदार्थ लिए कोही व्यक्ति यसरी विमानस्थल प्रवेश गर्‍यो भने त ठूलो जोखिम हुन्छ, उनले भने, ‘त्यसैले यो घटनापछि हामी विमानस्थलको सुरक्षालाई अझ मजबुत गर्ने पक्षमा थप गम्भीर भएर लाग्छौं ।’

ठाकुर विमानस्थलमा कार्यालय प्रमुखका रुपमा पहिलो हाजिर गरेकै दिन यस्तो घटना भएको भन्दै यस्ता घटनाबाट पाठ सिकेर विमानस्थल र सुरक्षा निकायले संवेदनशील ढंगबाट आवश्यक कदम चाल्ने बताए ।

आलमलाई पक्राउ गरेर अनुसन्धान थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकालले अनलाइनखबरलाई बताए ।

उनका अनुसार आलम विमानस्थलको बाहिरपट्टि रहेको तारबाट छिरेको हुनसक्छ ।  ‘सीधै प्रवेशमा त धेरै कडाइ छ, सम्भव नै हुँदैन’ उनले अनलाइनखबरसँग भने, ‘बाहिरबाट प्रवेश गरेको हुनसक्छ, विमानस्थलको आउटर पेरिमिटरको सुरक्षा जिम्मा सेनाको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?