
१२ फागुन, सुर्खेत । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर सुर्खेतले सेना दिवसको अवसरमा दौड प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगितालाई ‘पश्चिम कमाण्ड युनिटी रन–२०७८’ भनिएको छ ।
सेना दिवस तथा महाशिवरात्रिको अवसरमा फागुन १७ गते उक्त प्रतियोगिता गर्न लागिएको हेडक्वाटरका प्रमुख सेनानी संजीव भण्डारीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा पाँच किलोमिटर खुला महिला/पुरुषतर्फ प्रतिस्पर्धा हुनेछ । त्यस्तै १० र २१ किलोमिटर खुल्ला पुरुषतर्फको प्रतिस्पर्धा हुने प्रमुख सेनानी भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा सुर्खेतमा बस्दै आएका जुनसुकै नागरिकले पनि भाग लिन पाउनेछन् । झन्डै एक हजार जना प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ ।
प्रत्येक विधामा पहिलो र दोस्रो स्थान हासिल गर्नेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रमुख सेनानी भण्डारीले जानकारी दिए । ‘प्रतियोगितामा भाग लिन सेनाको सुपथ मूल्य पसलमा निःशुल्क रजिष्ट्रेसन फाराम भर्न सकिन्छ, विजेतालाई विशेष पुरुस्कारको व्यवस्था पनि गरिएको छ’ उनले भने ।
प्रतियोगितामा सहभागी हुनेले फागुन १५ गते अपरान्ह ४ बजेभित्र फाराम बुझाइसक्नुपर्ने छ ।
प्रतिक्रिया 4